१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:५७:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार

प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रममा बेथिति : उपभोक्ता समितिको नाममा अर्कै खाता खोलेर साढे ४८ लाख झिकियो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:५७:oo

सिरहामा स्यालो ट्युबवेल र चापाकल वितरणसम्बन्धी कार्यक्रममा प्रदेशमन्त्रीका प्रतिनिधिले बदमासी गरेको पाइएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवको प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्तगत सञ्चालन गरिएको योजनाको भुक्तानीमा पूर्वाधार विकास कार्यालयले लापरबाही गरेको हो । कर्मचारीको मिलेमतोमा आर्थिक अनियमितता गर्ने उद्देश्यले मन्त्री यादवका प्रतिनिधि कैलाश साहले दोहोरो खाता सञ्चालन गरेको पाइएको छ । उपभोक्ता समितिका पहिलेका अध्यक्षले हस्ताक्षर गरी खाली चेक (ब्ल्यांक चेक) नदिँदा नयाँ खाता खोलेर रकम झिकिएको हो ।

प्रदेश सभा निर्वाचन क्षेत्र विकासअन्तर्गत सिरहा २ मा चापाकल वितरण गर्न ५० लाख बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालय सिरहाले कार्यक्रम सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्न आर्थिक मामिलामन्त्री यादवका प्रतिनिधि कैलाश साहलाई जानकारी गराएको थियो । त्यसअनुसार गत २७ चैतमा मन्त्री यादवका प्रतिनिधि साहको अध्यक्षतामा बैठक बसी उमेशप्रसाद यादव नेतृत्वमा सात सदस्यीय उपभोक्ता समिति चयन गरिएको थियो । समितिको सचिवमा पूरणकुमार साह, कोषाध्यक्ष सावित्रीकुमारी यादव, सदस्यमा नथुनी मिया, घुरण यादव, रामभरोस साह र कुमारी सदा थिए ।

पूर्वाधार विकास कार्यालय सिरहाका सिडिई राजेशलाल कर्णले १३ वैशाखमा खाता सञ्चालन गर्न राष्ट्रिय वाणिज्य बैंक सिरहा शाखालाई सिफारिसपत्र लेखे । पत्रमा उपभोक्ता समितिका अध्यक्ष यादव, कोषाध्यक्ष यादव र सचिव साहको नामबाट संयुक्त रूपमा खाता सञ्चालन हुने उल्लेख छ । समितिले १३ वैशाखमा राष्ट्रिय वाणिज्य बैंकमा २१३०१००१०१९८१००१ नम्बरको चल्ती खाता खोलेको थियो । तर, पूर्वाधार विकास कार्यालयका इन्जिनियर रामसेवक यादवले अर्को खाता खोल्न सिफारिस गरे । 

रकम निकाल्न योजनाको नाम फेरियो, उपभोक्ता समितिको पदाधिकारी हटाइयो
रकम निकासा गर्न योजनाको नाम नै परिवर्तन गरेको देखिएको छ । पूर्वाधार विकास कार्यालयले राष्ट्रिय वाणिज्य बैंक शाखा सिरहालाई खाता खोल्न पठाएको सिफारिसमा ‘सिरहा निर्वाचन क्षेत्र नं. २(क) भरी स्यालोट्युबेल र चापाकल खरिद तथा जडान कार्यका लागि उपभोक्ता समिति’ भन्ने उल्लेख गरेको छ । तर, रकम निकासा गर्न कोष तथा लेखा नियन्त्रण कार्यालयमा ‘नि क्षेत्र २ (क) भरी ट्युबेल जडान’ उल्लेख गरी भुक्तानी माग गरेको देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाले उपभोक्ता समितिलाई विद्युतीय भुक्तानी माध्यमबाट नेपाल क्रेडिट एन्ड कर्मस बैंकको खाता नम्बर ०१८०००००७१४०१ म ४८ लाख ६६ हजार रुपैयाँ २७ असारमा पठाएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवका ‘प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रम’ प्रतिनिधि कैलाश साहले आफूले पनि लगानी गरेको दाबी गरे । ‘मैले पनि लगानीमा सपोर्ट गरेको छु,’ उनले भने, ‘योजना रेखदेख गर्ने भूमिका निर्वाह गरेको छु, तर ब्ल्यांक चेक मैले किन माग्नू ?’

उपभोक्ता समितिका अध्यक्ष यादवको नाममा खाता हुँदा भोलि रकम निकाल्न आनाकानी हुन्छ भनेरै अर्को खाता सञ्चालन गरेको साहको भनाइ छ । समितिका बहुमत सदस्यले मिलेर अर्को अध्यक्ष, सचिव र कोषाध्यक्ष चयन गरेको साहले दाबी गरे । नयाँ समितिको अध्यक्षमा यसअघि कोषाध्यक्ष रहेकी सावित्रीकुमारी यादव, कोषाध्यक्षमा रामभरोस साह र सचिवमा पूरणकुमार साहलाई चयन गरिएको बताए ।

पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामसेवक यादवले असारमा बढी भिडभाडको वेलामा खाता सञ्चालन गर्न आफूकहाँ धेरै सिफारिस आएकाले दस्तखत गरिदिएको बताएका छन् । एउटा खाता हुँदाहुँदै अर्को खाता खोल्न कसरी सिफारिस गरेको भन्ने नयाँ पत्रिकाको प्रश्नमा इन्जिनियर यादवले कागजात हेर्न नपाएकाले सिफारिस भएको हुन सक्ने बताए । पूर्वाधार विकास कार्यालय सिरहाका सिनियर इन्जिनियर (सिडिई) राजेशलाल कर्णले एउटै योजनाको दुईवटा खाता सञ्चालनमा आउनु गलत भएको बताए । 

उपभोक्ता समितिका अध्यक्ष यादवले रकम निकाल्न मन्त्री यादवका प्रतिनिधिले ब्ल्यांक चेक माग गरेको बताए । खाली चेकमा दस्तखत गरिदिन भनेपछि आफूले इन्कार गरेको भन्दै उनले पछि पूर्वाधार कार्यालयबाट रकम निकासा भएको जानकारी पाएको बताए । कति रकम आएको छ त्यो चेकमा लेखेर दिन भनेपछि मन्त्रीका प्रतिनिधिले खाली चेकमा दस्तखत गर्न अडान लिए पनि आफूले नगर्ने भनेको उनले बताए । आफूलगायत सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट सञ्चालनमा रहने गरी राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खाता नम्बरमा रकम निकासा नगरी अर्को खाताबाट पूर्वाधार विकास कार्यालयले भुक्तानी गरेको विषयमा अनुसन्धान गर्न यादवले माग गरे । 

यादवले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन दिएका छन् । उपभोक्ता समितिको अध्यक्ष आफू भएको र राष्ट्रिय वाणिज्य बैंकमा खोल्न लगाएको खातामा रकम नपठाएर अर्को खातामा रकम पठाएको विषयमा छानबिन गरी कारबाही गर्न माग गरेको उनले बताए । जिल्ला प्रशासन कार्यालय सिरहाले यससम्बन्धमा छानबिन गर्न निर्देशन दिएको छ । 

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले एउटै योजनामा दुईवटा खाता खोल्नु शंकास्पद भएकाले छानबिन गर्न निर्देशन दिएको बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका निमित्त प्रमुख यम गिरीले पूर्वाधार कार्यालयले गल्ती गरेको बताए । ‘सिडिईले गल्ती भएको स्वीकार गरेका छन् । दुई तीन दिनमा मिलाउँछु भन्ने वाचा गरेका छन्,’ उनले भने । 

ad
ad