मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १५ मंगलबार
  • Saturday, 23 November, 2024
डा. केशव शर्मा/डा. सरोज कार्की
२o७८ असार १५ मंगलबार १o:३३:oo
Read Time : > 9 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

मेलम्ची विपदकाे अन्तर्य र शिक्षा

Read Time : > 9 मिनेट
डा. केशव शर्मा/डा. सरोज कार्की
नयाँ पत्रिका
२o७८ असार १५ मंगलबार १o:३३:oo

पहिरो र भूक्षयबाट बगेका गेग्रानको असर बहुआयामिक छ, उच्च गेग्रानले नजिकैका बस्ती, जमिनका साथै तराईकै खेतीयोग्य जमिन बगरमा परिणत गर्न सक्छ

पृष्ठभूमि : मनसुनको आगमनसँगै अत्यधिक वर्षा भएर उत्पन्न हुने बाढी, पहिरोजन्य प्रकोप एकहदसम्म सामान्य र नियमित प्रक्रिया हुन् । पछिल्ला केही वर्षयता साधारण–मध्यम वर्षा हुँदासमेत यस्ता प्रकोप उत्पन्न हुनुले भने जल र जमिनबीच प्राकृतिक सन्तुलनमा खलल पुगेको अनुमान लगाउन सकिन्छ । यो असन्तुलनमा जमिन र भूगोल नसुहाउँदो मानवीय क्रियाकलापसँगै प्राकृतिक कारण पनि दोषी हुन सक्छन् । केही वर्षको तथ्यांक केलाउने हो भने प्रकोपका घटना मात्रै बढेका छैनन्, तिनले गराएका मानवीय र भौतिक क्षतिमा झनै वृद्धि भएको छ । नेपालमा हरेक वर्ष मनसुनको प्रवेशसँगै पहिरोले राजमार्ग अवरुद्ध, घरहरू, अझै बस्ती नै पुरिएका समाचार आउनु सामान्य भइसक्यो । पहिरोका विभिन्न रूप तथा प्रकार जस्तै– लेदो माटो बग्ने (भेल), पहाड नै बिस्तारै बग्ने, चट्टान वा माटो खस्ने आदि भए तापनि सामान्यतः यी सबैलाई पहिरो नै भनिन्छ ।

यस वर्ष मनसुनको सुरुवातसँगै सिन्धुपाल्चोकको मेलम्ची नदीमा असार १ गते आएको लेदो माटो (भेल)सहितको बाढीले मेलम्ची बजारको तल्लो भाग बगरमा परिणत गरिदिएको छ । उच्च गेग्रानसहितको बाढीका कारण इन्द्रावती र मेलम्ची नदीले आफ्नो धार पनि परिवर्तन गरेको छ । तर, भू–उपग्रहीय र जल तथा मौसम विज्ञान विभागबाट प्राप्त वर्षा मापन हेर्दा मेलम्चीको जलाधार क्षेत्रमा बाढीपूर्व उच्च वर्षा भएको देखिँदैन । सामान्य वर्षामै नदीमा उच्च परिमाणमा गेग्रान आएर धेरै क्षति भएकाले मेलम्चीको यो विपद््लाई विशेष रूपमा हेरिनुपर्छ । के कारणले यत्रो मात्रामा गेग्रान आयो, अध्ययन तथा बहस भइरहेको छ । लेखमा विभिन्न कोणबाट मेलम्चीको भेल– बाढीको सम्भावित कारण र यस्ता विपद्बाट हुने जोखिमलाई न्यूनीकरण गर्न के–के गर्न सकिन्छ भन्ने विषयमा चर्चाको प्रयास गरिएको छ ।

