
हेटौँडा सिमेन्ट उद्योगले तीन वर्षदेखि निरन्तर करोेडौँ घाटा व्यहोेरिरहेको छ । सिमेन्टको बिक्रीमा आएको गिरावट र असहज परिस्थितिका कारण उद्योगले लगातार ठूलो नोक्सानी व्यहोर्नुपरेको उद्योगले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ मा करिब २५ करोड रुपैयाँबराबरको आर्थिक घाटा व्यहोरेको उद्योगले आव ०७७/७८ मा पनि २५ करोड रुपौयाँबराबरकै आर्थिक घाटा व्यहोर्ने प्रारम्भिक अनुमान छ ।
उद्योगले आव ०७५/७६ मा करिब १६ करोड ६५ लाख रुपैयाँबराबरको घाटा व्यहोरेको थियो । ‘दुई वर्षदेखि निरन्तर कोरोनाको असहज स्थितिका कारण योजनाअनुसार सिमेन्ट उत्पादन तथा बिक्री हुन सकेको छैन । समय–समयमा उद्योगको मेसिनमा आउने समस्याका कारण घाटा व्यहोर्नुुपरेको हो,’ उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले भने ।
सिमेन्ट बिक्री हुने मुख्य समय चैतदेखि असारसम्म कोरोनाका कारण विकास निर्माणको काममा कमी आउँदा उत्पादन तथा बिक्री भएको उनको भनाइ छ । सोही कारण उद्योगले ठूलो आर्थिक नोक्सानी भोग्नुपरेको उनले बताए । आव ०७७/७८ मा ३१ लाख बोरा सिमेन्ट र १ लाख ५० हजार मेट्रिकटन क्लिंकर उत्पादन गर्ने लक्ष्य थियो । आव ०७३/७४ मा १५ करोड र आव ०७४/७५ मा कुल १६ करोड उद्योगले आर्थिक रूपमा नाफा गरेको देखिन्छ ।
स्थापनाकालको अवस्थामा आव ०४८/४९ मा आर्थिक रूपमा केही नाफा देखिएको उद्योगमा धेरैजसो वर्ष घाटामा नै सञ्चालन हुँदै आएको थियो । हेटौँडा सिमेन्ट उद्योगअन्तर्गत करिब १ सय १ बिघा क्षेत्रफल जमिन रहेको छ । ०३३ सालमा स्थापना भएको उद्योगले ०४८ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको थियो । ‘उद्योगमा नयाँ मेसिन थपेर लागत घटाउँदै निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न जरुरी रहेको छ,’ सिंहले भने ।