चार सातामा सेयर बजारमा भइरहेको कारोबार रकम ७१ प्रतिशतसम्मले घटेको छ । करिब तीन साताअघि सातागत आधारमा ८१ अर्बसम्म कारोबार भएको बजारमा सातागत कारोबार रकममा ७१ प्रतिशतसम्म गिरावट आएको छ । गत साता कारोबार रकम २३ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो साताको तुलनामा कारोबार रकममा करिब ३२ करोडले कम भएर २३ अर्ब २६ करोड रुपैयाँमा सीमित छ । नेप्से परिसूचक भने सातामा १८ अंकले घटेर २ हजार ८ सय २५ बिन्दुमा आएको छ ।
बजारलाई प्रभाव पार्ने खासै अन्य कारण नभए पनि बजार उच्च बिन्दु आसपास रहनु, हाल बैंकहरूमा तरलता सहज हुन थाले पनि साउनपछि पुनः तरलतामा दबाब पर्ने प्रक्षेपण र हालसम्म बन्द रहेका अन्य क्षेत्रसमेत खुला हुँदै गएकाले बजारमा कारोबार रकम घट्न थालेको विश्लेषण गर्न थालिएको छ । नयाँ लगानीकर्ताले लगानी गर्नुअघि पर्खनु बुद्धिमत्ता हुने देखिन्छ । वार्षिक अन्त्यमा कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुनेक्रम केही सातामै सुरु हुने भएकाले पनि तेस्रो त्रैमासमा कम्पनीहरूको मूल्यांकन गरेर आवश्यकताअनुसार निर्णय लिनु सही हुन्छ ।
लगानीकर्ता तानिरहेका कम्पनी
गत साता सिभिल लघुवित्त कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै करिब ११ प्रतिशतले बढेर १ हजार ६ सय ८० पुगेको छ । नयाँ भएकैले कम्पनी वृद्धिको चरणमा छ र नाफा वृद्धिदर उच्च छ । तेस्रो त्रैमासमा नाफा करिब ३ सय प्रतिशतले बढेर ४ करोड रुपैयाँ पुगेको छ । खराब कर्जाको दर २ प्रतिशतमुनि रहेको कम्पनी यो सूचकको आधारमा तुलनात्मक रूपमा अन्यभन्दा राम्रो देखिएको छ । कम्पनीले ५ वर्षमा औसत ६ प्रतिशत लाभांश दिएको छ ।
कम्पनीको मूल्य भने हालसम्मकै उच्च बिन्दुमा छ । कम्पनीको १ रुपैयाँ आम्दानीलाई लगानीकर्ताले पनि ६१ रुपैयाँसम्म तिरिरहेका छन् । साताभरमा सबैभन्दा धेरै रकमको कारोबार हुनेमा हिमालयन डिस्टिलरी कम्पनी अग्रस्थानमा छ । कम्पनीको १ अर्ब ३१ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको हो । दुई वर्षयता वार्षिक शतप्रतिशत लाभांश दिएको कम्पनीमा लगानीकर्ता झुम्मिएका हुन् । तेस्रो त्रैमासमा अघिल्लो वर्षको तुलनामा करिब ५६ प्रतिशतले कम्पनीको नाफामा समेत वृद्धि भएको छ । १ रुपैयाँ आम्दानीलाई लगानीकर्ताले पनि ५३ रुपैयाँसम्म तिरिरहेका छन् ।
कारोबार संख्याका आधारमा भने निफ्रा र अपर तामाकोसी अग्रस्थानमा छन् । मूल्य ६ सय ३ सम्म पुगेर फर्किएको निफ्रा बजार पुँजीकरणका आधारमा ठूलोमध्येको कम्पनी भएकाले पनि कारोबारका आधारमा प्रायःजसो अग्रस्थानमा पर्ने गर्छ । तेस्रो त्रैमासमा निफ्राको नाफा करिब १ प्रतिशतले मात्र बढेको भए पनि लगानीकर्ता पुरानो मूल्यलाई आधार मानेरै लगानी गरिरहेका देखिन्छन् । हाल कम्पनीको मूल्य ४ सय ९० रुपैयाँ छ । ९ सय रुपैयाँसम्म पुगेको अपर तामाकोसीमा पनि लगानीकर्ता मूल्य हेरेर लगानी बढाइरहेका छन् । हा
ल आयोजनाले उत्पादन थालेपछि कम्पनीले आम्दानी गर्न थाल्ने भएकाले पनि लगानीकर्ता आकर्षित भइरहेका छन् । वार्षिक नोक्सान घटिरहेको भए पनि कम्पनीको सञ्चित नोक्सान ८२ करोड रुपैयाँ छ । २ अर्ब अल्पकालीन र ४० अर्ब दीर्घकालीन कर्जा आयोजनाले लिएको छ । विद्युत् बिक्रीबाट आयोजनाले वार्षिक करिब १० अर्ब रुपैयाँ कमाइ गर्ने अनुमान गरिएको छ ।
हाल प्रवृत्ति बियरिस
गत साताको अन्तिम दिन बढेकोे नेप्सेले ल्याडर बटम बुलिस आकृति बनाएको छ । यो आकृतिमा लगातार तीन दिन कालो मैनबत्ती बनेको छ भने अन्तिम मूल्य अघिल्ला दिनहरूभन्दा तल रहेको छ । चौथो दिन पनि कालो (रातो) मैनबत्ती आकृति बने पनि यसको माथिल्लो धागो लामो र शरीर छोटो छ । पाँचौँ दिन भने सेतो (हरियो) मैनबत्ती बनेर केही माथिसम्म पुगेको छ । यसले बजार बढ्न सक्ने मध्यम संकेत गरिरहेको छ । अन्तिम दिनको सेतो मैनबत्तीको तल्लो धागो लामो भएकाले पनि आगामी दिनमा लगानी निर्णय गर्दा पहिलो दिनको कारोबार हेरेरै गर्नु सही हुन्छ ।
७ दिने मुभिङ रेखालाई काटेर केही दिनअघिदेखि माथि लागेको नेप्सेको २१ दिने रेखाबीच दूरी कायमै छ । अहिले बजार बियरिस नै रहेको संकेत छ । ७ दिने रेखा माथि लागेमा बजार बढ्न थाल्ने विश्लेषण गरिन्छ । त्यसैले यी दुई रेखाबीचको दूरीलाई निरन्तर ध्यान दिनुपर्छ । १४ दिने आरएसआई सूचकले बजार अधिक बिक्रीको अवस्थाबाट सुधार हुन थालेको संकेत गर्छ ।
यो सूचक स्केल ३९ दशमलव ७४ मा छ । स्केल ३० मुनि रहे बजारमा अधिक बिक्री भइरहेको, ३० देखि ७० मा रहे सन्तुलित र ७० माथि रहे अधिक खरिद क्षेत्रमा आएको विश्लेषण गरिन्छ । सातामा २ हजार ८ सय ५७ को बिन्दु छोएर घटेको नेप्सेले पिभट विश्लेषणअनुसार आगामी एक सातामा २ हजार ७ सय ९३ मा पहिलो टेवा रहने र यसले वृद्धिमा सहयोग पुगेमा २ हजार ८ सय ५७ मा पहिलो प्रतिरोध परीक्षण गर्नेछ ।