मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १ शुक्रबार ११:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

देशभरका १ सय २५ राष्ट्रिय राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १ शुक्रबार ११:१०:००

मनसुन सुरु भएपछिको १ महिना (३१ जेठदेखि) मा देशका १ सय २५ स्थानमा राजमार्ग अवरुद्ध भएको छ । त्यसमध्ये बिहीबार साँझसम्म ६६ वटा सडक एकतर्फी मात्र सञ्चालनमा आएका छन् । यो कुल अवरुद्ध सडकको ५३ प्रतिशत हो । त्यस्तै, १५ ठाउँमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने ४४ ठाउँमा दुवैतर्फ सुचारु भइरहेको छ । 

मनसुनले सबैभन्दा बढी प्रभावित डुम्रे, बेँसीसहर, चामे, मनाङ सडक योजनाको डुम्रे, बेँसीसहर, चामे सडक अझै सञ्चालनमा आएको छैन । केही ठाउँको बेलीब्रिज बगाएको छ भने धेरै ठाउँमा मर्स्याङ्दी नदीले ट्र्याक नै बगाएको छ । यसकारण तत्काल सुचारु हुने अवस्था नरहेको आयोजनाका इन्जिनियर सुरज महर्जनको भनाइ छ । अहिले केही ठाउँमा सडक सफा गर्ने काम भइरहेको उनले जानकारी दिए । 

त्यस्तै, रसुवास्थित ठोरी, भण्डारा, मलेखु, गल्छी, मैलुङ, रसुवागढी सडकको पनि त्रिशूली खोला, सानो भार्खु खोलामा सडक अवरुद्ध छ । यस क्षेत्रमा बर्सातको समयमा अत्यधिक पहिरो जाने र बनाए पनि पानी पर्नासाथ पुनः सडक अवरुद्ध हुने आयोजनाका इन्जिनियर सन्तराम पाण्डेयले जानकारी दिए । यस सडकको बेत्रावती, धुन्चे, स्याफ्रुबेँसी सडकखण्ड वैकल्पिक मार्ग रहेकाले बर्सातभरि अवरुद्ध हुने गरेको छ । 

अरनिको राजमार्गको सिन्धुपाल्चोक क्षेत्रमा पर्ने विभिन्न ठाउँमा सडक अवरुद्ध छ । गत शनिबार लिपिङमा पुल बगाएपछि अझै सडक अवरुद्ध छ । त्यस्तै, कोदारीस्थित ढुंगा–माटो भरेर यातायात चलाउने प्रयास भइरहेको छ । तर, ९ असारमा आएको पानीले थप पहिरो गएपछि अझै सञ्चालनमा आएको छैन । 

मध्यपहाडी राजमार्गको पर्वतखण्डको नयाँ पुल भन्ने ठाउँमा सडक अवरुद्ध छ । त्यस क्षेत्रमा स्काभेटर स्ट्यान्डबाई राखिएको र पानी पर्न कम भएपछि सुचारु गर्न प्रयास थालिने इन्जिनियर उज्ज्वल शर्माले जानकारी दिए । त्यस्तै, सिद्धार्थ राजमार्गस्थित पाल्पाको अगाहा खोलामा पनि सडक अवरुद्ध भएको सडक डिभिजन पाल्पाले जानकारी दिएको छ ।