मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गणेश लम्साल विराटनग
२०७८ श्रावण ७ बिहीबार १२:०१:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

भन्सार राजस्वमा कोरोना प्रभाव : विराटनगर भन्सारले राजस्व असुली लक्ष्य भेट्न सकेन

Read Time : < 1 मिनेट
२०७८ श्रावण ७ बिहीबार १२:०१:००

दोस्रो चरणको कोरोना संक्रमण लहरले गर्दा अघिल्लो वर्षझैँ विराटनगर भन्सारले गत आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य प्राप्त गर्न सकेन । कोरोना संक्रमणकालमा अघिल्लो वर्षको भन्दा गत वर्ष अधिक राजस्व संकलन गर्न सफल भए पनि लक्ष्यभन्दा ६ अर्ब ६७ करोड रुपैयाँ कम राजस्व असुलीमा चित्त बुझाउनुपरेको छ । 

सार्वजनिक प्रगति विवरणअनुसार विराटनगर भन्सारले आर्थिक वर्ष २०७७÷०७८ मा ८८ दशमलब ४५ प्रतिशत अर्थात् कुल ४० अर्ब ८१ करोड ९० लाख रुपैयाँबराबर मात्र राजस्व संकलन गरेको छ । यसको लक्ष्य ४६ अर्ब १४ करोड ९५ लाख रुपैयाँबराबर रहेको थियो । 

भन्सार प्रमुख शिवप्रसाद भण्डारीका अनुसार वशाखदेखि कोरोनाको दोस्रो लहरले गर्दा लकडाउन सुरु भएकाले विराटनगर भन्सारको राजस्व असुलीमा अघिल्लो वर्षझैँ प्रत्यक्ष प्रभाव परेको थियो । त्योभन्दा अघिका महिना साउनदेखि चैतसम्मको राजस्व असुली प्रगति सन्तोषजनक रहेको थियो ।  

भन्सारले गत वर्ष वैशाखमा ५ अर्ब ४९ करोड रुपैयाँ लक्ष्य रहेकोमा ३ अर्ब ५२ करोड रुपैयाँ, जेठमा ५ अर्ब ४९ करोड रुपैयाँ लक्ष्य रहेकोमा ३ अर्ब २७ करोड रुपैयाँ र असारमा ४ अर्ब २५ करोड रुपैयाँ लक्ष्य रहेकोमा ३ अर्ब ७२ करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो । तीभन्दा अघिल्लो महिना माघ र फागुनबाहेक सबैमा लक्ष्यभन्दा बढी राजस्व असुली भएको थियो । 

आर्थिक बर्ष २०७६/०७७ मा विराटनगर भन्सारले ५८ दशमलव ४२ प्रतिशत अर्थात् २९ अर्ब रुपैयाँबराबर मात्र राजस्व संकलन गरेको थियो । अघिल्लो वर्षको लक्ष्य ४९ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।