१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
लोकगायक एलपी जोशी
२o८१ बैशाख २४ सोमबार १२:o७:oo
Read Time : > 3 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

बिनायोले चिनिएका लोकगायक

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:o७:oo

बुढ्यौलीले छोपिसक्दा पनि लोकगायक एलपी जोशी लोकसंगीतको नाम सुन्नासाथै जोसिन्छन् । ८५ वर्ष नाघिसक्दा पनि उनी लोकगीत संकलन, गायन र संगीत भर्न सक्रिय छन् । सात दशकदेखि उनको यो क्रम रोकिएको छैन ।

एलपी जोशीको नाम सुन्नासाथै धेरै नेपालीले सम्झिने गीत हो ‘रिटिङ रिटिङ नबजाउ बिनायो...’ । ६० वर्षअघि गाएको भए पनि जोशीको यो गीत अहिले पनि धेरै नेपालीको जिब्रोमा छ । उनी भन्छन् ‘मलाई नामबाट भन्दा धेरैले यही गीतले चिन्छन् ।’

जोशीको जन्म गाउँ धनकुटा हो । यहीकारण पनि उनले गाउँले परिवेशलाई टपक्कै टिपेर लोकगीतमा ढालेका छन् । रिटिङ रिटिङ नबजाउ बिनायो...गीतको ‘बिनायो’ पनि किराँत समुदायको लोकबाजा हो । किरात समुदायमा सीमित ‘बिनायो’लाई उनले संसारभरका नेपालीमाझ पु¥याए । उनी आफैँलाई पनि बिनायो बाजा असाध्यै मनपर्ने सुनाए । 

के हो बिनायो ?
छिप्पिएको मालिंगो बाँसलाई खिपेर बिनायो बनाइन्छ । यसको दुई छेउमा धागो बाँधिएको हुन्छ । जिब्राको अगाडिपट्टिको लामो डोरीलाई झड्कारेर यो बाजा बजाइन्छ । धागोले झड्काएर निस्किएको कम्पनलाई विभिन्न धुनमा परिणत गर्न ओठमा राखी भित्रबाट कम्पनलाई जिब्रोबाट प्रभावित गरिन्छ । यसलाई किराँत समुदायका महिलाले चोलीको तुनामा बाबरी फूल झुन्डाएर बोक्छन् । उनीहरूले मेलापात र हाटबजार जाँदा बिनायो बजाउने गर्थे । यही बाजालाई चिनाउन उनले गीत नै सिर्जना गरे :

रिटिङ रिटिङ नबजाउ बिनायो
बिनायोले मन मेरो छिनायो 
ऐयाया अक्काका...

यो गीत सिर्जना गर्दा जोशीले रेडियो नेपालमा गाउन पाइएला र यसले चर्चा पाउला भन्ने नसोचेको बताए । तर, बिनायोले मन मात्रै छिनाएन जोशीलाई समेत लोकगायकको रूपमा चिनायो । उनले भने, ‘यो गीत २०१० सालतिर गाउँघरमा गाएर हिँड्थ्यौँ । रेडियोमा गाउँला । यति चर्चा होला भन्ने त कल्पनामा पनि थिएन । केटाकेटी, बुढापाका र तन्नेरीको मुखमा यसरी झुन्डिएला भन्ने त कहाँ सोचेको थिएँ र ।’ 

जोशीले यो गीत २०१८ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिए । यद्यपि उनले रेडियो नेपालमा रेकर्ड गराएको यो गीत पहिलो भने होइन । २०१३ सालमा पनि रेडियो नेपालमा गीत रेकर्ड गराएका थिए । तर, उनलाई यसैले चर्चामा ल्यायो । त्यसवेला काठमाडौंलाई ‘नेपाल’ भनिन्थ्यो । रेडियो नेपालमा गीत गाउन छनोट भएपछि ‘नेपाल’ कस्तो छ भन्ने कुतूहलता मनमा उब्जियो । अनि जोशीले लोकगीत रचना गरिहाले ।

नेपाली माया नेपालै कस्तो छ
सरमा सर अक्षर लेख्ने नेपाली माया
नेपाली कागजैमा...

