संयुक्त राष्ट्र संघले सन् १९९५ मा आयोजना गरेको महिला सम्मेलन लैंगिक समानताको विश्वभर चलेको आन्दोलनका लागि एक महत्वपूर्ण क्षण थियो । १९९५ को महिला सम्मेलन आयोजना भएको २६ वर्षपछि अघिल्लो साता विश्वभरका नेताहरू ‘जेनेरेसन इक्वालिटी फोरम’को समापन कार्यक्रममा सहभागी हुन पेरिसमा भेला भए । समापन कार्यक्रममा विश्वभर महिला अधिकारका लागि काम गर्ने संगठन तथा नारीवादी आन्दोलनलाई समर्थन जनाइरहेका सरकारी, नागरिक समाज, समाजसेवी र निजी क्षेत्रका नेतृत्व सहभागी थिए ।
संयुक्त राष्ट्र संघको महिला निकायले आयोजना गरेको सम्मेलनका सहआयोजक मेक्सिको र फ्रान्स सरकार थिए । युवा तथा नागरिक समाजले पनि सम्मेलनमा महत्वपूर्ण सहयोग गरे । फोरमको उद्देश्य आगामी कार्ययोजनाको एजेन्डा निर्माण गर्ने थियो । विगत २६ वर्षमा विश्वभर लैंगिक समानताको क्षेत्रमा उल्लेख्य काम भएको थियो । तर, अझै धेरै काम गर्न बाँकी छ ।
यो महत्वपूर्ण क्षणमा क्यानडा र फोर्ड फाउन्डेसन लैंगिक समानताका लागि बृहत्तर सहयोग र स्रोत प्रदान गर्ने अभियानमा सहभागी हुन पाउँदा गर्वित महसुस गरिरहेका छन् । महिला, युवती र यौनिक अल्पसंख्यकले जीवनका विभिन्न मोडमा विभेदको सामना गर्दै आएका छन् । लैंगिक विभेद हाम्रो समयको सबैभन्दा ठूलो असमानता हो ।
कोरोना भाइरसको महामारीमा लैंगिक समानताका लागि सञ्चालन भइरहेका विभिन्न काममा अवरोध पुगेको छ । विभिन्न क्षेत्रमा आर्जन भएका प्रगतिमा पनि धक्का पुगेको देखियो । म्याक्किन्से ग्लोबल इन्स्टिच्युटका अनुसार कोभिडकालमा रोजगारी गुमाउने महिलाको संख्या पुरुषको भन्दा दोब्बर रह्यो । यस अवधिमा महिलाले घरभित्रका बेतलबी काममा जोतिने दर बढ्यो । महामारी नियन्त्रणका लागि लामो समय घरभित्र रहँदा महिला र युवतीमाथि हुने हिंसामा बढोत्तरी देखियो । घरेलु हिंसाको खबर दिने हटलाइन सेवामा यस अवधिमा उल्लेख्य रिपोर्ट भएको थियो ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा महिला अधिकारवादी संगठनले सहायता अनुदानको जम्मा एक प्रतिशत मात्र पाउने गर्छन् । यो स्थिति बदलिनुपर्छ ।
महामारीले सिर्जना गरेका नयाँ चुनौतीका बाबजुद महिला, युवा र यौनिक अल्पसंख्यकले परिवर्तनका लागि संगठित, सक्रिय र निडर दबाब दिइरहे । यथार्थमा सबल र स्वतन्त्र नारीवादी आन्दोलनले महिला समानतालाई मात्र सघाउ पु¥याएको छैन, यसबाट अन्य सामाजिक आन्दोलन पनि लाभान्वित भएका छन् । त्यसैले नारीवादी आन्दोलनलाई सामाजिक न्यायको संघर्षमा सबैभन्दा ठूलो प्रेरक शक्ति मान्न सकिन्छ । विश्वभर नारीवादी आन्दोलन र महिला संगठनहरूले पर्याप्त स्रोत र विश्वास आर्जन गर्न सक्दैनन् । विश्वको प्रगति र कल्याणका लागि लैंगिक समानताको महत्व त स्विकारिन्छ । तर, ओइसिडीको पछिल्लो तथ्यांकअनुसार महिला अधिकारवादी संगठनले सहायता अनुदानको जम्मा एक प्रतिशत मात्र पाउने गर्छन् । यो स्थिति बदलिनुपर्छ ।
बलियो नारीवादी नीति र दिगो, एकीकृत, बहुक्षेत्रीय सहकार्यमार्फत विश्वव्यापी संस्थानले लैंगिक विभेद र अन्यायविरुद्ध लडिरहेका नारीवादी संगठनमाथि लगानी बढाउन सक्छन् । नारीवादी ज्ञान र प्रभाव विस्तार गर्न गरिने सहकार्य रूपान्तरणकारी हुनेछ । हामीले देखिसकेका छौँ, साहसी नारीवादी अभियानले स्थानीय समाधानलाई विश्वव्यापी परिवर्तनका लागि उपयोगी बनाउन सहयोग गर्छ । लैंगिक समानताका लागि हुने संघर्षमा हामी सबैको विशिष्ट भूमिका हुन्छ । नारीवादी विचारहरूको नेतृत्व पछ्याउने हो भने हामीले लैंगिक समानताको सबैभन्दा ठूलो बाधक पितृसत्तात्मक प्रणालीलाई ध्वस्त बनाउन आआफ्नो ठाउँबाट योगदान गर्न सक्छौँ । सरकारी क्षेत्र, समाजसेवा क्षेत्र, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वको पनि यसमा महत्वपूर्ण भूमिका हुन्छ ।
इक्वालिटी फन्ड, लिडिङ फ्रम साउथ, विमेन्स फन्ड्स कोलाबोरटिभजस्ता विद्यमान विभिन्न संयन्त्रले नारीवादी आन्दोलनलाई स्रोत उपलब्ध गराउन सघाइरहेका छन् । यी अग्रसरताले महिला, युवती तथा यौनिक अल्पसंख्यकको आवश्यकता सम्बोधन गर्न काम गरिरहेकालाई पहिचान गर्छ । र, ती स्रोत सीधै सम्बन्धित संस्थासम्म पुगोस् भन्ने प्रत्याभूत गर्ने गर्छ ।
लैंगिक समानताका लागि बन्ने नयाँ साझेदारी र कार्ययोजनाप्रति प्रतिबद्धता जनाउने अहिले उत्कृष्ट समय हो । यो पेरिसमा सम्पन्न भएजस्तो एउटा सम्मेलन मात्र गरेर केही हुँदैन । आगामी दशकसम्म पनि साझेदारी र प्रतिबद्धता दोहो¥याइरहनुपर्छ । हामी सबै मिलेर महिला अधिकार संगठन र नारीवादी आन्दोलनलाई विश्वव्यापी एजेन्डाको केन्द्रमा ल्याउनुपर्छ । त्यसका लागि यो क्षेत्रमा काम गरिरहेका संस्थालाई आवश्यक आर्थिक सहयोग पुर्याउन ध्यान दिनुपर्छ ।
(ट्र्युडो क्यानडाका प्रधानमन्त्री हुन्, वाकर फोर्ड फाउन्डेसनका अध्यक्ष हुन् भने सोवा इक्वालिटी फन्डका बोर्ड उपाध्यक्ष हुन्) सिएनएनबाट