मेलम्ची बजार र गेग्रानको थुप्रो : नेपालमा पछिल्ला केही वर्षमा आएका गेग्रानसहितका भेल–पहिरोको विश्लेषण गर्दा कुनै न कुनै किसिमले इन्जिनियरिङ सिद्धान्तविपरीत जथाभावी खनिएका सडक मूल कारक देखिन्छन् । नदीको बहाव क्षेत्र अतिक्रमण गरी बसेका बस्तीहरू उच्च जोखिममा देखिन्छन् । अहिले मेलम्चीमा आए जस्तै विपद् नेपालका अन्य भू–भागमा दोहोरिन सक्छन् । उदाहरणका लागि कालीगण्डकीको तीरमा अवस्थित म्याग्दीको बेनी बजारलाई लिन सकिन्छ । सदियौँदेखि रहिआएको प्रकृति र मानवबीचको गतिशील सन्तुलन र सम्बन्धमा हाम्रा क्रियाकलाप बाधक बनिरहेका छन् । भनिन्छ, प्रकृतिले मानवको सम्पूर्ण आवश्यकता पूरा गर्न सक्छ, तर तिनको लोभको सक्दैन । मेलम्चीको हकमा त्यहाँ जम्मा भएको गेग्रानको परिमाण तथा प्रकार र लामो समयसम्म बगिरहेको सेतो पानीको भेल आदिको प्रारम्भिक विश्लेषण गर्दा सिरानतिर अव्यवस्थित सडक निर्माण तथा नदी क्षेत्र अतिक्रमण विपद्को प्रमुख कारण हो भन्ने आधार देखिएको छैन ।

०७२ को भूकम्पपश्चात् सरकार, दातृराष्ट्र तथा गैरसरकारी संस्थाहरूको मुख्य ध्यान निजी घर पुनर्निर्माणमा मात्र केन्द्रित भयो । भूकम्पले गर्दा भू–बनोटमा आएको परिवर्तनले गर्दा हुन सक्ने दीर्घकालीन असरलाई नजरअन्दाज गरियो । मेलम्ची घटनालाई सामान्य र नियमित प्रकोपको रूपमा लिने गल्ती गर्नुहुन्न । 
 

अहिलेसम्ममा मेलम्चीको जलाधार क्षेत्रमा ठूलो हिमताल जोखिममा रहेको पनि कुनै अध्ययनले देखाएको छैन । त्यसैले हिमताल फुटेर मेलम्चीमा बाढी आउन सक्ने सम्भावना न्यून देखिन्छ । यद्यपि, मेलम्चीको बाढीले बगाएर ल्याएको गेग्रानमा हिमतालको पिँधमा हुने जस्तो सामग्री र हिमनदी वा चट्टानको पिढो भनिने मसिनो माटो पानीमा मिसिएको देखिन्छ । हिउँले पुरिएका चट्टान खिइँदा वा हिमनदी चट्टानमाथि बग्ने क्रममा हिमनदी वा चट्टानको पिढो बन्ने गर्छ । यसैले मेलम्ची जलाधारको माथिल्लो भागमै पहिरो गएर नदी थुनिएर केही समय बसेको र पहिरोबाट बनेको बाँध फुटेर नदी ठूलो शक्तिका साथ तल झरेको अनुमान गर्न सकिन्छ । यस्ता पहिरोबाट माथिल्लो भेगमा धेरै स्थानमा बाँध बनेको सम्भावना पनि देखिन्छ । मेलम्ची बजारभन्दा करिब ३० किलोमिटर माथिको नकोटे बहाव मापन केन्द्रको जलसतह एक्कासि घट्नु अनि करिब ४५ मिनेटपछि फेरि ह्वात्तै बढ्नुले उपल्लो भेगमा पहिरोनिर्मित बाँधले पानी थुनेको र पछि फुटेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

