
अवैध सन्तानका रूपमा छोरी जन्माएको भन्दै मोरङको रंगेलीमा एक दम्पती परिवारले शिशु अवस्थामै हत्या गरेको खुलेको छ । मोरङ रंगेली नगरपालिका– ५ आँपगाछी टोल बस्ने अरुण मण्डलकी श्रीमती २५ वर्षीया खुश्बु मण्डलले २७ असार बिहान जन्माएकी छोरीलाई श्रीमान्– श्रीमती र श्रीमतीका बाबुआमा चारजना मिलेर कम्बलले छोपेर घाँटी थिचेर हत्या गरेका हुन् ।
गत चैतमा वैदेशिक रोजगारबाट फर्केर आएका श्रीमान् अरुणले जन्मेकी छोरी आफ्नो नभएर अवैध भएको भन्दै आपत्ति जनाएका थिए । विवादलाई समाधान गर्न खुश्बुका आमाबाबुसमेत सबै मिलेर बिहान साढे ११ बजे कम्बलले थिचेर नवजात शिशुको हत्या गरेका हुन् । हत्या गरेको शिशुकाे शवलाई रंगेली– ५ स्थित चाँदनीचोकमा रहेको खुश्बुका बाबुआमाले सञ्चालन गर्दै आएको मदिरा पसलभित्र खाल्डो खनी गाडेका थिए ।
नवजात शिशुको हत्या भएको सूचना पाएपछि रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न आमा २५ वर्षीया खुश्बु मण्डल, श्रीमान् २८ वर्षीय अरुण मण्डल, खुश्बुका बुबा ५० वर्षीय नागेश्वर मण्डल र आमा ४८ वर्षीया उर्मिला मण्डललाई पक्राउ गरेको छ ।
पक्राउ गरेका सबैलाई मोरङ जिल्ला अदालतबाट कर्तव्य ज्यान आरोपमा पाँच दिन म्याद थप गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।