१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टोकियो
२०७८ श्रावण ७ बिहीबार ०७:३७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टोकियो ओलम्पिक : अमेरिकाको अपराजित यात्रा रोकियो

Read Time : > 2 मिनेट
टोकियो
२०७८ श्रावण ७ बिहीबार ०७:३७:००

टोकियो ओलम्पिक २०२० खेलकुद प्रतियोतिगाअन्तर्गत बुधबार महिला फुटबल इभेन्ट्समा स्विडेनले अमेरिकामाथि ३–० को जित निकालेको छ । स्विडेनसँग पराजित हुनुअघि अमेरिका ४४औँ खेलसम्म अपराजित थियो । 

अमेरिकी महिला फुटबल टोलीको अपराजित यात्रा रोकिएको छ । टोकियो ओलम्पिक २०२० खेलकुद प्रतियोगिताअन्तर्गत बुधबार महिला फुटबल इभेन्ट्समा स्विडेनले अमेरिकामाथि ३–० को जित निकालेको छ । स्विडेनसँग पराजित हुनुअघि अमेरिका ४४औँ खेलसम्म अपराजित थियो । 

स्वर्ण पदकको दाबेदार अमेरिकाले ४५औँ खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्न सकेन । स्विडेनको सानदार जितमा स्ट्राइकर स्टिना ब्लाकस्टनिसले दुई गोल गरेकी थिइन् । ‘हामी सुरुमा केही नर्भस देखिएका थियौँ तर खेल बढ्दै जाँदा अमेरिकाको अपराजित यात्रालाई समेत रोक्यौँ,’ स्विडेनकी स्ट्राइकर मेगान रापिनोसले भनिन् । प्रतिस्पर्धामा स्विडेन चेल्सीकी कप्तान मागदालेन इरिक्सनविनै उत्रेको थियो । अमेरिकाले मैदानमा मुख्य खेलाडीहरू रोसे लाभेले, साम मेविस, एलेक्स मार्गान, टोवी हेल्थ तथा लिन्डेस होरानलाई उतारेको थियो । 

पाँच वर्षअघि रियो ओलम्पिकको क्वार्टरफाइनलमा अमेरिकाले पेनाल्टी सुटआउटमा स्विडेनलाई हराएको थियो । अमेरिका प्रशिक्षक भालटको एन्डोनोस्कीले टोलीमा केही खराबी रहेको जनाएका छन् । ‘खेलमा केही कमजोर देखियो, अर्को खेलमा हाम्रो कमजोरी सुधार गर्नुपर्छ,’ प्रशिक्षक एन्डोनोस्कीले भने, ‘अर्को चरणमा प्रवेश गर्न आउने दुई खेलमा जित निकाल्नुपर्छ ।’ रियो ओलम्पिकमा अमेरिकाले रजत पदक जितेको थियो । 

नेदरल्यान्ड्स र ब्राजिलको सानदार जित 
नेदरल्यान्ड्सले जाम्बियामाथि १०–३ को फराकिलो जित निकालेको छ । युरोपियन महिला च्याम्पियन नेदरल्यान्ड्सको जितमा आर्सनलबाट खेल्ने स्ट्राइकर भिभिआनो मिडेमाले चार गोल गरेकी थिइन् । खेलमा नेदरल्यानड्सकी डानियले भान डेले तीन असिस्ट गरिन् । महिला फिफा वरीयताको एक सय चार स्थानमा रहेको जाम्बियाका लागि तीनै गोल कप्तान बाबरा बन्डाले गरिन् । अर्को खेलमा ब्राजिलले चीनमाथि ५–० को जित दर्ता गर्‍यो । ब्राजिलको जितमा स्ट्राइकर मार्टाले दुई गोल गरेकी थिइन् । 

ओलम्पिक इतिहासमा लगातार पाँच संस्करण खेल्ने गोल गर्ने मार्टा पहिलो खेलाडी बनेकी छिन् । ४२ वर्षीया मार्टाले ओलम्पिकमा अहिलेसम्म १२ गोल गरेकी छिन् । सन् १९९६ देखि महिला फुटबल ओलम्पिकमा समावेश भएको हो । बेलायतले चिलीलाई २–० ले हराएको छ । आयोजक जापान र क्यानडाबीच १–१ को बराबरी भयो । खेलमा जापान तथा क्यानडाका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए । सुरुमा आर्सनलका मिडफिल्डर माना इवाबुचीको शतप्रतिशत गोल अवसरलाई क्रिस्टियन सिन्लियरले क्लियर गरिनन् । यसैगरी क्यानडाकी गोलरक्षक स्टेफाने लावेले एक पेनाल्टी बचाइन् । महिला फुटबलतर्फ अस्ट्रेलियाले न्युजिल्यान्डलाई २–१ ले हरायो । 

