Skip This
ad
पुलिट्जर विजेता फोटो पत्रकार दानिस मारिए
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
एजेन्सी
२o८१ बैशाख २५ मंगलबार १३:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

पुलिट्जर विजेता फोटो पत्रकार दानिस मारिए

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १३:५८:oo

विश्व चर्चित भारतीय फोटो पत्रकार दानिस सिद्दिकी समाचार संकलनकै क्रममा पाकिस्तानको सीमानजिक शुक्रबार मारिएका छन् । पछिल्लो केही दिनयता उनी पाकिस्तानको सीमानजिक तालिवान र अफगानी सुरक्षाकर्मीबीच भएको भिडन्तको समाचार संकलन गरिरहेका थिए । यही क्रममा अफगानिस्तानको कान्दाहार प्रान्तमा तालिवानी लडाकुको गोलीबाट दानिसको निधन भएको बिबिसीले जनाएको छ । उनी अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा सन् २०१० देखि
आबद्ध थिए ।

उनले खिचेका फोटाहरू निकै नै चर्चित छन् । दानिसले २०७२ सालमा नेपालमा गएको शक्तिशाली भूकम्प, अफगानिस्तान, इराक, रोहिंग्या सरणार्थीका समस्या र हङकङमा भइरहेको आन्दोलनकारीहरूका फोटा लिएका थिए । जुन विश्वभर चर्चित बनेका थिए । सन् २०१८ मा उनी पुलिट्जर अवार्डबाट समेत सम्मानित भएका थिए । म्यानमारका रोहिंग्या शरणार्थीहरूको फोटोसहितको डुकुमेन्ट्स स्टोरीमा उनले विश्वकै प्रतिष्ठित अवार्ड पुलिट्जर प्राप्त गरेका हुन् । 

शुक्रबार अफगानी सुरुक्षाकर्मीहरू स्पिन बोल्डक सहरको मुख्य बजार नियन्त्रणमा लिने प्रयासमा थिए । यही क्रममा अफगानी सुरुक्षाकर्मी र तालिवानबीच दोहोरो भिडन्त भएको थियो । दानिश आफगानी सैनिकसँगै रहेर फोटो लिनुका साथै समाचार संकलन गरिरहेका थिए । दोहोरो गोली हानाहानमा उनी मारिए । १३ जुलाईमा उनले गरेको ट्विट् नै अन्तिम बन्यो । त्यसवेला उनले आफू बल्लबल्ल बाँचेको उल्लेख गरेका थिए । तालिवानले शुक्रबारै भारतीय फोटो जर्नालिस्ट दानिसको निधनप्रति शोक प्रकट गरेको छ । तालिवानका प्रवक्ता जविउल्लाह मुजाहिदले सिएनएन न्युज १८ लाई अन्तर्वार्ता दिँदै दानिसको मृत्युप्रति दुःख प्रकट गरेका हुन् । उनले तालिवानलाई जानकारी नदिई युद्धग्रस्त क्षेत्रमा समाचार संकलन गरिरहेको मुजाहिदले जनाएका छन् । 

‘हामीलाई थाहा थिएन, अफगानी सैनिकसँगै उनी पनि थिए, दोहोरो भिडन्तमा उनी मारिए,’ तालिवानका प्रवक्ता मुजाहिदले भने, ‘यस्तो युद्धग्रस्त क्षेत्रमा आउनुअघि एकपटक हामीलाई जानकारी दिनुपर्ने थियो, दानिस त्यहाँ भएको अगाडि नै जानकारी पाउँदा सम्भवतः हामी पनि सचेत हुने थियौँ ।’ पिटिआईका अनुसार तालिवानले दानिसको पार्थिव शरीरमाथि अन्तर्राष्ट्रिय रेडक्रसको झन्डा ओढ्याएर सुम्पिएको छ । युद्धग्रस्त क्षेत्रबाट दानिसको शव भारत फर्काउने तयारी भइरहेको छ । रोयटर्सका अध्यक्ष तथा प्रधानसम्पादक माइकल फ्रिडेनवर्गले दानिस विश्वकै उत्कृष्ट फोटो जर्नालिस्ट भएको बताएका छन् । ‘यो एक दशकमा दानिसजत्तिको बहादुर फोटो जर्नालिस्ट हामीले देखेका छैनौँ,’ दानिसको प्रशंसा गर्दै रोयटर्सका प्रधानसम्पादक माइकलले भने, ‘यतिवेला विश्वले नै एक बहादुर फोटो जर्नालिस्ट गुमाएको छ ।’ 

दानिसका बुबा अख्तर सिद्दिकी प्राध्यापक हुन् । अख्तरले दुई दिनअघि मात्र छोरासँग कुराकानी भएको जानकारी दिएका छन् । आफ्नो पेसामा छोराले कहिले सम्झौता नगरेको अख्तरले बताएका छन् । ‘आफ्नो कामप्रति सधँै इमान्दार देखाउने तथा जस्तोसुकै अवस्थामा पनि कामलाई पहिलो प्राथमिकतामा राख्ने उनको कामकै सिलसिलामा निधन भयो,’ दानिसका बुबा भन्छन्, ‘युद्धग्रस्त क्षेत्रमा फोटो लिने तथा समाचार संकलन गर्ने क्रममा भएको यो पहिलो घटना होइन, दुभाग्र्यवश अफगानी र तालिवानबीचको युद्धमै एउटा गोलीले छोरालाई हामीबाट छिनेर लग्यो ।’ मुम्बईमा रहने दानिसले दिल्लीको जामिया मिलिया स्लामिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । सन् २००७ मा उनले पत्रकारितामा मास्टर्स गरे । सन् २०१० देखि उनी रोयटर्समा आबद्ध भए । 
 

ad
ad