मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
भारत लैजान लोड गरिएको अलैँची । तस्बिर : नयाँ पत्रिका
२०७८ असार १८ शुक्रबार ०७:३९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

बंगलादेशले नेपाली चिया र अलैँचीलाई भन्सार छुट नदिँदा किसान मारमा  

Read Time : > 2 मिनेट
२०७८ असार १८ शुक्रबार ०७:३९:००

बंगलादेश निर्यात नहुँदा चिया र अलैँचीको व्यापारमा भारतको एकाधिकार

बंगलादेशले नेपालमा उत्पादन भएको चिया र अलैँचीमा भन्सार छुट नदिँदा नेपाली किसान मारमा परेका छन् । बंगलादेशले नेपाली अलैँचीलाई उत्पादनको प्रजाति हेरेर ५८ दशमलव ६ प्रतिशतदेखि ८९ दशमलव ३२ प्रतिशतसम्म र चियालाई ८९ दशमलव ३२ प्रतिशत भन्सार शुल्क (कस्टम ड्युटी) लगाउँदै आएको छ । भारतले भने चिया र अलैँचीमा ५ प्रतिशत मात्र वस्तु तथा सेवाको शुल्क (गुड्स एन्ड सर्भिस ट्याक्स) लगाउँछ । चिया र अलैँचीको करमा भने छुट दिएको छ । यो पनि भारतीय व्यापारीले नै तिर्दै आएका छन् ।

तर, महँगो भन्सार शुल्ककै कारण बंगलादेशमा अलैँची र चिया निर्यात गर्न नसकिएको बंगलादेशसँगको व्यापारमा समन्वय गर्दै आएको सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडले जनाएको छ । ‘चिया र अलैँचीको सन्दर्भमा नेपाललाई विभेद नै भएको छ । भुटानलाई छुट दिँदा नेपाललाई कस्टम ड्युटी धेरै परेको छ,’ लिमिटेडका काँकडभिट्टा शाखा व्यवस्थापक लीलाधर सुवेदीले भने, ‘त्यसका कारण हाम्रो नेपाली उत्पादन चिया र अलैँची बंगलादेश जान सकेको छैन । यसबारे हामीले सम्बन्धित निकायलाई जानकारी गराएका छौँ ।’ 

नेपाल दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को सदस्य राष्ट्र हो । साफ्टाको उद्देश्य भन्सार छुटसहित व्यापार भए पनि चिया, अलैँचीलगायत केही नेपाली कृषिजन्य उत्पादनले बंगलादेशमा भन्सार शुल्क छुट पाउन सकेका छैनन् । जसका कारण अलैँची र चियालगायतका कृषि उत्पादनका लागि भारतीय बजारको भर पर्नुपर्ने अवस्था छ । भारतको एकाधिकार हुँदा व्यवसायी मर्कामा परेको अलैँची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्की बताउँछन् ।

बंगलादेशको व्यापारका लागि करिब ४० किलोमिटर भारतीय मार्गको प्रयोग गर्नुपर्छ । ‘नेपाली अलैँची बंगलादेशसम्म लैजान सकिएको छैन । तेस्रो देश लान पनि भारतको कोलकाताको हल्दिया पोर्टबाट समस्या छ । त्यसकारण नगण्य रूपमा तेस्रो देश जान्छ,’ उनले भने, ‘जसका कारण भारतीयको एकाधिकार छ । नेपाली व्यवसायी र कृषक मारमा परेका छौँ ।’ 

बंगलादेश समुद्रले घेरिएको राष्ट्र भएकाले त्यहाँबाट तेस्रो देशमा व्यापारका लागि सहज हुने उनको भनाइ छ । सरकारले बंगलादेशसँग वार्ता गरेर भन्सार शुल्क घटाउन सके बंगलादेशसँगको व्यापारमा सहजता हुने उनले बताए । ‘भन्सार शुल्ककै कारण अरू देशको अलैँचीसँग प्रतिस्पर्धा गर्न सक्दैनौँ । भुटानको अलैँचीलाई भन्सार छुट छ । सरकारस्तरीय सम्झौताबाट मात्र यो सम्भव छ,’ अध्यक्ष कार्कीले भने, ‘हामीले त सरकारलाई पटक–पटक आग्रह गरेका छौँ । तर, सरकारले पहल गरिदिएन । बंगलादेशबाट तेस्रो देशसँगको व्यापारमा पनि सहज हुने थियो । तर, भन्सार धेरै हुँदा हामीले त्यहाँ प्रतिस्पर्धा गर्न सकेनौँ ।’ 

अलैँचीका लागि सबैभन्दा ठूलो व्यापारिक केन्द्र भारत नै रहेको अध्यक्ष कार्कीले बताए । ‘तेस्रो देशमा कार्गो गरेर पठाउनुपर्ने हुन्छ । भाडा महँगो भएका कारण त्यो पनि गाह्रो छ । ठूलो परिणाममा भारत नै जाने हो,’ उनले भने, ‘बंगलादेश धेरै जनसंख्या भएको देश हो । त्यहाँ मुस्लिम समुदायको जनसंख्या धेरै छ । त्यसकारण, त्यहाँ अलैँचीको ठूलो व्यापार हुन्छ । बंगलादेशले भुटान र अन्य सार्क मुलुकलाई दिएको सुविधा नदिनुपर्ने कारण छैन । तर, हाम्रो देशले कूटनीतिक पहल गर्न सकेन । दुई देशको बैठकमा कुरा उठ्छ । तर, सेलाउँछ ।’

सरकारीस्तरबाट पहल नहुँदा बंगलादेशसँग व्यापार गर्न नसकिएको चिया उत्पादक संघका पूर्वअध्यक्ष चण्डीप्रसाद पराजुली बताउँछन् । ‘हामीले त पहल गरेका छौँ । त्यहाँको सचिवले नेपाल सरकारबाट आयो भने हामी भन्सार छुट गर्न तयार छौँ भन्नुहुन्छ,’ उनी भन्छन्, ‘तर, हाम्रो सरकारले पहल गर्न सकेन । जसका कारण हामी व्यवसायी र उत्पादकलाई समस्या भयो ।’ उनका अनुसार नेपालबाट बर्सेनि एक करोड केजी सिटिसी र ३० देखि ४० लाख केजी अर्थोडक्स चिया भारत निकासी हुँदै आएको छ । 

तर, बंगलादेशसहित अन्य देशमा नेपाली चिया र अलैँची निर्यात गर्न नसक्दा भारतको एकाधिकार छ । गत वर्ष करिब दुई महिना भारतले विनाकारण अलैँची र चिया निकासी रोक्दा ‘स्टक’ भएको अलैँची यस वर्षसम्म निर्यात गर्नुपरेको छ । यस्तै, चिया रोकिँदा क्वालिटी बिग्रिएर बजार पाउन मुस्किल हुने पराजुलीले बताए । 

भारतीय बजारको मात्र भर पर्दा गत चैतमा पनि करिब १५ दिन अलैँचीको निकासी ठप्प भएको थियो । कोरोना महामारीले भारतमा लकडाउन हुँदा अलैँचीको निकासी १५ दिनसम्म रोकिएको महासंघले जनाएको छ । 

पूर्वी नाका काँकडभिट्टा भएर निकासी हुने कुल नेपाली उत्पादनको ५४ प्रतिशत अलैँचीले ओगट्दै आएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिए । यस्तै, कुल निर्यातको २६ प्रतिशत चिया रहेको उनले बताए ।