मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ७ बिहीबार
  • Thursday, 23 September, 2021
२०७८ श्रावण १३ बुधबार ०९:२१:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

वर्षायाममा कोरोनासँग लक्षण मिल्ने कीटजन्य रोगको जोखिम

Read Time : > 3 मिनेट
२०७८ श्रावण १३ बुधबार ०९:२१:००

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले मलेरिया, कालाजार, डेंगु, इन्फ्लुएन्जा, स्क्रब टाइफसको संक्रमणको मौसम हो

महामारीको समय छ । टाउको दुख्ने, ज्वरो आउने, सास फेर्न गाह्रो हुने, मांसपेशी दुख्ने समस्या देखिनेबित्तिकै कोरोना लागेको आशंका पलाउन सक्छ ।

तर, चिकित्सकहरू वर्षायाममा देखिने यी लक्षण कीटजन्य संक्रामक रोगका कारण पनि हुन सक्ने बताउँछन् । लामखुट्टे, भुसुनालगायतले टोक्दा सर्ने यी रोगबाट हजाराैँ मानिस प्रभावित हुने गरेका छन् ।

वर्षायाम सुरु भएसँगै कीटजन्य संक्रामक रोग बढ्न थालेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले मलेरिया, कालाजार, डेंगु, इन्फ्लुएन्जा, स्क्रब टाइफसलगायतको जोखिम छ ।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यी रोगमा धेरैजसो कोभिडसँग मिल्ने लक्षण हुन्छन् । ‘विभिन्न कीटजन्य रोगहरू कोभिडसँग मिल्ने लक्षण भएकाले धेरै मानिस भ्रममा पर्ने गरेका छन्,’ उनले भने ।

कीटजन्य संक्रामक रोगबाट यसरी जोगिन सकिन्छ  : डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ

डेंगु र मलेरियाबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु नै उत्तम उपाय हो । झ्याल–ढोकामा जाली लगाई बन्द राख्ने, शरीर ढाकिने गरी कपडा लगाउने, झुलभित्र सुत्ने गर्नुपर्छ । त्यस्तै, स्क्रब टाइफसबाट जोगिन खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म लामो जुत्ता लगाउने गर्नुपर्छ । भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने गर्नुपर्छ । सकेसम्म घाँसबारी वा चौरमा बस्नुहुँदैन । मौसमी फ्लुबाट जोगिन खोक्दा र हाच्छिउँ गर्दा रुमाल या कुमले मुख छोप्ने, सरसफाइमा ध्यान दिने, झोलिलो खानेकुरा धेरै खाने गर्नुपर्छ ।

राज्यका स्वास्थ्य संयन्त्र कोरोना नियन्त्रणमा लागेकाले यी रोगहरूबारे ध्यान कम गएको स्वास्थ्य मन्त्रालयका अधिकारी स्विकार्छन् । महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ती रोगमा ध्यान कम भए पनि उपचारमा आवश्यक व्यवस्था गरिएको बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्तासमेत रहेका पौडेलले भने, ‘कोरोनाले कीटजन्य रोगमा राज्यको ध्यान कम भए पनि आवश्यक पर्ने औषधि, जनशक्तिलगायत सबै स्रोत–साधनको व्यवस्थापन भएको छ ।’

महामारीले गैरसरकारी क्षेत्रबाट यी रोग नियन्त्रणमा काम गर्ने संस्था पनि निष्क्रिय छन् । त्यसले मन्त्रालयमाथि रोग नियन्त्रण गर्न अर्काे चुनौती थपेको छ ।देशभरमा महामारीको क्षेत्रमा काम गर्ने झन्डै दुई सय ३८ अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छन् । उनीहरूबाट सहायता पाएर काम गर्ने चार हजारको हाराहारीमा गैरसरकारी संस्था छन् । उनीहरू कीटजन्य संक्रामक रोग नियन्त्रणको क्षेत्रमा लगातार काम गर्दै आइरहेका थिए । यद्यपि, कोरोना महामारीपछि उनीहरू निष्क्रिय भएको महाशाखाका एक अधिकारीले बताए । 

त्यसो त पछिल्ला वर्षका तुलनामा यी रोगको परीक्षण दरमा पनि कमी आएको छ । २०१९ मा प्रकोपका रूपमा फैलिएको डेंगु २०२० पुग्दा घटेको तथ्यांकले देखाउँछ । त्यस वर्ष १५ हजार चार सय ९४ संक्रमित भएकोमा २०२० मा एक सय ३२ मात्र डेंगुका बिरामी देखिए । यस वर्ष हालसम्म त्यो संख्यामा झन्डै तीन गुणाले वृद्धि भई चार सय ७७ जना डेंगुका बिरामी भेटिएका छन् । 

