मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ४ सोमबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ४ सोमबार १o:४५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

क्रियाशील सदस्यता नवीकरणमा धाँधली भएको भन्दै अनशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ४ सोमबार १o:४५:oo

कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै संविधानसभा सदस्य डा.चन्द्रमोहन यादवसहित धनुषाका तीनजना नेताहरूले अनशन सुरु गरेका छन् । क्रियाशील सदस्यता छानबिनमा धनुषाका क्षेत्र नम्बर १ र ४ मा क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै पूर्वराष्ट्रपतिपुत्र संविधानसभा सदस्य यादव, नेताहरू रामपल्टन साह र दिनेश नायकले आइतबार बिहान साढे ११ बजेदेखि अनशन थालेका हुन् । 

पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको विरुद्धमा आफूहरू अनशनमा बस्नुपरेको डा.यादवले बताए । उनीहरूले क्रियाशीलबारे जिल्ला कार्यसमितिले गरेको निर्णय कार्यान्वयन हुनुपर्ने माग गरेका छन् । १४औँ महाधिवेशनको तयारीमा रहेको कांग्रेसमा अहिले क्रियाशील सदस्यता छानबिनको काम चलिरहेको छ ।

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील छानबिन गरे पनि अधिकांश जिल्लामा विवाद सुल्झाउनुको सट्टा विभिन्न बहानामा क्रियाशील सदस्यताबाट वञ्चित गर्न खोजिएको भन्दै नेता कार्यकर्ताले विरोध गरिरहेका छन् । यसअघि बारा क्षेत्र नम्बर २ का नेताहरूले पनि केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए । क्रियाशीलकै नाममा असन्तुष्टि व्यक्त गर्दैै सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतसमेतको टोलीले समितिका सदस्य एवं कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि हातपातमै उत्रिए । 

महाधिवेशनको मिति नजिकिए पनि क्रियाशील सदस्यताको काम नसकिँदा कांग्रेसको महाधिवेशन अन्योलग्रस्त बनेको छ । सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छानबिन समितिले सर्वसम्मत काम गर्न र विवाद भएका विषयहरू पदाधिकारी तथा पूर्वपदाधिकारीसमक्ष छलफलका लागि पेस गर्न भनेका छन् । छानविन समितिले अहिलेसम्म बारा र सप्तरीबाहेक ७५ जिल्लाको क्रियाशील सदस्यता छानबिन गरिसकेको छ । कांग्रेसमा यसपटक क्रियाशील सदस्यको संख्या नौ लाख पुग्ने समितिको अनुमान छ ।