मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७८ श्रावण २३ शनिबार ०९:३४:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बार्सिलोनामा  मेसीको युग समाप्त

Read Time : > 3 मिनेट
२०७८ श्रावण २३ शनिबार ०९:३४:००

फुटबल प्रेमी अक्सर भन्थे, ‘मेसी र बार्सिलोनाबीचको सम्बन्ध नङ र मासुबराबर हो, शरीरको यी दुई अंक कहिले पनि छुट्न सक्दैन ।’ बार्सिलोनाका फुटबल प्रेमी मेसीलाई कुन नजरमा हेर्छन् भन्ने प्रस्ट छ । अहिले नङ र मासु भनिने पक्ष नै टुक्रा हुने अवस्थामा पुगेको छ । अर्थात् मेसीले बार्सिलोना छाडेका छन् । क्याटलान समर्थकहरूले अब कहिले पनि मेसीलाई बार्सिलोनाको जर्सीमा नाउ क्याम्प रंगशालामा देख्न पाउने छैनन् । बिहीबार राति मेसीले आफू बार्सिलोनामा नरहने घोषणा गरेका थिए । मेसीको घोषणा सबैलाई स्तब्ध पार्ने किसिमकै थियो । 

धेरैलाई यति विश्वास थियो कि बार्सिलोनाले मेसीलाई क्लबमै राख्ने अन्तिम प्रयास गर्नेछ । मेसीलाई फकाउँदै केही सिजन बार्सिलोनाको जर्सीमा उतार्ने योजना क्लबले बनाएको अनुमान समर्थकले गरेका थिए । बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले मेसीलाई आफूहरूले राख्न नसकेको स्वीकार गरेका छन् । बार्सिलोनाबाट मेसी बाहिरिएको अध्यक्ष लापोर्टाले जानकारी दिएका छन् । अध्यक्षको यो घोषणासँगै मेसी बार्सिलोनाबाट आधिकारिक रूपमै बाहिरिएका छन् । बार्सिलोनामा मेसीको एक युग समाप्त भएको छ । अब मेसी र बार्सिलोनाबीच केवल केही प्राविधिक पक्ष मात्र बाँकी छ । 

यसबाहेक बार्सिलोना र मेसीबीचको सम्बन्ध सधैँका लागि टुटेको छ । बार्सिलोनाका अध्यक्ष लापोर्टाले अघिल्लो कार्यसमितिको केही गल्तीका कारण नै मेसीलाई क्लबमा राख्न नसकेको आरोप लगाएका छन् । ‘हामीले सकभर मेसीलाई क्लबमै राख्ने अन्तिम प्रयास गरेका थियौँ, तर हामीभन्दा अघिल्लो कार्यसमिति सदस्यहरूका निर्णय तथा गल्तीले आज मेसी बार्सिलोनाबाट बाहिरिसकेका छन्,’ लापोर्टाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भनेका छन् । 

डेढ घन्टा लामो पत्रकार अध्यक्ष लापोर्टाले मेसीका माग तत्काल क्लबले पूरा गर्न नसक्ने अवस्थामा रहेको जनाएका छन् । कोभिड–१९ र अन्य विविध पक्षले बार्सिलोना चरम आर्थिक अभावमा रहेको उनले बताएका छन् । वर्तमान समयमा बार्सिलोना चार अर्ब डलर घाटामा छ । गत महिना मेसी र बार्सिलोनाबीचको सम्झौता समाप्त भएको थियो । त्यसवेला दक्षिण अमेरिकामा कोपा अमेरिका चलिरहेको थियो । 

१७ वर्ष बार्सिलोनामा रहँदा मेसीले कीर्तिमानी रूपमा ३४ उपाधि जितेका छन् । यसक्रममा उनले बार्सिलोनालाई १० पटक स्पेनिस ला लिगा तथा युरोपियन च्याम्पियन्स लिगको उपाधि दिलाए ।

