१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मैतीदेवीस्थित देवकोटाको घर भत्काइँदै । त्यहाँ प्रज्ञा प्रतिष्ठानले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ बनाउने ।
शिवहरि घिमिरे काठमाडौं
२०७८ श्रावण २२ शुक्रबार ०९:१०:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ पुस्ताले देख्न पाउने छैनन् महाकवि देवकोटाको घर

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे काठमाडौं
२०७८ श्रावण २२ शुक्रबार ०९:१०:००

संग्रहालय बनाउने भन्दै जीर्णोद्धार गर्न सकिने करिब ८० वर्ष पुरानो ‘कविकुञ्ज’ भत्काइयो, संस्कृतिविद्हरू असन्तुष्ट

महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घर भत्काउन थालिएको छ । करिब ८० वर्ष पुरानो ‘कविकुञ्ज’ भत्काएसँगै आगामी पुस्ताले महाकवि देवकोटाको घर कस्तो थियो भनेर देख्न पाउने छैनन् । घर भत्काएसँगै त्यसभित्र उनले पढ्ने–लेख्ने र आराम गर्ने शान्त कक्षहरू भत्किएका छन् । 

जगमान गुरुङ, उपकुलपति नेपाल प्रज्ञा प्रतिष्ठान

हामीले महाकविको सम्मानकै लागि नयाँ घर बनाउन लागेको हो, तर अरू जग्गा भेटिएन, उहाँको जेठा छोरा पद्म देवकोटाले म जन्मिएको घर भत्काउँदा दुःख लागेको बताउँदै आउनुभएको रहेछ । सरकारबाट पैसा लिएपछि यसो भन्नु राम्रो होइन, कि त पैसै नलिएको भए हुन्थ्यो ।
 

देवकोटा कस्तो ठाउँमा बस्थे भन्ने इतिहास उनको घर भत्काएसँगै मेटिएको छ । पुरानो घर भत्काएर उनको नाममा बनाउन लागिएको नयाँ संग्रहालय पुरानो घरजस्तै जीवन्त हुनेछैन । त्यसमा देवकोटाका पुस्तक र उनले प्रयोग गरेका वस्तुहरू मात्रै राखिनेछ । उनी बसेको घर भत्काउँदा संस्कृति र साहित्य क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गरेका छन् । 

देशकै चिनारीका रूपमा रहेका महान् स्रष्टाको घर भत्काउनु जायज नभएको पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव तथा संस्कृतिविद् गोविन्द टण्डनले बताए । देवकोटाको घर भत्काउँदा उनको इतिहास नै भत्किएसरह भएको औँल्याए । ‘उहाँ कस्तो घरमा बस्नुहुन्थ्यो र कसरी लेखपढ गर्नुहुन्थ्यो भन्ने जिज्ञासा धेरैको हुन्छ, तर अब त्यस्तो जिज्ञासा राख्नेहरूले देवकोटाको घर नै देख्न पाउने छैनन्,’ टण्डनले भने, ‘घरै भत्काएपछि उहाँको जीवनसँग सम्बन्धित अवशेष पनि बाँकी रहेनन् ।’ उनले देवकोटाको नाममा अन्त कतै स्मृति भवन बनाएर त्यसलाई जीर्णोद्धार गरेको भए उत्तम हुने बताए । तर, पुरानो घरलाई जोगाउन नसक्नु दुभाग्यपूर्ण रहेका उनको निष्कर्ष छ । 

संस्कृतिविद् हरिराम जोशीले महाकविको घरलाई संरक्षण गर्नुको साटो भत्काउनु निकै गम्भीर रहेको बताए । ‘वास्तवमा महाकविलाई यो देशले जीवित छँदै चिन्न सकेन, त्यतिवेलाको सरकारले महाकविको उपाधि दिन निकै कञ्जुस्याइँ गरेको थियो, अहिले फेरि घर भत्क्याइएछ, यो निकै दुःखद कुरा हो,’ उनले भने । महाकविको घर जस्ताको तस्तै राखेर अरू कुनै जग्गा खोजेर स्मृति भवन बनाइदिएको भए सबैभन्दा राम्रो हुने उनले बताए । तर, देवकोटाले खाने, बस्ने, सुत्ने र दैनिक क्रियाकलाप गर्ने ठाउँ भत्काउनु उनकै सिर्जना भत्काएसरह हुने संस्कृतिविद् जोशीको भनाइ छ । 

महाकवि देवकोटाका छोरा प्रा.डा. पद्म देवकोटाले आफू जन्मेको हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौँ तरंग उत्पन्न भएको बताएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘आफू जन्मेको हुर्केको घर भत्काएको देख्दा मनमा अनेकौँ तरंग उत्पन्न हुँदा रहेछन् । दुख्दो पनि रहेछ । कोठाकोठाको याद बौरिएर आएका छन् यसपालि ।’ 

