
२००७ सालको जनक्रान्तिदेखि ४६ को प्रजातन्त्र पुनर्बहाली र ०६२–६३ को लोकतन्त्र स्थापनासम्म नेपालमा भएका सबै क्रान्ति, आन्दोलन र राजनीतिक परिवर्तनको नेतृत्व कांग्रेसकै अगुवाइमा भए । ०१७ सालमा राजा महेन्द्रको सक्रिय शासनको महत्वाकांक्षाले बिपीको दुईतिहाइ बहुमतको पहिलो जननिर्वाचित सरकार र संसद् विघटन भए । ०४६ मा प्रजातन्त्र पुनर्बहाली गराउन सफल जनआन्दोलन गणेशमान सिंहको नेतृत्वमा सम्पन्न भयो । ०४७ सालको प्रजातान्त्रिक संविधान घोषणा र त्यसअन्तर्गत स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन सन्तनेता किशुनजीको बुद्धिमत्तापूर्ण नेतृत्वको परिणाम थियो ।
राजनीति सर्वत्र त्यति सजिलो र सीधा खेल होइन । नेपाली राजनीति पनि राजनीतिक ओलम्पिक या विश्वकपभन्दा कम छैन । अन्तर खालि यत्ति हो, अन्त अर्काको पोस्टमा गोल गर्ने कोसिस हुन्छ, यहाँ आफ्नैमा । अन्यत्र म्याराथन दौडमा एकले अर्कोलाई झन्डा पास गर्दै अन्त्यमा टोलीले जित हासिल गर्छ । यहाँचाहिँ अरूलाई पास गर्नुभन्दा पनि पूरै आफू एक्लै दौडेर या आफ्नै टोलीको एकले अर्काको खुट्टा भाँचेर रिले दौड जित्न खोज्छन्, जुन सम्भव नै छैन । नेपालको भूराजनीति जटिल छ । तर, हाम्रो राष्ट्रियतामाथि खतरा कतैबाट छ भने त्यो बाहिरबाट भन्दा भित्रै राष्ट्रिय स्वघातबाटै बढी छ ।
सन् १९९० पछि नेपालले संयुक्त राष्ट्र संघमा हासिल गरेको सबैभन्दा महत्वपूर्ण निर्वाचित पद के थियो र पात्र को थियो ? नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र नीति र कूटनीति शास्त्रका विद्यार्थीले यी दुई प्रश्नको सही जवाफ खोजे नेपालीका पीडा अझै राम्रोसँग पुष्टि हुन सक्छ ।
परिवर्तन र प्रगति : यी र यस्तै जटिलता, दबाब र प्रभाव, समस्या र कमजोरीबीच लोकतान्त्रिक संक्रमणको अन्तिम कडी गणतन्त्रात्मक संविधान सुरुवात भयो । भलै यो सुरुवात अरू नै कसैले गरेका हुन्, घोषणा कांग्रेस सभापति सुशील कोइरालाले आफ्नै सरकारको नेतृत्वमा गरेका हुन् । त्यसैले, यो लोकतान्त्रिक गणतन्त्र रहेसम्म कांग्रेसलाई नेपालमा परिवर्तनको ‘ध्वजावाहक’ को संज्ञा दिन हिचकिचाउनुपर्दैन ।
समाजमा परिवर्तन भई नै रहन्छ । तर, सबै परिवर्तनले प्रगति नै ल्याउँछ भन्ने छैन । राजनीति परिवर्तन हुँदै जाने, नयाँ–नयाँ शासन पद्धति र शासकवर्ग देखा पर्दै जाने, तर जनताको पीडा र देशको संकट भने बढ्दै जाने विभिन्न समय र स्थानका कटु अनुभव विश्व इतिहासमा पाइन्छ । राजनीतिक परिवर्तनले हिंसात्मक रूप लियो या बाह्य शक्तिका खेलमा समाज फस्न पुग्यो भने त जनता पीडाको सीमा हुँदैन । हिजोका कम्बोडिया र रुवान्डा तथा आजका सोमालिया, इराक, सिरिया र अफगानिस्तान यसका उदाहरण हुन् ।