कोपा अमेरिका फुटबल प्रतियोगिता समाप्तिपछि बार्सिलोनाले मेसीसँग वार्ता गर्ने भनिएको थियो । यसबीच मेसीले आफ्नो कप्तानीमा पहिलोपटक अर्जेन्टिनालाई कोपा अमेरिका कप उपाधि दिलाउन सफल भए । यो एक महिनाभित्र बार्सिलोनाले मेसीसँग वार्ता गर्न कोसिस पनि नगरेको होइन । मेसीले क्लबबाट चित्त बुझ्दो जवाफ नपाउँदा डेढ दशकको सहकार्य समाप्त भएको घोषणा गरे । 

आर्थिक अवस्था कमजोर भएका कारण नै बार्सिलोनाले मेसीलाई भनेको पारिश्रमिक दिन तयार छैन । ‘यदि सम्झौता भए पनि मेसीलाई बार्सिलोनाले भनेको जति पारिश्रमिक दिन सक्दैन,’ बार्सिलोनाका अध्यक्ष लापोर्टाले भने, ‘अब यसको असर ५० वर्षसम्म रहनेछ ।’ बार्सिलोनाको एक सय २२ वर्ष इतिहासमा मेसीजतिको उत्कृष्ट खेलाडी तथा म्याच विनर अहिलेसम्म नपाएको दाबी लापोर्टाले गरेका छन् । ‘सय वर्षमाथि इतिहास भएको बार्सिलोनामा मेसीजति महान् खेलाडी अन्य छैनन्, हामीलाई यो डेढ दशकमा मेसीले सबै सफलता दिलाएका छन् ।’

सो पत्रकार सम्मेलनमा निकै भावुक बनेका लापोर्टाले पूर्वअध्यक्ष जोसेप मारियाकै कारण बार्सिलोनाले मेसी गुमाउनुपरेको आरोप लगाएका छन् । ‘यी सबै घटनाका मुख्य दोषी नै पूर्वअध्यक्ष मारिया नै हुन्, यदि उनले आफ्नो समयमा सही निर्णय तथा आर्थिक अवस्था राम्रो पारेको भए, आजको दिनमा मेसी बार्सिलोनामै हुने थिए,’ उनले भने, ‘एउटा पूर्ण निर्णय लिन नसक्दा नै विश्वकै महान् खेलाडी बार्सिलोनामा अब छैनन् ।’ 

यद्यपि मेसीले यसअघि पनि बार्सिलोना छाड्ने घोषणा गरेका थिए ।  मेसीले गत वर्ष पनि आफू अन्य क्लबमा जान चाहेकाले बार्सिलोनालाई बाटो खुला पार्न आग्रह गरेका थिए । तर, बार्सिलोनाले मेसीको ‘रिलिज कज’ यति धेरै राख्यो कि त्यो कुनै पनि विश्वका क्लबले तिर्न सक्ने अवस्था थिएन । जसका कारण मेसी नचाहँदानचाहँदै बार्सिलोनामै बस्न बाध्य भए । 

गत महिना बार्सिलोनाले सम्झौता नगर्दा मेसीले आफूलाई फ्री एजेन्टका रूपमा जानकारी दिए । बार्सिलोनासँग मेसीसँगको सम्बन्ध नरहँदा उनी कुनै पनि क्लबमा जान सक्छन् । तर, मेसीलाई भित्र्याउन कुनै पनि क्लबले ठूलै धनराशी खर्चनुपर्छ । 

बार्सिलोनामा मेसी युगको समाप्त
अर्जेन्टिनाबाट मेसी सन् २००० मा १३ वर्षको उमेरमै बार्सिलोनाको एकेडेमीबाट प्रशिक्षण लिए । प्रशिक्षणमा मेसीले आफ्नो जादूमयी खेल प्रस्तुत गरेपछि २००४ मै मेसी बार्सिलोनाको सिनियर टोलीमा पर्न सफल भए । सन् २००४ देखि २०२१ सम्मको १७ वर्षको यात्रामा मेसीले बार्सिलोनालाई सबै किसिमका उपाधि दिलाउन सफल भएका छन् । 

