मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
पेरिस
२०७८ श्रावण २८ बिहीबार ०८:०५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पिएसजीबाट च्याम्पियन्स  लिग जित्ने मेसीको सपना

Read Time : > 2 मिनेट
पेरिस
२०७८ श्रावण २८ बिहीबार ०८:०५:००

करिअरको पहिलो सिजनमा बार्सिलोनामा मैले जस्तो गरेको थिएँ, यसैगरी पिएसजीमा आबद्ध भएपछिको पहिलो सिजन पनि स्मरणीय बनाउन चाहन्छु : मेसी

अर्जेन्टिनी कप्तान लियोनल मेसी आधिकारिक रूपमा पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग आबद्ध भएका छन् । मेसी र पिएसजीबीच बुधबार दुई वर्षको सम्झौता भएको हो ।

मेसीले आफू आबद्ध नयाँ क्लबबाट युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि जित्ने सपना देखेको प्रतिक्रिया दिएका छन् । सम्झौतापत्रमा हस्ताक्षर पछि आयोजित पत्रकार सम्मेलनमा मेसी सबैभन्दा बढी च्याम्पियन्स लिगमै केन्द्रित देखिए । उनले भने, ‘मेरो सपना च्याम्पियन्स लिग ट्रफी उचाल्ने हो, त्यो पनि पिएसजीको जर्सीमा ।’ मेसीले पिएसजी युरोपकै नम्बर एक क्लब बन्न सक्ने पनि जनाएका छन् । ‘हामी (पिएसजी) युरोककै नम्बर एक क्लब बन्न सक्छाैँ र च्याम्पियन्स लिग उपाधि पनि उचाल्छौँ,’ मेसीले आफ्नो लक्ष्य सुनाए ।

बार्सिलोनामा २१ वर्ष रहँदा मेसीले चारपटक च्याम्पियन्स लिग जितेका थिए । सन् २०१५ मा उनले अन्तिमपटक च्याम्पियन्स लिग उपाधि चुमेका थिए । पिएसजी अहिलेसम्म च्याम्पियन्स लिगको फाइनलमा एकपटक मात्रै पुगेको छ । सन् २०२० को च्याम्पियन्स लिगको फाइनलमा पिएसजी बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो ।

पिएसजीसँगको अबद्धता जीवनको फरक अध्यायको सुरुवात 
पिएसजीसँग आबद्ध हुनुलाई मेसीले जीवनको फरक अध्यायको सुरुवात भनेका छन् । ‘यो जीवनकै नयाँ सुरुवात हो,’ मेसीले भने, ‘बार्सिलोना छोडेपछिको समय निकै कठिन रूपमा बित्यो, तर अब सबै कुरा बिर्सेर पिएसजीमा नयाँ अध्याय सुरुवात गर्छु ।’ पार्का डेस प्रिन्सेसमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरूले मेसीसँग बार्सिलोनासँगको सम्बन्ध र पिएसजीलाई कुन रूपमा लिएको भनेर सोधेका थिए । यसपटक मेसीले पनि सहजै रूपमा सबै प्रश्नको उत्तर दिए ।

यसअघि बार्सिलोना छाडेको घोषणा गर्ने क्रममा आयोजित पत्रकार सम्मेलनमा मेसी अधिकांश समयमा भावुक बनेका थिए । उनी कतिपटक त भक्कानिएका थिए । मेसीले बार्सिलोनासँग जोडिएका सबै स्मरण तत्काल भुलाउने प्रयास गर्ने पनि बताएका छन् । ‘एकैपटक सबै परिवर्तन गर्न गाह्रो छ, तर यो समयमा म पिएसजीमा छु,’ मेसीले भने, ‘अबका दिन खुसीसाथ बिताउने हो, छिटोभन्दा छिटो म पिएसजीको प्रशिक्षणमा आबद्ध हुनेछु ।’

जीवनको नयाँ पाटो सुरु गर्न पिएसजीका साथीहरूसँग घुलमेल हुने र समर्थकलाई खुसी तुल्याउने पहिलो प्रयास हुने उनले जनाए । ‘अब मैदानमा खेल्न जानु छ, यहाँ उपाधि जित्नु छ, जस्तो मैले आफ्नो करिअरकै पहिलो सिजनमा बार्सिलोनामा गरेको थिएँ, यसैगरी पिएसजीमा आबद्ध भएपछिको पहिलो सिजन पनि स्मरणीय बनाउन चाहन्छु,’ उनले भने, ‘म आउनुअघि नै पिएसजी उपाधि जित्न सक्ने क्लब हो, त्यसमा म एउटा इँटा मात्र थप्न चाहन्छु, धेरैभन्दा धेरै उपाधि दिलाएर पिएसजीका समर्थकलाई खुसी पार्नुपर्छ ।’ 