गोविन्द टण्डन, संस्कृतिविद् 

देवकोटा कस्तो घरमा बस्नुहुन्थ्यो र कसरी लेखपढ गर्नुहुन्थ्यो भन्ने जिज्ञासा धेरैको हुन्छ, तर अब त्यस्तो जिज्ञासा राख्नेहरूले देवकोटाको घर नै देख्न पाउने छैनन् । घरै भत्काएपछि उहाँको जीवनसँग सम्बन्धित अवशेष पनि बाँकी रहेनन् । पुरानो घर भत्काएसँगै उनको सिर्जनास्थल मासिएको छ ।
 

देवकोटा बसेको घर भत्काएर सोही ठाउँमै तीनतले अर्को नयाँ भवन बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानले ठेक्का प्रक्रिया अघि बढाएको छ । सोही क्रममा बिहीबार ठेकेदार कम्पनीले घर भत्काएको हो । ०७२ को भूकम्पमा चर्किएको उक्त भवन जीर्ण बनेकाले भत्काउनुपरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले पाँच करोड लागतमा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ भनेर नयाँ भवन बनाउन लागेको हो । करिब एक वर्षमा निर्माण कार्य सकिने घरभित्र महाकविको जीवनसँग सम्बन्धित सामग्री सजाएर राखिने बताइएको छ । 

हाल भत्काएको घरमा करिब १५ वर्षअघिसम्म देवकोटाको परिवार बस्दै आएका थिए । ०७२ को भूकम्पले घर सामान्य मात्रै चर्काएको थियो । सो घरलाई जीर्णोद्धार मात्रै गरेर पनि संरक्षण गर्न सकिने पुरातत्व विभागले बताउँदै आएको थियो । तर, प्रतिष्ठानले नयाँ भवन बनाउने भन्दै जीर्णोद्धार गरेर संरक्षण गर्न सकिने घर भत्काएको छ । 

‘व्यक्तिको नाममा सरकारले भवन बनाउँदा विरोध गर्नु अनावश्यक’ 
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले देवकोटाको घर तीन करोडभन्दा बढी मूल्यमा उनका छोरा–छोरीसँग एक वर्षअघि किनेको बताए । सरकारले देवकोटाको नाममा नयाँ संग्रहालय बनाउन घर देवकोटाका छोराछोरीसँग किनेको उनको भनाइ छ । देवकोटाको घर भएको जग्गा क्षेत्रफल १२ आना रहेको छ ।

महाकवि देवकोटाले पशुपतिको महास्नान गुठीको नाममा रहेको जग्गामा मोहीको हक पाएपछि त्यस जग्गामा घर बनाएका थिए । प्रतिष्ठानले उनको स्मृतिमा नयाँ भवन बनाउने कुनै जग्गा नभेटाए पनि पुरानो भवन भत्काएर नयाँ भवन बनाउनुपरेको उपकुलपति गुरुङको भनाइ छ ।

‘हामीले महाकविको सम्मानकै लागि नयाँ घर बनाउन लागेको हो, तर अरू जग्गा भेटिएन, उहाँको जेठा छोरा पद्म देवकोटाले म जन्मिएको घर भत्काउँदा दुःख लागेको बताउँदै आउनुभएको रहेछ,’ उनले भने, ‘सरकारबाट पैसा लिएपछि यसो भन्नु राम्रो होइन, कि त पैसै नलिएको भए हुन्थ्यो ।’ 

छोराछोरीले घर संरक्षण गरेको भए प्रतिष्ठानले उक्त घर भत्काएर नयाँ घर बनाउन हातै नहाल्ने गुरुङ बताउँछन् । देशकै परिचय बोकेका व्यक्तिको नाममा सरकारले नै भवन बनाउँदा विरोध गर्न आवश्यक नरहेको उनको भनाइ छ । गुरुङका अनुसार नयाँ घर हालकै स्वरूपमा बनाइनेछ । घरको बाहिर सालिक राखिनेछ । भित्र देवकोटाको पुस्तकालय, सेमिनार हल, उनले लेख्ने र पढ्ने ठाउँ बनाइनेछ । साथै पुरानो घरमा राखिएका देवकोटाले पढ्ने, लेख्ने, सुत्ने र आराम गर्ने सामग्रीहरू पनि जस्ताको तस्तै राखिनेछ । 

देवकोटा पुतलीसडकस्थित हालको कुमारी हलनजिकैको घरमा जन्मिएका थिए । पछि उनले मैतीदेवीमा नयाँ घर बनाएका थिए । उक्त घर देवकोटाको मुख्य सिर्जनास्थल हो । जानकारहरूका अनुसार उनी प्रायः घरमै बसेर पढ्ने र लेख्ने गर्थे । संस्कृतिविद् टण्डनका अनुसार देवकोटा प्रायः सुकुलमा पलेँटी कसेर पढ्न र लेख्न बस्थे । पुरानो घर भत्काएसँगै उनको सिर्जनास्थल मासिएको छ ।