मेलम्ची खोलाको जलाधारको क्षेत्रफल ३२४ वर्ग किलोमिटर छ, जुन उत्तरी हिमालको पाँच हजार ८०३ मिटर उचाइबाट सुरु भई मेलम्ची बजारसम्म पुग्दा ८०३ मिटरमा झर्छ । ४० किलोमिटर कुल लम्बाइको मेलम्ची खोला अत्यन्तै भिरालोपन भएको ठाडो खोलामध्येमा पर्छ, जसमा प्रत्येक आठ मिटर लम्बाइमा एक मिटर उचाइ घट्छ । नदीले बगाउन सक्ने गेग्रानको मात्रा र पानीको बहावको गति नदीको भिरालोपनमै भर पर्छ । पानी र गेग्रान मिसिएर बनेको लेदो उच्च गति तथा काफी मात्रामा आउनुले मेलम्चीमा अत्यधिक क्षतिको प्राकृतिक कारण नदीको भिरालोपन पनि हो भन्ने देखिन्छ । पानीको र लेदो मिसिएको पानीको (डेब्री फ्लो) बहाव फरक प्रकृतिको हुन्छ ।

अर्को प्राकृतिक पक्ष भनेको इन्द्रावती र मेलम्चीको दोभान र त्यस ठाउँमा खोलाले बनाएको नागबेली आकार (मियान्डरिङ च्यानल) पनि हो । दुई नदी मिसिने दोभानमा बहावको प्रक्रिया र चरित्र सामान्यभन्दा जटिल हुन्छ र तिनले उच्च बहावको वेला एक–अर्कालाई प्रभाव पार्न सक्छन् । नदी विज्ञानको सिद्धान्तअनुसार सामन्यतया नागबेली आकारको खोलाले बाहिरी वक्र (बाहिरी किनार) तर्फ बढी कटान गर्छ भने खोलाको भित्री वक्र÷किनार (मेलम्ची बजार)तर्फ गेग्रान थुपार्छ । मेलम्ची बजार बसेको स्थान पनि लामो समयसम्म नदीको यही प्रक्रियाबाट गेग्रान थुपारेर विकास भएको हो । मेलम्ची बजारका घरहरू एकदेखि दुई तलासम्म गेग्रानले पुर्नुले पनि नागबेली नदीको यही चरित्रको पुष्टि गर्छ । मेलम्ची बजारका नदी–किनारका मैदानमा रहेका धेरै घर नदीको यो चरित्रलाई बेवास्ता गरी निर्माण भएका छन् । मेलम्ची घटनाको कारक तŒव प्राकृतिक पहिरो भए पनि त्यसबाट निम्तिएको क्षतिचाहिँ तल्लो तटीय क्षेत्रको अप्राकृतिक मानवीय क्रियाकलापकै परिणाम हो ।

भूकम्प र पहिरो : मेलम्चीको जलाधार क्षेत्रको उपल्लो भेगमा साधारण वर्षा हुँदा पनि पहिरो कसरी गयो र त्यो परिमाणमा आएका गेग्रानको स्रोत के हुन सक्छन्, त्यसबारे चर्चा गरौँ । जसरी एकचोटि भाँच्चिएको वा मड्किएको हड्डी पछिसम्म बल्झिरहन सक्छ, त्यसैगरी भूकम्पले खल्बलिएको भूभागले धेरै पछिसम्म दुःख दिने गर्छ । हाम्रो जस्तो कलिलो, कमजोर, टेक्टोनिक (भूकम्पीय) हिसाबले चलायमान र धेरै भिरालो भूभागमा पहिरो जाने तथा भूक्षयको सम्भावना अत्यधिक हुन्छ । ०७२ सालको भूकम्प र परकम्पको कारणले सिन्धुपाल्चोकलगायतका जिल्लामा तीन हजारभन्दा बढी देखिने पहिरो जानुका साथै दशौँ हजार ठाउँमा जमिन चिरा परेको विभिन्न अध्ययनले देखाएको थियो ।

