मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नारायण ढुंगाना रासस
२०७८ श्रावण ७ बिहीबार ०७:३२:००
Read Time : > 2 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कविता र कलाको जीवन्त प्रयोग गर्ने चित्रकार नेपालीको निधन

Read Time : > 2 मिनेट
नारायण ढुंगाना रासस
२०७८ श्रावण ७ बिहीबार ०७:३२:००

बहुलठ्ठीपन भनेर हेला गर्ने अमूर्तकलालाई स्थापित गर्नमा उनको महत्वपूर्ण योगदान छ, नेपाली ललितकला क्षेत्रको विकासमा अमूल्य योगदान पुर्‍याएका उनको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ ।

चित्रले धेरै कुरा भनिरहेझैँ वा बोलिरहेझैँ लाग्नेगरी क्यानभास रंग्याउन सिद्धहस्त व्यक्तिको नाम हो उत्तम नेपाली । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान गठनका वेला प्राज्ञसभा सदस्य छनोट सिफारिस समितिको सदस्यसमेत रहेका नेपाली जीवनको उत्तरार्द्धमा लाग्दा रोगले थलिएका थिए । उनले सकिन्जेल जीवनलाई क्यानभासबाट टाढा जान दिएनन् । क्यानभासलाई त्यही युवा जोसमा रंग्याउन नसके पनि अन्य कलाकारका लागि प्रेरणाको स्रोत बनिरहे । रंगिएका क्यानभास ललितकला क्षेत्रलाई छाडेर यिनै व्यक्ति बुधबार सदाका लागि बिदा भएका छन् ।

कला, साहित्य र चलचित्रमा समेत राम्रो दख्खल राख्ने उनको मुख्य पेसा भने आधुनिक चित्रकला नै थियो । सुरुसुरुमा मानिसले बहुलठ्ठीपन भनेर हेला गर्ने अमूर्तकलालाई स्थापित गर्नमा उनको महत्वपूर्ण योगदान छ । नेपाली ललितकला क्षेत्रको विकासमा अमूल्य योगदान पुर्‍याएका नेपालीको ८४ वर्षको उमेरमा बुधबार बिहान ४.३० बजे काठमाडौंस्थित शिक्षण अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार भइरहेको थियो । यसैका कारण निधन भएको नेपालीका ज्वाइँ सुनील रञ्जितले बाताए । उनी मुटुलगायत अन्य रोगबाट पनि पीडित थिए । 

काठमाडौं महानगरपालिका–३ बाँसबारी घर भएका नेपालीका श्रीमती मन्दिरासहित दुई छोरा उद्यमप्रसाद र सुुद्यमप्रसाद तथा दुई छोरी ममता र प्रकृति छन् । अमेरिकामा रहँदा पाँच वर्षअघि उनलाई हृदयाघात भएको थियो । त्यसवेला अमेरिकामा हृदयाघातको उपचार भए पनि पछि शरीर बिस्तारै कमजोर हुँदै गएको थियो । बीचमा नेपाल आएर केही समय बसेपछि उनी पुनः अमेरिका फर्किएका थिए । अमेरिकामा रहँदा श्वासप्रश्वासमा समस्या बढेपछि विनाअक्सिजन बस्न नसक्ने भएका थिए । आफ्नै भूमिमा मृत्युवरण गर्ने उनकै इच्छाअनुसार तीन महिनाअघि नेपाल ल्याइएको थियो । पछिल्लो २० दिनअघि स्वास्थ्य समस्या थप बढेपछि चिरायु अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्र हुँदै शिक्षण अस्पताल महाराजगञ्जमा उनको उपचार भइरहेको थियो । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले ललितकलाको विकासमा उनले दिएको योगदान महत्वपूर्ण रहेको र उनको निधनले कला क्षेत्रमा ठूलो क्षति पुगेको बताए । कलासँगै, चलचित्र र साहित्यमा समेत उनको योगदान छ । उनले गीत र भजनसमेत लेखेका छन् ।

साहित्यकार ध्रुवचन्द्र गौतम र शंकर लामिछानेसँग धेरै नजिक भएर काम गरेका नेपालीले नेपालको पहिलो चलचित्र ‘आमा’ र अर्काे चलचित्र ‘हिजो आज भोलि’मा अभिनय गरेका थिए । हिजो आज भोलिमा प्रमुख खलनायक भएर खेलेको ज्वाइँ सुनीलले बताए । उनको मुख्य पेसा भने चित्रकला नै हो । मुलुकमा नेपाली आधुनिक कला भित्र्याउनमा उनको ठूलो भूमिका रहेको उनी स्मरण गर्छन् । उनको पहिलो चित्रकला प्रदर्शनीको उद्घाटन तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले गरेका थिए । कलाकार तथा कला समीक्षक मुकेश मल्लले उनको कला जीवनीको बारेमा पुस्तक नै लेखेका छन् । उनी जिउँदै हुँदा उक्त पुस्तक विमोचन गर्ने प्रतिष्ठानको योजना अधुरै भए पनि पछि विमोचन गर्ने कुलपति कर्माचार्यले बताए । 

उनी प्रतिष्ठानका आजीवन सदस्य थिए । कला लेखक उनलाई क्यानभासका बादशाह तथा आधुनिक कलाका शिखर पुरुष भनेरसमेत स्मरण गर्छन् । उनीलगायत कलाकारका समूहले दिग्गज कविका रचनाको आधारमा चित्रकलासमेत गरेको थियो । कलामा कविता उतार्ने छुट्टै पहिचानसमेत उनमा थियो । ०६१ मा ‘उत्तम नेपालीका कविता’ पुस्तकसमेत प्रकाशित छ । कविताको भाव, स्रष्टा, लेखकलाई समेत चित्रमा उतारेर उनले नयाँ–नयाँ प्रयोग गरेका छन् । आधुनिक अमूर्त चित्रकलालाई नेपालमा विस्तार गर्नमा उनको योगदान ठूलो छ । बुबा व्यापारको सिलसिलामा भारतको लखनउ बस्ने भएकाले उनले लखनउबाट परम्परागत ‘वास पेन्टिङ’ सिकेका थियो । उनले बनाएको शिवको ताण्डव नृत्यको चित्र महत्वपूर्ण मानिन्छ । 

भारतबाट २०१८/१९ सालतिर नेपाल आएपछि धार्मिक चित्र बनाएका नेपाली त्यसपछि अमूर्तकलामा लागेको कला समीक्षक रमेशनाथ खनालले बताए । उनले भने, ‘उहाँले कविता र कलाको जीवन्त प्रयोग गर्नुभएको छ, नेपालको साहित्य र कलासम्बन्धी प्रतिष्ठित व्यक्तिका मुहार चित्र बनाउनुभएको र त्यसमा उहाँको आफ्नै शैली थियो ।’ उनका २५ एकल चित्रकला प्रदर्शनी भएका छन् ।