नेपालको अनुभव र कांग्रेसको भूमिका : २००७ मा बिपी, ०४६ मा गणेशमान–कृष्णप्रसाद र ०६२÷६३ मा गिरिजाप्रसादको नेतृत्वमा मूलतः कांग्रेसले परिवर्तनका निम्ति गरेको आह्वानमा जनताले साथ दिए । कांग्रेसको नेतृत्वमा देशमा धेरै किसिमका परिवर्तन भए । प्रत्येक परिवर्तनले केही न केही नयाँ आयाम स्थापित गरेका छन् । तर, परिवर्तनपछि शान्ति, स्थिरता र समृद्धिको जनचाहना भने अधुरै छ । त्यस मानेमा कांग्रेस राजनीतिक परिवर्तन ल्याउन सफल, तर प्राप्त परिवर्तनको सही व्यवस्थापनमा असफल राजनीतिक दल सावित हुँदै आएको यथार्थ सबैसामु छ ।
बिपीदेखि गिरिजाप्रसाद हुँदै सुशील कोइरालासम्मको कांग्रेस नेतृत्वको अनुभवलाई मिश्रित नै मान्नुपर्छ । त्यसैले त जनताको पीडासँगै बिपीदेखि गणेशमान, किशुनजी र गिरिजाबाबुसम्म कांग्रेसका सबैजसो हस्ती त्यत्रा त्याग र बलिदानका पीडा र प्राप्तिबीच अन्त्यमा न व्यक्तिगत रूपमा खुसी, न त पार्टीगत रूपमै सपना पूरा भएको सन्तोषसाथ बिदा हुन सके । आफ्नै पार्टी सभापति र प्रधानमन्त्रीको नेतृत्वमा घोषणा भएको संविधानका विविध पक्षमा आफ्नै उत्तराधिकारीले समेत प्रश्न उठाएको सुन्दा अहिले सुशीलदालाई कस्तो लाग्ला ? बाह्य जटिलता र देशभित्रैको उग्र वामदेखि दक्षिणपन्थी, राजादेखि गणतन्त्र, कट्टर हिन्दूदेखि धर्मनिरपेक्ष र एकात्मकदेखि संघीयतावादीसम्मको बृहत् राजनीतिक परिदृश्यको त कुरै छाडौँ, तेह्रौँ महाधिवेशनपछि कांग्रेसभित्रै देखिएका विविध विचारले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसको चुनौती प्रस्ट पार्छन् ।
आमूल र मौलिक किसिमका संक्रमणले सिर्जना गरेका जटिलताको प्रभावकारी व्यवस्थापनका निम्ति गहन अध्ययन र चिन्तनका आधारमा नेतृत्व शैली, संगठन व्यवस्थापन, राजनीतिक अंकगणित, हिसाबकिताब र तदनुरूपको नीतिगत र व्यावहारिक परिवर्तन गर्न सक्नुपर्छ । त्यो गतिशीलता प्रदर्शन गर्न नसक्दा देश र पार्टीकै इतिहासको सर्वाधिक महत्वपूर्ण घडीमा कसरी कांग्रेस आफैँले सिर्जना गरेको राजनीतिक बाढीमा बग्न पुग्यो, त्यसबारे लेखकले पहिल्यै लेखिसकेको छ । आफ्नै नेतृत्वमा निर्मित वर्तमान संविधानमा आवश्यक परिमार्जनसँगै प्राप्त परिवर्तनलाई संस्थागत गर्दै अघि बढ्ने या स्थापनादेखि नै सुरु भएको कहालीलाग्दो नेपाली राजनीतिक संक्रमणको शृंखलामा आजको नेतृत्वले देशलाई पुनः अर्को संक्रमणतर्फ धकल्ने ?