त्योसँगै पर्वतश्रेणीहरूमा बाहिर नदेखिने गरी ठूलो संख्यामा चिरा परेको, पहिरो सुरु भएको, पहाडको माथिबाट ढुंगा–माटो झरेर बीचतिर अड्केर बसेको वा ढुंगा–माटो खोँचमा जम्मा भएको अध्ययनहरूले देखाएका थिए । भू–उपग्रहका तस्बिरहरूमा पनि यी प्रस्टै देखिन्छन् । सिन्धुपाल्चोक ०७२ सालको भूकम्पले ठूलो असर पारेको क्षेत्र हो । विशेष गरी ०७२ वैशाख २९ गते कोदारी क्षेत्र केन्द्रबिन्दु भएर गएको ठूलो परकम्पले यो क्षेत्रमा ठूलो असर पारेको थियो । मेलम्चीबाट करिब २५ किमि उत्तरतिर रहेको नकोटेमा र घ्याङमाबाट करिब पाँच सय मिटर उत्तरतर्फ केही पहिरो गएको भिडियो र फोटोहरूमा देखिन्छ, तर ती फोटो तथा भिडियोबाट अनुमान गरिएको पहिरोको आकार र त्यहाँ रहेको माटोको प्रकार हेर्दा ती पहिरोहरूले मात्र मेलम्चीमा यत्तिको मात्रामा गेग्रान र हिमतालमा थिग्रिएको प्रकारको माटो ल्यायो भन्ने आधार देखिँदैन ।

मुख्य पहिरो अझ धेरै माथि गएको हुन सक्छ या अन्य स–साना चिरा÷खोल्सीबाट जम्मा भएर धेरै भएको हुन सक्छ । सामाजिक सञ्जालमा आएका केही तस्बिर हेर्दा भ्रमथांग क्षेत्रमा पहिरो गएको देखिन्छ । यस क्षेत्रमा जंगल छ, कुनै पनि सडकलगायातका अन्य मानवीय अतिक्रमण देखिदैनन् । त्यसले त्यहाँ गएको पहिरोको सुरुवात ०७२ सालको भूकम्प हो भन्ने आधार छ । यद्यपि, अन्य प्राकृतिक कारणहरूले पनि पहिरो गएको हुन सक्छ । 

भूकम्पीय जोखिम, भू–बनोट तथा भिरालोपन, मानव बस्तीको विकास जस्ता धेरै आधारमा हाम्रो अहिलेको परिस्थितिलाई ताइवानको चि–ची भूकम्प (१९९९), कास्मिर भूकम्प (२००५) पाकिस्तान र वेन्चुवान भूकम्प (२००८), चीनको सिचुवान र लुसान भूकम्प (२०१३) सँग जोडेर हेर्न सकिन्छ । चि–ची भूकम्पपछिका केही वर्षसम्म वर्षात्को समयमा गएको ठूला पहिरो र भूक्षयले त्यहाँका नदीमा गेग्रान थुप्रिएर नदी सतह चारदेखि आठ मिटरसम्म उकासिन गई धेरै पुल तथा नदीआसपासका संरचनाहरू काम नलाग्ने भएका थिए । ००६ को मनसुनमा भूक्षयको कारण नदीमा ग्रेगान जम्मा भई नदीको सतह धेरै उकासिएको थियो र ४–६ मिटरसम्म गेग्रान जम्मा भई बेँसीका बस्तीहरू नै पुरिएका थिए ।

कास्मिरमा भूकम्पको कारणले गएका पहिरोले नदीको बहाव रोकिन गई हात्तीवानवालामा ठूलो ताल बन्न पुगेको थियो । पहिरोले नदी थुनिएर बनेको उक्त ताल करिब पाँच वर्षपछि सुक्खा समयमा (२०१० फेबु्रअरी) सामान्य वर्षामै फुट्न गई तल्लो तटीय क्षेत्रमा ठूलो क्षति गराएको थियो । वेन्चुवान भूकम्प (२००८) पछिको पाँच वर्षमा दुई हजारभन्दा बढी पहिरो गए । पहिरो तथा भूक्षयका कारणले मियानयुआन नदीमा मात्रै करिब ४० करोड घनमिटर गेग्रान जम्मा भयो । बेइचुआन, चिङपिङ, मिआन्जुजस्ता धेरै सहर तथा बस्ती पुरिए । लगातार दुई दिन परेको वर्षाका कारण बेइचुवान भन्ने पुरानो सहरमा १०–१२ मिटर गेग्रान थुप्रिन गई पूरा सहर नै पुरिएको थियो । २००८ को सिचुवान भूकम्पपछि गरिएको अनुसन्धानले भूकम्पपछिको कम्तीमा ५–६ वर्षमा उल्लेखनीय मात्रामा पहिरोहरू जाने, लेदोसहित गेग्रानहरू बग्ने प्रक्रिया हुने देखाएको छ । भूकम्पपछि बीसौँ वर्षसम्म पनि भूकम्पबाट प्रभावित क्षेत्रहरूमा पहिरोको जोखिम उत्तिकै रहने अध्ययनहरूले देखाउँछन् ।