लसफ्ट बलमा आयोजक विजयी
प्रतियोगिताअन्तर्गत सफ्ट बलमा आयोजक जापानिज महिला टोलीले अस्ट्रेलियालाई ८–१ ले हराएको छ । जापानले सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्णपदक जितेको थियो । शुक्रबार टोकियोमा ओलम्पिकको उद्घाटन हुनेछ । फुकुसिमाको अजुमा बेसबल रंगशालामा दुवै टोलीले कोभिड–१९ का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली दिएका थिए । सन् २०११ मा आएको सुनामीले फुकुसिमा सहर ध्वस्त बनेको थियो । १३ वर्षपछि फुकुसिमा सहर आधुनिक बनेको छ । यस क्षेत्रमा बेसबल रंगशाला धेरै छन् । प्रतिस्पर्धामा अस्ट्रेलियाले सुरुवाती अग्रता लिए पनि त्यसलाई निरन्तरता दिन सकेनन् । पाँचपटकको एसियन च्याम्पियन तथा जाकार्ता एसियाडको रजत विजेता जापानविरुद्ध अस्ट्रेलिया कमजोर देखिएको थियो । जापानले सन् २०१८ को विश्व च्याम्पियनसिप रजत पदक हात पारेको थियो । 

बेलायतलाई धक्का
बेलायतले महिला स्टिक प्रतियोगिताबाट स्वर्ण पदकको आशा गरेको छ । तर, यस खेलकै विश्व नम्बर एक खेलाडी अम्बेर हिल कोरोना संक्रमित भएका कारण प्रतियोगिता गुमाएकी छिन् । सन् २०१६ को रियो ओलम्पिकमा हिल छैठौँ स्थानमा थिइन् । गत मे महिनामा सम्पन्न सुटिङको विश्वकपमा उनले रजत पदक हात पारेकी थिइन् । बेलायत ओलम्पिक कमिटीले आफ्ना खेलाडी हिलले ओलम्पिक गुमाएको जानकारी दिएको छ । कोभिडका कारण ओलम्पिक गुमाएपछि हिल निकै निराश छिन् । ‘यो वेला भन्ने केही शब्द छैन,’ उनले भनिन्, ‘लगातार पाँच वर्षको प्रशिक्षण खेर गएको छ ।’ 

पोल्यान्डका ६ पौडीबाज घर फर्किए
कोटाभन्दा धेरै खेलाडी पठाएको पोल्यान्डले ६ पौडीबाज घर फर्काउनुपरेको छ । आयोजक जापान तथा अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना)ले ओलम्पिकमा १७ जना मात्र खेलाडी संख्या निर्धारण गरेको छ । तर, पोल्यान्डले टोकियोमा २३ जना खेलाडी पठाएको छ । जसका कारण आयोजक कमिटीले बुधबार ६ खेलाडीलाई घर फर्काएको हो । फिना र आयोजक जापानले ओलम्पिक छनोट खेलमा कम अंक ल्याएका पोल्यान्डका खेलाडी फिर्ता पठाएका हुन् ।

सामाजिक सञ्जालमा पोल्यान्ड ओलम्पिक कमिटीको आलोचना भइरहेको छ । ‘हामीहरूको सामान्य गल्तीका कारण खेलाडीले दुःख पाए, यसप्रति हामी माफी माग्छौँ,’ कमिटीका अध्यक्ष पावेल स्लामिन्किले भने, ‘यस किसिमको अवस्थामा सबै दोष हामीले नै लिनुपर्छ ।’ 

अस्ट्रेलिया खेलाडीद्वारा प्रतिबन्धित औषधि प्रयोग
अस्ट्रेलियन खेलाडीले प्रतिबन्धित लागुऔषध सेवन गरेको आयोजकले जनाएको छ । घोडचढी खेलाडी जामिन केर्मेन्डको रगत परीक्षण गर्दा प्रतिबन्धित औषधि सेवन गरेको भेटिएको हो ।अन्तर्राष्ट्रिय खेलकुद प्रतियोतिगामा प्रतिबन्धित औषधि सेवन गर्नु गैरकानुनी मानिन्छ । आयोजकले ती खेलाडीलाई घर फिर्ता पठाएको छ । अस्ट्रेलियन घोडचढी संघले केर्मोन्डलाई तत्कालै प्रतिबन्ध गरेको छ । अस्ट्रेलियान एन्टी डोपिङ नियमविपरीत कार्य गरेको जनाउँदै केर्मोन्डलाई तत्कालै खेलमा प्रतिबन्ध लगाएको छ । केर्मोन्डको रगत परीक्षण २६ जुनमा भएको थियो ।