नयाँ क्लबमा आबद्ध भएपछि कुनै दिन बार्सिलोनासँग प्रतिस्पर्धा हुँदा कस्तो अनुभव हुनेछ ? भन्ने प्रश्नमा मेसीले बार्सिलोना अहिले पनि आफ्नो घर भएको र कुनै दिन बार्सिलोना र पिएसजीबीच प्रतिस्पर्धा भए, नौलो अनुभव हुने बताए । यद्यपि बार्सिलोनासँगको प्रतिस्पर्धामा केही फरक पाउने उनले जनाए । 

पिएसजीमा ३० नम्बरको जर्सी
बार्सिलोनमा मेसीले प्लेमकर भूमिका निर्वाह गर्दै १० नम्बरको जर्सी लगाएका थिए । बार्सिलोनले तत्काल मेसीको सम्मान गर्दै अन्य कुनै पनि खेलाडीलाई १० नम्बरको जर्सी प्रदान नगर्ने घोषणा गरेको छ । पिएसजीमा आबद्ध भएपछि मेसीले कति नम्बर जर्सी पाउने भन्ने थियो । यसअघि नै १० नम्बर जर्सी पाएका ब्राजिलियन खेलाडी नेमारले मेसीका लागि आफूले प्रयोग गरेको जर्सी परिवर्तन गर्ने बताएका थिए । तर, मिल्ने साथी नेमारले प्रयोग गरेको १० नम्बर जर्सी नलगाउने मेसीले घोषणा गरे । 

बुधबार नै सबै प्रक्रिया पूरा भएपछि पिएसजीले मेसीलाई ३० नम्बर अंकित जर्सी प्रदान गरेको छ । मेसी स्वयंले ३० नम्बरको जर्सी रोजेको एजेन्सीहरूले जनाएका छन् । बार्सिलोनाको सुरुवाती दिनमा मेसीले यही ३० नम्बरकै जर्सी पाएका थिए । 

मेसीअंकित जर्सी आधा घन्टामै सोल्ड आउट
मेसी विश्व फुटबलमा कति चर्चित छन् भन्ने उनले पाएको ३० नम्बरको नयाँ जर्सीको बिक्रीले पनि प्रमाणित गरेको छ । पिएसजीले आधिकारिक रूपमा मेसीलाई बुधबार नीलो रंगको ३० नम्बरको जर्सी प्रदान गरेको थियो । यसपछि तत्कालै मेसी लेखिएको ३० नम्बरको जर्सी बिक्रीमा भएको पिएसजीले घोषणा ग¥यो । नम्बर घोषणाको ३० मिनेटभित्रै जर्सी सोल्ड आउट भएको पिएसजीले जनाएको छ ।

मेसीले पिएसजीसँग दुई वर्षका लागि ३५ मिलियन पाउन्डमा सम्झौता गरेका हुन् । पिएसजीको इतिहासमा कुनै पनि एक खेलाडीको नाममा रहेको जर्सी आधा घन्टाभित्र पूर्ण बिक्री भएको पहिलोपटक रहेको एजेन्सीहरूले जनाएका छन् । मेसीले सेतो जर्सी घरेलु तथा नीलो घरबाहिर प्रयोग गर्नेछन् । 

पिएसजीमा एमएमएन 
मेसीको आगमनसँगै पिएसजीमा अब एमएमएन युग सुरुवात भएको बताइएको छ । मेसी, नेमार र केलियन एम्मबापेका नाम जोडेर एमएमएन भनिएको हो । फुटबल जगत्मा उत्कृष्ट खेलाडीका नाम जोडेर ट्याग राखिने प्रचलन छ । जस्तो रियल म्याड्रिडमा कुनै समय क्रिस्टियानो रोनाल्डो, गेराथ वेल र करिम वेन्जिमलाई बिबिसी भनिन्थ्यो ।

यसैगरी बार्सिलोनामा मेसी, नेमार र लुइस सुआरेजको जोडीलाई एमएसएन भनिन्थ्यो । अब विश्व फुटबलमा एमएमएनले आक्रामक खेल प्रस्तुत गर्नेछन् । रमाइलो पक्ष के छ भने स्पेनिस लिगमा बिबिसी र एमएसएन जोडी निकै फापेको थियो । एकै अवधिमा स्पेनिस लिगमा बिबिसी र एमएसएनबीच कडा प्रतिस्पर्धा भएको थियो । अब पिएसजीको एमएमएनले कस्तो खेल प्रस्तुत गर्छ भन्ने हेर्न बाँकी छ ।