‘तत्कालीन राजा महेन्द्रको राज्यभिषेकमा गीत गाउन नेपाल (काठमाडौं) गएका थियौँ । गीत पो रेकर्ड गरेर फर्किएँ,’ उनी सम्झिन्छन्, ‘रेडियो नेपालमा गीत गाउन पाउनु त्यसवेला ठूलो सपना हुन्थ्यो । त्यो पूरा गरेर फर्किएँ ।’ गीत गाएर फर्किएपछि उनलाई हेर्न गाउँभरिका मान्छे आएको सम्झिन्छन् । ‘रेडियोमा गीत गाए पनि आफ्नै गीत सुन्न मुस्किल हुन्थ्यो । जो पायो त्यसको घरमा रेडियो हुँदैन थियो । धनीको घरमा मात्र हुन्थ्यो । फेरि कतिवेला बज्थ्यो थाहै हुन्थेन,’ उनी भन्छन्, ‘मैलै पनि २०२४ सालमा सोभियत रुस गएको वेला एउटा रेडियो ल्याएको थिएँ । अनि मात्र आफ्नो गीत सुन्न पाएँ ।’

एलपी जोशीको नाम सुन्नासाथै धेरै नेपालीले सम्झिने गीत हो ‘रिटिङ रिटिङ नबजाउ बिनायो...’ । ६० वर्षअघि गाएको भए पनि जोशीको यो गीत अहिले पनि धेरै नेपालीको जिब्रोमा छ । उनी भन्छन् ‘मलाई नामबाट भन्दा धेरैले यही गीतले चिन्छन् ।’

त्यसवेला रेडियो नेपालले गीत गाएपछि आठ रुपैयाँ दिने गरेको उनले बताए । ‘पैसा कमाउन कहिल्यै गीत गाइएन । खर्च धेरै गरेर काठमाडौं गइन्थ्यो । तर, आठ रुपैयाँ पाउँदा पनि सन्तुष्ट भएर फर्कन्थ्यौँ,’ उनी सम्झन्छन् । गाउँका दुःख, सुख, वेदनालाई टपक्कै टिपेर लोकभाकामा गाउने जोशीले रेडियो नेपालमा ३०–३५ वटा मात्रै गीत गाएका छन् । ती सबै गीत आफैँले संकलन गर्नुका साथै संगीत र स्वरमा गाएका छन् । जति गीत गाए, चर्चामै रहे । ‘तर २०४० सालयता गाएको छैन,’ उनी भन्छन् । 

अझै गीत रेकर्ड गर्ने रहर 
जोशी धनकुटाबाट २०२५ सालमा झापाको दमक झरेका हुन् । उनी काठमाडौं जाने सोचसहित घरबाट हिँडेका थिए । तर, दमकमै रोकिए । ‘कहिलेकाहीँ मोफसलमा बसेर गल्ती गरियो कि जस्तो लाग्छ,’ उनी भन्छन्, ‘काठमाडौं बसेको भए अझै चर्चा कमाइन्थ्यो कि झैँ लाग्छ ।’  उनी अहिले पनि लोकगीत सिर्जनामा सक्रिय छन् ।

तर, अहिले संकलन गरेका लोकगीत डायरीमै थन्किएका छन् । उनी भन्छन्, ‘गीत रेकर्ड गर्न पहिलाको जस्तो छैन । धेरै खर्चिलो छ । रचना ग¥यो, डायरीमै थन्कायो ।’

