मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ श्रावण २० बुधबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७८ श्रावण २० बुधबार १४:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभामा माननीयको मत : दार्चुलादेखि मेलम्चीसम्म

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ श्रावण २० बुधबार १४:५४:oo

राष्ट्रिय सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद उदया शर्मा पौड्यालले ट्याक्सीले मनोमानी भाडा असुल्ने गरेको र त्यसलाई नियमन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

उनले भनिन्, ‘ट्याक्सीचालकको समेत प्रतिनिधित्व हुने गरी नियामक निकायले सबै समस्यालाई समाधान गर्ने, मिटरमा भाडादर निर्धारण गर्ने काम गर्नुपर्‍यो । ट्याक्सीचालक पनि मर्कामा नपर्ने र यात्रुले पनि सुलभ सेवा पाउने व्यवस्था यथाशीघ्र होस् ।’

सांसद खिमलाल देवकोटाले सिन्धुपाल्चोकको मेलम्ची बाढीबाट प्रभावितलाई व्यवस्थापन गर्न तिनै तहको सरकारलाई ध्यानाकर्षण गराए । मौलिक हकसम्बन्धी कानुन निर्माण गर्नुपर्नेमा पनि सरकारको ध्यानाकर्षण गराए भने विचाराधीन अवस्थामा रहेका विधेयकलाई सदनमा पेस गर्न अनुरोध पनि गरे । 

उनले भने, ‘सिन्धुपाल्चोक बाढीको प्रभावितहरूको राहत र उचित व्यवस्थापनलगायतमा स्थानीय सरकारसँग उचित समन्वय गरी संघीय र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षणको लागि अनुरोध छ । संविधानमा ३१ वटा मौलिक हक छन् । संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकको कार्यान्वयनसम्बन्धी कानुन बनाउनुपर्ने हुन्छ । अझै पनि अधिकांश मौलिक हकका कानुन बनेका छैनन् । सबै मौलिक हकको कानुन निर्माणका लागि सरकारको पहलकदमीका लागि अनुरोध छ ।’

सांसद कविता बोगटीले दार्चुलाका जयसिंह धामी प्रकरणमा सरकारले भारतीय पक्षकै पक्षपोषण गरेको भन्दै आम नेपालीलाई सशंकित बनाएको बताइन् । घटनाको छानबिन गर्न संसदीय समिति गठन गर्न उनले माग गरिन् । उनले भनिन्, ‘सरकारले उल्टै भारतीय पक्षको पक्षपोषण गर्नुले परमादेशी सरकारको रवैयाप्रति आमनेपालीलाई सशंकित र आतंकित बनाएको छ । यस घटनाको सत्यतथ्यको छानबिन गर्न, संसदीय समितिको गठन गर्न सरकारसँग माग गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्तिका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछु ।’

सांसद कोमल वलीले देशमा कलाकारले ठूलो योगदान गर्ने भए पनि कलाकारलाई अप्ठ्यारो परेको वेलामा सरकारले सहयोग नगर्ने गरेको दुःखेसो गरिन् । हाल कलाकार पल्पसा डंगोल मिर्गाैला रोगका कारण जीवन र मृत्युको दोसाँधमा रहेको भन्दै उपचारमा सहयोग गर्न सरकारसँग माग गरिन् ।

सांसद खिमकुमार विकले कोरोनाविरुद्धको खोपको आपूर्ति राम्रो भए पनि व्यवस्थापकीय पक्ष सुधार गर्नुपर्ने बताए । वैदेशिक रोजगारीमा जाने युवाहरूलाई खोप अनिवार्य भएकाले युवाहरूले झन्झट भोगेको भन्दै युवाहरूलाई सहज उपलब्धता गराउन सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै सांसद चक्रप्रसाद स्नेहीले सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गठित आयोग खारेजी गरेर गलत गरेको टिप्पणी गरे । अर्का सांसद जगप्रसाद शर्माले शैक्षिक क्षेत्रमा कार्यरत मजदुरहरूको जीवन निर्वाहमा समस्या परेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए । उनले विशेषगरी बाल शिक्षिका, सहायक लेखापाल र सहयोगीलाई जीवननिर्वाह गर्न पुग्ने गरी पारिश्रमिक व्यवस्था गर्नुपर्नेमा जोड दिए ।