लोकतन्त्र जनताले आफैँले चुनेका प्रतिनिधिद्वारा सञ्चालित र गल्ती गर्दै सिक्दै अघि बढ्ने शासन व्यवस्था हो । कहिले एकातिर र कहिले अर्कातिरबाट विभिन्न बहानामा समस्या आयो कि पूरै व्यवस्था नै उल्ट्याइदिने हो भने नेतृत्वले सिक्ने कसरी र जनताले अनुभूत गर्ने प्रतिफल उपभोग गर्ने कहिले ? गल्ती गर्नु मानव कमजोरी हो । तिनै गल्ती बारम्बार दोहोर्याइरहनु महामूर्खता हो भन्ने बुझ्दै नबुझ्ने हो भने सुधार कसरी हुन्छ ? यी र यस्ता धेरै चिन्ता र चासोबीच परिवर्तनको ध्वजावाहकको के भूमिका हुने ? परिवर्तनको श्रेय लिने हो भने सही व्यवस्थापनको प्रमुख दायित्व पनि कांग्रेसले लिनुपर्दैन ? आजको कांग्रेससामु यी र यस्ता धेरै प्रश्न खडा छन्, जसले सम्पूर्ण मुलुकको भविष्य निर्धारण गर्नेछन् ।
इतिहासबाट पाठ नसिक्दा के हुन्छ ? ‘सेपिएन्स र २१औँ शताब्दीका २१ पाठ’ जस्ता वर्तमान विश्वका सर्वाधिक चर्चित किताबका लेखक आफ्नो अर्को किताब ‘होमो दिउ’ अर्थात् मानव ईश्वर नामक किताबमा इतिहासकार युवाल नोहा हरारी लेख्छन्– ‘दोहो¥याउन नभई त्यसबाट मुक्तिका लागि इतिहास पढिन्छ ।’ इतिहासको सबैभन्दा महत्वपूर्ण पाटो त्यसको पाठ हो । तर, इतिहास जित्नेले हार्नेबारे लेख्ने कथा हो भन्ने राजनेता बिपीलाई कुनै वेला अराष्ट्रिय तत्वसम्मको अपमान भोग्न बाध्य कांग्रेस र जेलनेलदेखि दमन, प्रतिबन्ध र टाउकाको मूल्यसम्म खेप्न बाध्य नेपालका वामपन्थी चिन्तक र नेतृत्वले भन्दा बढी कसले हेक्का राख्नुपर्ने हो ?
त्यतिवेला परिवर्तनको संवाहक मानिने माओवादी पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस र एमाले दुवै मिलाएभन्दा बढी स्थानमा जित्न सफल भयो । तर, ‘राजनीतिक चातुर्यबाट राज्यसत्ता र शक्ति हासिल गर्नु एउटा कुरा हो भने प्राप्त सत्ता र शक्तिको सही उपयोग गर्दै आफ्नै कार्यकर्ता र अझ आमजनतालाई दिएका वाचा पूरा गर्न सक्ने बुद्धि र क्षमता भिन्न कुरा हुन् है’ भन्ने आत्मचेतना र अरूले दिएको चेतावनीप्रति ध्यान नदिँदा के भो, सबैसामु छ । त्यस्तै ‘अज्ञान र अहंकार नेतृत्वका त्यस्ता कमजोरी हुन्, जसले जितलाई हारमा र सफलतालाई असफलतामा परिणत गरिदिन बेर लाग्दैन’ भन्ने न आत्मज्ञान, न अरूको अर्ती सुन्ने उदारताका कारण आफ्नै दुईतिहाइनजिकको सरकार र आफूलाई त्यहाँ पु¥याउने पार्टीको के हालत भएको छ, धेरै लामो इतिहास स्मरण गरिरहनुपर्ने आवश्यकता छैन ।
नयाँ अवतारका देउवासामु हिजोभन्दा चुनौतीका चाङ आज अग्ला छन् । प्रमाणित नेताबाट यो उमेरमा आएर प्रशंसित राजनेता बन्ने बाटोतिर देउवा आफैँ लाग्लान् या इतिहासको गर्तमा कतै बिलाउलान् ? भविष्यले नै बताउनेछ ।
मानवको व्यक्तिगत या संस्थागत विकास शून्यको स्थितिबाट नभई भूत, वर्तमान र भविष्यको नैरन्तर्यमा हुने गर्छ । विडम्बना, परिवर्तनसँगै व्यवस्थापन कमजोरीको इतिहासको सुरुवात पनि नेपालमा परिवर्तनको ‘ध्वजावाहक’ले नै गरेको हो । एकल प्रस्ट बहुमत प्राप्त कांग्रेस सरकार पार्टी व्यवस्थापन गर्न नसक्दा विघटन र मध्यावधि निर्वाचनमा जान बाध्य भयो । निर्वाचनमा जाँदा आफ्नै पार्टीका विद्रोही उमेदवारका कारण झिनो हारपछि नेपालमा माक्र्सवादी–लेनिनवादीको पहिलो सरकारको पीडा कांग्रेसले नभोगेको हो र ?