उनले यो डेढ दशक यात्रामा बार्सिलोनामा ३४ उपाधि दिलाएका छन् । बार्सिलोनाका लागि मेसीले व्यक्तिगत सर्वाधिक गोल गरेका छन् । मेसीले विशेषतः बार्सिलोनालाई स्पेनिस ला लिगा दशपटक जिताएका छन् । युरोपियन फुटबलकै प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग मेसीले बार्सिलोनाकै जर्सीमा चारपटक उचालेका छन् । उनले बार्सिलोनालाई सातपटक कोपा डेल रे र सातैपटक स्पेनिस सुपर कोपा ट्रफी दिलाए । 

यसैगरी बार्सिलोनाले मेसीकै युगमा समान तीनपटक स्पेनिस सुपर कप तथा युइएफए सुपर कप जितेको छ । योभन्दा पनि ठूलो उपाधिका रूपमा मेसीले फिफाले प्रत्येक वर्ष प्रदान गर्ने बालोन डिअर उपाधि कीर्तिमानी रूपमा ६ पटक हात पारेका छन् । अहिलेसम्म सर्वाधिक ६ पटक बालोन डिअर ट्रफी हात पार्ने मेसी मात्र एक्लो खेलाडी हु्न् । 

बार्सिलोनाले कोभिड–१९ को समयमा चार अर्ब डलर घाटा सहनुपरेका कारण नै लियोनल मेसीलाई पुनः अनुबन्ध गर्न नसकेको क्लबका अध्यक्ष लापोर्टाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 
 

पोर्चुगल तथा युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोले यो उपाधि पाँचपटक जितेका छन् । बार्सिलोनाबाट १७ सिजनमा मेसीले सात सय ७८ खेल खेल्दा ६ सय ७२ गोल गरेका छन् । मेसी स्पेनिस ला लिगाको सर्वाधिक गोलकर्ता हुन् । उनले ला लिगामा चार सय ७४ गोल गर्न सफल भएका छन् । उनले बार्सिलोनाबाट स४८ ह्याट्रिक लगाएका छन् । स्पेनिस ला लिगामा मेसी ११ पटक उत्कृष्ट खेलाडी बनेका छन् । बिहीबारको घोषणासँगै बार्सिलोनामा मेसीको एक युग समाप्त भएको मानिएको छ । 

एकै सिजनमा ९२ गोल
हुन त मेसी बार्सिलोनाकै गोल मेसिन हुन् । तर, सन् २०१२ को सिजनमा मेसीलाई गोल गर्नबाट रोक्न कोही तयार भएनन् । यस सिजनमा उनले फुटबल इतिहासमै एक सिजनमा बार्सिलोनाबाट कीर्तिमानी रूपमा ९२ गोल गरेका थिए । गिनिज बुक अफ रेकर्डमा मेसीको यो सफलता दर्ता भएको छ । यस वर्ष मेसी फिफा वर्ष खेलाडी पनि भए । यसै सिजनका च्याम्पियन्स लिगमा मेसीले भ्यालेन्सियाविरुद्ध चार तथा बायर्न म्युनिखविरुद्ध पाँच गोल गरेका थिए । 

मेसीले आफ्नो करिअरमा सन् २००९/१० को सिजनमा पहिलोपटक बालोन डिअर उपाधि हात पारेका थिए । सन् २००८–०९ तथा २०१४/१५ को सिजनमा मेसीले बार्सिलोनालाई तेहेरो उपाधि दिलाएका थिए । 

पिएसजी र सिटी मेसी भित्र्याउन तयार 
अब मेसी कता जान्छन् ? वर्तमान समयमा मेसीलाई अनुबन्ध गर्न सक्ने दुई क्लब मात्र अगाडि आएका छन् । इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) नै मेसीलाई भित्र्याउन आतुर छन् । पिएसजीले मेसीलाई अनुबन्ध गर्न आन्तरिक तयारी गरेको छ । यस सम्बन्धमा दुई पक्षबीच वार्तालाप भएको एजेन्सीहरूले जनाएका छन् । मेसी पिएसजीमा अनुबन्ध भए स्टार खेलाडी नेमारले १० नम्बरको जर्सी छाड्ने घोषणा गरेका छन् ।