१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण १० शुक्रबार १०:३५:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता

रिचार्जर एपमा शतप्रतिशत क्यासब्याक दिइरहेका छौँ : अलाइभ ग्लाइडर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण १० शुक्रबार १०:३५:००

अनलाइन भुक्तानी र अनलाइनबाटै सामान खरिद–बिक्रीका लागि विभिन्न सेवाप्रदायक सक्रिय छन् । तर, दुवै किसिमको सेवा एकै ठाउँबाट लिन सकिने एपको रूपमा भने रिचार्जर पहिलो भएको दाबी सञ्चालक अलाइभ ग्लाइडरको छ । रिचार्ज तथा बिल भुक्तानीमा शतप्रतिशत क्यासब्याक दिँदै आएको रिचार्जर एपको विषयमा ग्लाइडरसँग गरिएको सम्पादित कुराकानी :

 के हो रिचार्जर एप ?
पछिल्लो समय मानिसको व्यस्तता बढ्दै गइरहेको छ । व्यस्तताकै बीचबाट किनमेलदेखि भुक्तानीसम्मका कार्य सहज रूपमा गर्नका लागि नै रिचार्जर एप ल्याएका हौँ । छोटो रूपमा भन्नुपर्दा यो अनलाइन भुक्तानी र ई–कमर्सको संयोजन हो । यो आफैँमा कम्प्लिट सोलुसन हो । घर, अफिस जहाँबाट पनि फुुर्सदको समयमा अनलाइनबाटै भुक्तानी र सामान खरिद गर्न सकिन्छ । नेपालमा आयात तथा उत्पादन भएका सामान सोझै उपभोक्तासम्म पुग्ने माध्यमका रूपमा यो एपको विकास गरिएको हो । बजारमा भएका ई–सेवा, खल्तीजस्ता अनलाइन भुक्तानी सेवाप्रदायक, २५ भन्दा बढी बैंकहरू पनि हाम्रो एपमा जोडिएका छन् । भुक्तानी नियमनको रूपमा नेपाल राष्ट्र बैंक पनि छ ।
 एप सञ्चालनमा आएको कति भयो ?
हामीले यो एप सुरु गरेको ५ वर्ष भयो । यसका लागि हामीले निकै धेरै अनुसन्धान र मिहिनेत लगाएका छौँ । अहिलेको अवस्थामा नेपालमा एउटै एपभित्र धेरै सुविधा भएको एक मात्र एपको कुरा गर्दा रिचार्जर नै हो । आइओएस र एन्ड्रोइड गरेर हालसम्म १ लाखभन्दा बढी हाम्रो एप डाउनलोड भइसकेको छ । नेपालमा हाम्रो एप टप टेनभित्र रहँदै आएको छ । 
यो एपबाट उपभोक्ताले कस्ता सामान खरिद गर्न सक्छन् ? 
उपभोक्ताले चाहेका लगभग सबै सामान हाम्रो एपमा उपलब्ध छन् । इलेक्ट्रोनिक्स, ग्याजेट्स, कस्मेटिक, खाद्य, लत्ताकपडाजस्ता सबै सामान अनलाइनबाटै खरिद गर्न सकिने बनाएका छौँ । 
 हालसम्म बिक्रेताको संख्या कति छ ?
ब्रान्डेडसहित हाल रिचार्जर एपमा ५ सयभन्दा बढी बिक्रेता जोडिएका छन् । 
 बजारमा भुक्तानी सेवाप्रदायक र ई–कमर्स अनलाइन थुप्रै संख्यामा सञ्चालनमा छन् । यस्तो अवस्थामा उपभोक्ताले रिचार्जरलाई नै किन रोज्ने ? 
वास्तवमा हामी अनलाइन भुक्तानी सेवाप्रदायक र ई–कमर्स साइटहरूको प्रतिस्पर्धी होइनौँ । हाम्रो आफ्नै अलग्गै किसिमको उद्देश्य छ । रिचार्जर एपबाट रिचार्ज र बिल भुक्तानी गर्दा त्यति नै मात्रामा क्यासब्याक दिन्छौँ । त्यो क्यासब्याक हामीले एपमै रहेको उपभोक्ताको वालेटमा जम्मा गरिदिन्छौँ । यसरी क्यासब्याकको रूपमा प्राप्त रकमबाट उपभोक्ताले रिचार्जर एपमार्फत जुनसुकै सामान खरिदमा १० प्रतिशत छुट लिन सक्छन् । छुट नै नभएका सामानमा पनि हामीले उपलब्ध गराएको क्यासब्याकबाट १० प्रतिशत छुट लिन सकिन्छ । सामान्य अवस्थामै छुट दिइएका सामानमा थप १० प्रतिशत छुट दिन्छौँ । 
 कुन–कुन भुक्तानीमा उपभोक्ताले क्यासब्याक पाउँछन् ?
मोबाइल रिचार्ज, इन्टरनेटको बिल भुक्तानी, बिजुलीको बिल भुक्तानी, चलचित्रको टिकट खरिद, हवाई टिकटजस्ता भुक्तानीमा उपभोक्तालाई क्यासब्याक उपलब्ध गराउँछौँ । रिचार्ज र बिल भुक्तानीमा शतप्रतिशत क्यासब्याक र टिकेटिङमा दश प्रतिशत क्यासब्याक दिइरहेका छौँ । रिचार्जरबाट सामान खरिद गर्दाको भुक्तानी सफल नभएमा एपमै फिर्ता दिने सुविधा पनि छ । उक्त रकमलाई पुनः खरिदमा प्रयोग गर्न सकिन्छ । हामीले खास गरेर आफ्नो मुनाफा तथा कमिसनलाई उपभोक्तामाझ वितरण गर्न खोजेका हौँ । यसबाट ग्राहकलाई सस्तो पनि पर्न जान्छ । 

उपभोक्ताले ई–कमर्स साइटहरूमा गएर कुनै सामानको मूल्य तुलना गर्न सक्छन् । वास्तवमा अनलाइनमा खरिद–बिक्री गर्दा सस्तो पर्छ, जहाँ सामान राखेको भाडा तिर्नुपर्दैन । थोरै कर्मचारी र लगानीबाट अनलाइनमा सामान बिक्री गर्न सकिन्छ । तर, त्यही सामान दरबारमार्ग वा न्युरोडमा पसल थापेर बिक्री गर्दा लागत धेरै पर्ने भएकाले सामानको बिक्री मूल्य पनि बढी नै पर्न जान्छ । 
 डेलिभरीको व्यवस्था कस्तो छ ?  
हामीले नेपालभर डेलिभरी सुविधा उपलब्ध गराएका छौँ । ‘नेपाली एप नेपालीहरूकै लागि’ भन्ने नाराका साथ सुरु गरिएको यो एपका माध्यमबाट देश विदेश जतासुकैबाट पनि नेपालभित्र डेलिभरीका लागि अर्डर र भुक्तानी गर्न सकिन्छ । काठमाडौं उपत्यकाभित्रको हकमा हामीले अर्डर भएको ३ घन्टाभित्रै डेलिभरी दिँदै आएका छौँ । काठमाडौंबाहिर भने २४ घन्टादेखि २ दिनभित्रमा डेलिभरी गरिरहेका छौँ । त्यसभन्दा बढी समय भने लाग्दैन ।