संयोगवश त्यही पीडा भोग्न बाध्य कांग्रेसको बुद्धिजिवी विभागका तत्कालीन प्रमुख चक्रप्रसाद बास्तोलाले ‘कांग्रेस आजको सन्दर्भ, भोलिको दिशा’ नामक धुलिखेलको एक स्थानमा ३ असार ०५२ का दिन केदारभक्त माथेमा, लोकराज बराल, जगदीश पोखरेल, महेश आचार्य, महादेव यादव, तिलक रावल र यस लेखकसहित १३ जनाको अनौपचारिक छलफलको आयोजना गर्नुभएको थियो । चर्चित साहित्यकार जगदीश घिमिरेले तयार पारी हस्ताक्षरसहित पठाएको टिपोट अहिले पढ्दा नेपालका हामी कथित बुद्धिजीवी र नेतृत्वको दौडको निरन्तरता कहाँसम्म चल्ने हो र त्यसले देशलाई कहाँ पु¥याउने हो, मनमा अनेक प्रश्न उठिरहन्छन् ।
एकातिर धेरै लामो र ठूलो बलिदानले परिवर्तन ल्याउन सफल नेतृत्वप्रति गौरव र आफूले भन्नु, बोल्नु र लेख्नुपर्ने जेजति हो गरेकै छु भन्ने सन्तोष, अर्कातर्फ जति भन्दा, बोल्दा र लेख्दा पनि व्यक्तिगत चेतनाको चीत्कारको सदैव अवहेलना, खालि ‘भिडको भाषा र दबाबको नीति’ मात्रै सुन्ने र बुझ्ने नेतृत्वका कारण परिवर्तन व्यवस्थापन गरी संक्रमणलाई सार्थक दिशा दिन नसकेर यो अन्त्यहीनजस्तो लाग्ने संक्रमणले देशलाई नै कहाँ पु¥याउने हो, चिन्ता लाग्छ ।
०४६ को परिवर्तनपछिको नेपालका सर्वशक्तिमान नेता, मेरा निम्ति गणतन्त्रका पिता गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेसभित्रको समस्याले गर्दा सिर्जित परिस्थितिका कारण नौ महिनापछि अदालती प्रक्रियाबाट पहिलोपटक शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछिको राजनीतिक माहोलबारे लेखेको ‘नयाँ आशा कि अन्तिम हुंकार’ लेखको स्मरण आउँछ । इतिहासका धेरै कठिनाइ पार गर्दै राजनीतिका कुशल खेलाडी अनुभवी समन्वयकारी नेता आज पाँचौँपटक देशको प्रधानमन्त्री बन्न सफल हुनुभएको छ । नयाँ अवतारका देउवासामु हिजोभन्दा चुनौतीका चाङ आज अग्ला छन् । कोरोना माहामारीबाट मुक्ति राज्यको तत्कालको प्रमुख लक्ष्य हो । यो खोप राजनीतिक प्राथमिकता सफल पार्न पर्याप्त समयानुकूल उपलब्धताका लागि सक्रिय खोप कूटनीति र त्यसको सही व्यवस्थापनका निम्ति खोप सुशासन अत्यावश्यक छ ।
