मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असार २६ शनिबार
  • Sunday, 13 July, 2025
एजेन्सी म्याड्रिड
२o७८ असार २६ शनिबार o८:४o:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्पेन कतार विश्वकपको तयारीमा

Read Time : > 1 मिनेट
एजेन्सी म्याड्रिड
नयाँ पत्रिका म्याड्रिड
२o७८ असार २६ शनिबार o८:४o:oo

प्रशिक्षक लुइस एन्रिकले औसत १८ देखि २४ वर्षका खेलाडी समेटेर युरोकप २०२० का लागि स्पेनिस राष्ट्रिय फुटबल टोलीको घोषणा गर्दा चर्को आलोचना सामना गरेका थिए । स्पेनका प्रमुख मिडियाहरूले प्रशिक्षक एन्रिकको यो टोलीले पहिलो चरणमै लजास्पद हार व्यहोरी घर फर्कने घोषणासमेत नगरेका होइनन् । अनुभवी खेलाडीविना युरोकपको यात्रा थालनी गरेको स्पेनलाई उपाधि दाबेदारका रूपमा हेरिएको थिएन । 

प्रशिक्षक एन्रिकले तत्कालकै कप्तान सर्जियो रामोसलाई नै युरोकपमा समावेश नगर्दा सबै स्तब्ध नै भए । स्पेनिस टोलीकै सर्वाधिक अनुभवी डिफेन्डर रामोसविनाको युरोकप यात्रा जोखिम हुने प्रतिक्रिया आएको थियो । तर, युवा खेलाडीमाथि अति नै विश्वास गरेका प्रशिक्षक एन्रिकको यस टोलीले सेमिफाइनलसम्मको यात्रा गर्‍यो । सेमिफाइनलमा इटालीसँग टाइब्रेकरमा ४–२ ले पराजित हुँदै स्पेन उपाधिको निकै नजिक पुगेर घर फर्कियो ।

अहिले प्रशिक्षक र युवा खेलाडीहरूको प्रशंसा भइरहेको छ । युरोकपमा कल्पनाविपरीत स्पेनको प्रदर्शन भएको प्रतिक्रिया आइरहेका छन् । युरोकपको यात्रा समाप्तिसँगै एन्रिकले अब अर्को वर्ष कतारमा हुने विश्वकपकेन्द्रित योजना बनाएका छन् । यद्यपि, विश्वकप छनोट खेल बाँकी नै छ । यसमा स्पेनले प्रतिस्पर्धा गरिरहेको छ । एक वर्षभित्र युरोकपमा जस्तै विश्वकपमा दमदार प्रदर्शन गर्ने लक्ष्यका साथ एन्रिक अगाडि बढेका छन् । 

उनको मुख्य हतियार नै युवाशक्ति हो । पुरानालाई विस्थापित गरी युवा खेलाडी नयाँ जोसका साथ प्रतिस्पर्धा गर्ने उनको विश्वास छ । बिस्तारै युवा खेलाडीलाई अनभुवी बनाउँदा त्यसको प्रतिफल भविष्यमा राम्रो प्राप्त हुने उनको मान्यता छ । युवा खेलाडीहरूले भविष्यमा धेरै गर्न सक्ने र राष्ट्र, समर्थक तथा आलोचकहरूले पनि साथ दिनुपर्ने एन्रिकले बताएका छन् । 

‘यो एक महिनाको अवधिमा मैले मेरा युवा खेलाडीमा धेरै सकारात्मक पक्ष पाएँ, यद्यपि उनीहरू युवा नै छन्, यिनै खेलाडीले आउँदा दिनमा स्पेनलाई राम्रो नतिजा दिलाउनेछन्,’ खेलाडीमाथि विश्वास गरेका प्रशिक्षक एन्रिकले भने । युरोकपको टोली घोषणा हुँदा एन्रिकले एउटा ठूलो निर्णय लिएका थिए । उनले रियल म्याड्रिडबाट फुटबल खेल्ने एकजना खेलाडी पनि आफ्नो टोलीमा समावेश गरेनन् । पहिलो रियल म्याड्रिड र बार्सिलोनाकै खेलाडीहरूको बाहुल्यता राष्ट्रिय टोलीमा हुने गर्थ्यो। 

‘नयाँ युगको आरम्भ गर्नु छ भने केही नयाँ र जोखिम उठाउनुपर्छ,’ उनले रामोसलाई टोलीमा नराख्नुको कारण देखाए । युरोकपको समूह चरणमा लगातार दुई खेल बराबरी र त्यसपछिका दुवै खेलमा समान ५–० को नतिजा निकाल्दा स्पेन पुरानै लयमा फर्किएको थियो । क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र सेमिफाइनलमा इटालीविरुद्ध खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गरेको प्रशिक्षक एन्रिकले बताएका छन् । 

स्पेनिस पत्रिकासँग कुराकानी गर्दै एन्रिकले भने, ‘दुवै खेलमा युवा खेलाडीले शतप्रतिशत दिएका थिए, तर हामी सेमिफाइनलमा चुक्यौँ ।’ तीन वर्षअघि रसिया विश्वकपमा पहिलो चरणबाटै बाहिरिँदा फुटबल जगत्मा स्पेनको युग समाप्त भनी आलोचना भएको थियो । तर, प्रशिक्षक एन्रिकले यही तीन वर्षको अवधिमा एउटा योजना बुने र स्पेनलाई एक युवाशक्तिका रूपमा युरोकपमा रूपान्तरण गर्न सफल भएका छन् । 

विश्वकप आउन एक वर्ष मात्र रहँदा यसको तयारी गर्नुपर्ने उनको भनाइ छ । ‘मेरो विचारमा हामीले छिट्टै नै विश्वकपको तयारी थाल्नुपर्छ,’ उनले भने, ‘यो अवधिमा धेरै अनुभव प्राप्त गरिसक्छौँ ।’ विश्वकपअन्तर्गत युरोप छनोटमा स्पेन बलियो स्थानमा छ । ‘हामीले हाम्रो शक्ति देखाइरहेका छौँ, अब विश्वकपमा स्पेन बलियो देखिनेछ,’ उनले भने ।