उनी युवावस्थालाई सम्झेर लोकगीत रचना गर्छन् । ‘यही कारण मेरा गीत माया प्रेमका हुन्छन् । गाउँले परिवेशका हुन्छन् । म अहिले पनि युवावस्थालाई नै सम्झेर गीत लेख्छु,’ उनी भन्छन्, ‘उमेर पाको भए पनि मस्तिष्क युवा नै छ । जोशीलाई एउटा लोकगीत रेकर्ड गराउने अझै रहर छ । तर, कमजोर आर्थिक अवस्थाका कारण पूरा हुन सकेको छैन । ‘८५ वर्षको उमेरमा गीत गाएर इतिहास राख्न चाहन्छु । यस्तो उमेरमा पनि गीत गाउन सकिन्छ भन्ने देखाउन चाहन्छु,’ उनी भन्छन्, ‘अहिलेको रेकर्डिङ त खर्चिलो छ । गीत रेकर्ड गराएर मात्र हुँदैन । भिडियो पनि बनाउन पर्छ । पहिला पैसाका लागि कहिल्यै गाइएन । अब यत्रो खर्च कहाँबाट ल्याउने ?’

म्युजिक नेपालसँग गुनासो 
रेडियो नेपालमा ३५ भन्दा धेरै गीत गाए पनि जोशीसँग एउटै मात्र एल्बम छ । त्यही एल्बम पहिलो र अन्तिम बन्यो । म्युजिक नेपालले २०५३ सालमा जोशीलाई आठवटा गीत गाउन लगाएर ‘रिटिङ रिटिङ...’ एल्बम निकाल्यो । यसमा जोशीको शब्द, संगीत र लोचन भट्टराईको स्वरमा आठ गीत समावेश छन् । एल्बम निकाल्न लगाएर म्युजिक नेपालले जोशीलाई भने धोका दियो । ‘एल्बम निकालेको तीन वर्षपछि ४१ रुपैयाँ रोयल्टी दियो । त्यसपछि कति बिक्यो । के भयो थाहा छैन,’ उनी भन्छन् । 

म्युजिक नेपालले उनका चर्चित आठ गीत युट्युबमा हालेको छ । तर, त्यसबापत रोयल्टी भने दिएको छैन । ‘युट्युबमा हालेको रहेछ । मलाई त थाहै छैन,’ उनी भन्छन्, ‘यसरी त स्रष्टा मर्छ नि ! म्युजिक नेपालका सञ्चालकलाई भेट्न खोज्दा भेट दिँदैनन् ।’

चित्रकलामा पनि अब्बल जोशी
लोकगीतमा मात्र होइन, जोशी चित्रकलामा पनि अब्बल छन् । आफैँले बनाएका ‘आर्ट’ले उनको बैठककोठा रंगिएका छन् । ‘पहिला गायन र चित्रकला सँगसँगै गर्थेँ । अहिले त आँखाले भेउ पाउँदैन,’ उनी भन्छन् । उनले तत्कालीन राजा वीरेन्द्रको चित्र बनाएबापत २०२९ सालमा एक हजार ‘बक्सिस’ पनि पाएका थिए । 

एलपी जोशीकाचर्चित गीत
जोशीले ‘वल्लो खोलो पल्लो खोलो...’, ‘खिपीमा खिपी बिनायो बाजा...’, ‘उकाली ज्यानमा...’, ‘कान्छी मट्याङट्याङ...’ लगायत चर्चित गीत गाएका छन् । जोशी २०१९ सालमा भएको राष्ट्रिय लोकगीत प्रतियोगितामा प्रथम पनि भएका थिए । त्यसवेला उनले राजा महेन्द्रबाट स्वर्णपदक पाएका थिए । उनले विभिन्न संघसंस्थाबाट सयौँ सम्मान पनि पाएका छन् । तर, रेडियो नेपालले दिएको ‘सुप्रसिद्ध लोकगायक’को सम्मान उनलाई सबैभन्दा प्रिय लाग्छ । ‘मलाई वरिष्ठ लोकगायक, लोकसम्राट्जस्ता सम्मान दिइयो,’ उनी भन्छन्, ‘लोकगीत यात्राको पहिलो खुट्किलो रेडियो नेपालले दिएको सुप्रसिद्ध लोकगायकको सम्मान खास लाग्छ । यही भनेर बोलाए हुन्थ्यो भन्ने लाग्छ ।’ 

ad
ad