तात्कालिक प्राथमिकताका अतिरिक्त मुलुकको दीर्घकालीन समस्या समाधानका लागि राज्यसत्ता र शक्तिबाट प्रत्यक्ष लाभान्वित खुम्चिँदो समूहबाहिर आमकार्यकर्ता र जनतामा व्याप्त निराशा, चिन्ता, आशंका र आक्रोशलाई चिर्दै व्यवस्थामा विश्वास, राज्यका प्रमुख अंगमाथि भरोसा र नेतृत्वबाट आशा सिर्जना गर्नु देउवाका प्रमुख चुनौती हुन् । त्यो तब मात्र सम्भव छ, जब प्रधानमन्त्री र उनका हालका सहयोगी तर वैचारिक–व्यक्तिगत दुवै हिसाबले प्रतिस्पर्धी नेतृत्व समूहले सत्ता–शक्तिको बाह्य आवरणमा नअल्झी त्यसको सार बुझ्छन् र संक्रमणकालीन राजनीतिको मूल धेय सत्ता लुछाचुँडीभन्दा नयाँ राजनीतिक संस्कार र संस्कृति निर्माणतर्फ ध्यान केद्रित गर्छन् ।
किनकि राज्य सत्ता–शक्ति प्राप्ति र त्यसको प्रयोग परम्परागत या आधुनिक पूर्वीय या पाश्चात्य राजनीतिक चिन्तन र कर्मको सर्वाधिक महत्वपूर्ण द्विविधा हो । नेपालमा मात्र होइन, संसारभरि राजनीति शास्त्र र राजनीतिक खेलमा सर्वत्र चर्चा हुने गर्छ– नेता धेरै भए, राजनेता भएनन् । त्यसो भए आमराजनीतिक कार्यकर्ता नेता हुन् र नेता राजनेता हुन के गर्नुपर्छ ? आमराजनीतिक कार्यकर्ता कुनै न कुनै दिन राज्यसत्ता–शक्तिमा पुगिएला भनेर राजनीतिमा लाग्छन् । तर, तीमध्ये थोरैमा मात्र सत्तामा पुग्न सक्ने, टिक्न सक्ने र बारम्बार फर्किन सक्ने खुबी हुन्छ । त्यस हिसाबले देउवा नेपाली राजनीतिका सर्वाधिक सिपालु खेलाडी नेता हुन् भन्नेमा शंका छैन ।
तर, प्राप्त सत्ता–शक्ति केका लागि ? त्यसको बुद्धिमत्तापूर्ण प्रयोग, आफूनिकट घेराबाहिर आमकार्यकर्ता र जनतासामु गरेको वाचा पूरा गर्न सक्नु र त्यसका लागि आवश्यक व्यक्तिगत खुबी र प्रतिबद्धता तथा क्षमतावान् समूह निर्माणको साहस नेताबाट राजनेता हुन अत्यावश्यक गुण हुन् । प्रमाणित नेताबाट यो उमेरमा आएर प्रशंसित राजनेता बन्ने बाटोतिर देउवा आफैँ लाग्लान् ? उनका आफ्ना भनाउँदा र पार्टीभित्र र बाहिरका सहयोगी तर प्रतिस्पर्धीले उनलाई त्यता लाग्न देलान् या रोक्लान् ?
देउवाको यो कार्यकाल नेपाली राजनीतिमा एक नयाँ युगतिर लाग्ने आन्तरिक र भूराजनीतिक कालो बादलभित्र चाँदीको घेरा बन्न सक्ला ? या अदालतको परमादेशबाट प्राप्त तालुमा आलु या त्योभन्दा गम्भीर नेपाली राजनीतिको तेस्रो छालपछि सुनामीअघिको कठिन अन्तराल ? १४औँ महाधिवेशनअघि र पछिको कांग्रेस मात्र होइन, समस्त नेपाली बुद्धि, विवेक, राजनीति, कूटनीतिसामु सर्वाधिक चुनौतीपूर्ण प्रश्न यिनै हुन् । तर, नेतृत्वको अध्ययनमा एउटा भनाइ छ– सर्वोच्च शिखर एक्लो हुन्छ । अब इतिहासमा कस्तो स्थान बनाउने भन्ने देउवा स्वयंमा भर पर्छ ।