२०१९ मा मलेरियाका बिरामी सात सय १० भएकोमा २०२० मा ६ सय १९ देखिए भने यस वर्ष तीन सय ४४ जना देखिएका छन् । त्यस्तै, कालाजारका बिरामी पनि बीचमा घटेर पुनः बढेको तथ्यांकले देखाउँछ । २०१९ मा दुई सय चारजना बिरामी पाइएकामा २०२० मा एक सय नौजनामा कालाजार देखियो । यस वर्ष भने अहिलेसम्ममा चार सय ७७ डेंगुका बिरामी भेटिइसकेका छन् । स्क्रब टाइफसका बिरामी पनि घटेका छन् । २०१९ मा ११ सय ७७ मा देखिएको स्क्रब टाइफस २०२० मा सात सयजनामा झर्‍यो । यस वर्षको अहिलेसम्मको तथ्यांकमा चार सयजना उक्त रोगबाट संक्रमित भए । यी सबै रोगको मृत्युदर भने अत्यन्त न्यून छ ।

हाल जोखिममा रहेका रोग

मलेरिया : मलेरिया एनाफिलिज नामक लामखुट्टेबाट सर्छ । मलेरियाको मुख्य कारण ‘पारासाइट प्लास्मोडियम’लाई पनि मानिन्छ । पाँच वर्षमुनिका बालबालिका, गर्भवती र दीर्घरोगी मलेरियाको जोखिम समूह हुन् । टाउको दुख्नु, बान्ता आउनु, ज्वरो आउनु यसका प्रमुख लक्षण हुन् ।

बच्ने तरिका
- लामखुट्टेको टोकाइबाट जोगिन झ्यालमा जाली तथा ढोकामा जाली लगाई बन्द राख्ने
- पूरा शरीर ढाकिने गरी कपडा लगाउने, राति र दिउँसो पनि झुलभित्र सुत्ने ।

डेंगु : लामखुट्टेको टोकाइबाट लाग्नेमध्ये डेंगु सबैभन्दा घातक हो । यो एडिज जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने हुन्छ ।

बच्ने तरिका
- लामखुट्टेको टोकाइबाट जोगिन झ्यालमा जाली तथा ढोकामा जाली लगाई बन्द राख्ने
- पूरा शरीर ढाकिने गरी कपडा लगाउने राति र दिउँसो पनि झुलभित्र सुत्ने ।

कालाजार:  कालाजार रोग सार्ने भुसुना माटोको घर भएको स्थानमा राम्ररी हुर्किन्छन् । पोथी भुसुनाले मानिसको रगत चुस्छ र एक–अर्कामा सार्छ । सुरुमा हल्का ज्वरो, कमजोरी र भोक लाग्ने लक्षण देखिन्छ । त्यो बढ्दै गएर सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजोको समस्या, छाला कालो हुनु, पेट फुल्नु, कमजोरीका लक्षण देखिन्छन् ।

बच्ने तरिका
- खेतबारीमा काम गर्दा, वनजंगल, पोखरीको छेउछाउ, अँध्यारा ठाउँहरू गाईवस्तुका गोठमा यस्ता भुसुना उत्पन्न हुन सक्छन् । त्यसैले घरमा सुत्दा अनिवार्य झुल - टाँगेर सुत्ने र बाहिर निस्कँदा पूरा बाहुला भएका लुगा लगाएर निस्कनुपर्छ । घरपालुवा जनावरनजिक जाँदा पनि सावधानी अपनाउनुपर्छ । 

स्क्रब टाइफस : संक्रमित व्यक्तिलाई अत्यधिक ज्वरो आउने, सास फेर्न गाह्रो हुने, बेसरी टाउको दुख्ने, शरीरबाट पसिना आउने, विभिन्न अंगमा स–साना बिमिरा देखिने, हल्का आँखा रातो हुने स्क्रब टाइफसका लक्षण हुन् । पाँचदेखि १४ दिनभित्र यसका लक्षण देखिन्छन् ।

बच्ने तरिका
किराले टोकेको ठाउँमा रातो दाग देखिन सक्छ । पछि कालो दाग बस्न सक्छ । यसबाट बच्न खेतबारीमा काम गर्दा, वनजंगल वा झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म लामो जुत्ता लगाउने घाँसबारी वा चौरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने गर्नुपर्छ । सकेसम्म घाँसबारी वा चौरमा बस्नुहुँदैन ।