मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ असार २१ सोमबार ०६:४४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चिनियाँ राष्ट्रपति सी शीर्ष नेतासँग अन्तर्क्रिया गर्दै

नेपाली नेताले पठाए शुभकामना सन्देश

Read Time : > 2 मिनेट
२०७८ असार २१ सोमबार ०६:४४:००

मंगलबार हुने जुम 
बैठकमा नेपालसहित दक्षिण एसियाका पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत, अफगानिस्तान, माल्दिभ्सका शीर्ष नेता सहभागी हुने, राष्ट्रपति सी मुख्य वक्ता 

नेपालबाट प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालगायतलाई निमन्त्रणा, नेपालका शीर्ष नेतालाई बैठकमा सम्बोधन गर्न पाँच–पाँच मिनेट समय 

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसहित दक्षिण एसियाका शीर्ष नेताहरूसँग मंगलबार अन्तर्क्रिया गर्न लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्षका अवसरमा राष्ट्रपति सीले पार्टीको महासचिवका हैसियतमा जुम बैठक आयोजना गरेका छन् । 

‘मंगलबार नेपाली समयअनुसार अपराह्न ६ बजे चिनियाँ राष्ट्रपति सीले जुममार्फत बैठक आयोजना गर्नुभएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट बैठकमा नेपालका प्रमुख दलका शीर्ष नेताहरूलाई निमन्त्रणा आएको छ र सबैले निमन्त्रणा स्वीकार गर्नुभएको छ,’ बैठकमा बोलाइएका राप्रपा केन्द्रीय सदस्य शोभित उप्रेतीले नयाँ पत्रिकासँग भने । 

तीन घन्टासम्म चल्ने बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणालगायतलाई सिपिसीले निमन्त्रणा गरेको छ । नेपालका शीर्ष नेतालाई बैठकमा सम्बोधन गर्न पाँच–पाँच मिनेट समय छुट्याएको र बैठकको पूर्वअभ्यास पनि भइसकेको राप्रपा नेता उप्रेतीले जानकारी दिए । 

बैठकमा नेपालसहित दक्षिण एसियाका पाकिस्तान, बंगलादेश, श्रीलंका, भारत, अफगानिस्तान, माल्दिभ्सका शीर्ष नेतालाई बोलाइएको छ । ‘राष्ट्रपति सी मुख्य वक्ता हुनुहुन्छ, उहाँले बोलिसकेपछि बैठकमा शीर्ष नेताहरूले बोल्नुहुने कार्यक्रम छ,’ उप्रेतीले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीले सय वर्षमा गरेको प्रगतिको समीक्षा, सिपिसी र सम्बन्धित मुलुकबीचको सम्बन्ध, राजनीतिक दलहरूसँगको सम्बन्धलगायत विषयमा राष्ट्रपति सीले बोल्नुहुन्छ भन्ने जानकारी आएको छ । नेपालका दलहरूले पनि नेपाल–चीन सम्बन्ध, सिपिसीको सय वर्षमा भएका प्रगतिबाट नेपालले सिक्नुपर्ने पाठका विषयमा सम्बोधन गर्नुहुनेछ ।’ 

यसअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीसँग बढी संवाद गरेको टीका–टिप्पणी भएका वेला सिपिसीले कांग्रेस, जनता समाजवादी पार्टीलगायत शीर्ष नेताहरूलाई एकै ठाउँ राखेर सम्बोधन गर्न खोजेको छ । पछिल्लो समयमा सिपिसीले कांग्रेससँगको सम्बन्धलाई थप महत्व दिएको र राप्रपासँग पनि सम्बन्ध विस्तार गरेको छ । 

सिपिसीलाई नेपाली नेताहरूको सन्देश
सिपिसीको सयौँ स्थापना दिवसभन्दा अघि नै नेपालका शीर्ष नेताहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई शुभकामना सन्देश पठाउँदै चीनको विकासबाट पाठ सिक्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले एकता, ऊर्जा र सिर्जनशीलतालाई प्रयोग गरेर चिनियाँ कम्युनिस्ट पार्टीले मुलुकको रूपान्तरण गर्न सफल भएको बताएका छन् । प्रधानमन्त्री ओलीले निकट छिमेकीका रूपमा नेपाल चीनको आर्थिक विकासको प्रवाहमा मिलेर अघि बढ्न चाहेको पनि बताएका छन् ।

कांग्रेस सभापति देउवाले कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । विगतमा दलाई लामाका प्रतिनिधि भेटेको, एक चीन नीतिको विपक्षमा रहेको आरोप लागेका वेला सभापति देउवाले नेपालमा चीनविरोधी गतिविधि गर्न नदिइने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । 

माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध, नयाँ जनवादी क्रान्ति, गाउँबाट सहर घेराउजस्ता द्वन्द्वकालीन नीति चिनियाँ कम्युनिस्ट पार्टीबाटै अनुशरण गरेको बताएका छन् । प्रचण्डले द्वन्द्वको शान्तिपूर्ण समाधान, अरूको आन्तरिक मामिलामा हस्तक्षेप, वैश्विक समानता र न्यायको चिनियाँ नीतिलाई नेपालसहित विकासशील मुलुकले प्रशंसा गरेको भन्दै शुभकामना सन्देश पठाएका छन् । 

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति सीलाई पठाएको सन्देशमा सिपिसीको नेतृत्वमा चीनले आर्थिक र प्राविधिक क्षेत्रमा गरेको रूपान्तरण आउने पुस्ताका लागि पनि अनुकरणीय हुने बताएका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा मालेका महासचिव सिपी मैनाली, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलगायतले पनि राष्ट्रपति सीलाई शुभकामना पठाएर बधाई दिएका छन् ।