भूकम्पपश्चात् ६ वर्षसम्म नगएको पहिरो वा नआएको लेदो तथा गेग्रानसहितको बाढी अहिले कसरी आयो भन्ने प्रश्नका साथै कौतूहल पनि छ । ०७२ सालको भूकम्पले जमिनमा चिराचिरा पारेको हामी सबैले देखेकै हो । बर्सेनि ती चिराहरूबाट पानी जमिनभित्र पसेर चिरा अझै तलसम्म गहिरिने र त्यहाँको माटो तथा चट्टानलाई अझ कमजोर बनाउने गर्छ । यसरी भित्रभित्रै कमजोर भइरहेको जमिनमा सामान्य पानी पर्दा पनि पहिरो जाने र गेग्रानसहितको बाढी आउने सम्भावना हुन्छ । गत वर्ष ठूलो क्षति गराएको सिन्धुपाल्चोककै लिदी पहिरो गएको स्थानआसपास पनि जमिन यसै प्रकृतिले चिरा–चिरा परेको देखिएको थियो ।

भू–उपयोग, भवन निर्माण मापदण्ड, नदी किनारको उपयोग आदिका विषयमा कडा नीति नलिए भोलिका दिनमा हामीसँग केवल बगर बाँकी रहने दिन नआउला भन्न सकिन्न । पहाडको टुप्पोमा भएको जोखिमलाई तल फेदमा उपचार गरेर समाधान हुँदैन ।
 

भूकम्पको वेला परेका चिराहरू बिस्तारै केही वर्षमा पहिरोको रूपमा परिणत हुने पाकिस्तान, ताइवान र चीनलगायत अन्य देशहरूको अनुभव र अध्ययनले देखाउँछ । चिची भूकम्प, कास्मिर भूकम्प, सिचुवान भूकम्पलगायत अन्य भूकम्प गएका स्थानहरूको अध्ययनअनुसार भूकम्प गएका भिराला क्षेत्रहरूमा बाहिर कुनै चिराहरू नदेखिए पनि भित्री भागमा चिराहरू परेको हुन सक्छ । त्यसरी चिरा परेको भागले ढिलोचाँडो पहिरोको रूप लिने गर्छ र यस्तो क्षेत्र स्थिर हुन कैयौँ वर्ष लाग्छ । माथि उल्लेखित सबै क्षेत्रमा आजसम्म पनि भूकम्पले गरेको भू–बनोटको परिवर्तनको असर उत्तिकै देखिन्छ । तर, मनसुन भर्खर सुरु भएकाले मेलम्चीको विपद् लामो समयसम्मको वर्षाले जमिन गलाएर गएको पहिरोको कारण पनि होइन भन्ने प्रस्टै छ । 

एक जर्नलमा प्रकाशित अध्ययनअनुसार सामान्य अवस्थामा जति पानी पर्दा पहिरो जान सक्छ, भूकम्पले थर्काएको क्षेत्रमा त्यसको २५ प्रतिशत कम पानी पर्दा नै पहिरो जाने सम्भावना हुन्छ । यसको अर्थ, भूकम्पले थर्काएको क्षेत्रमा कम पानी पर्दा पनि पहिरो र यसले निम्त्याउने अन्य जोखिम उच्च हुन्छ । नेचुरल हाजार्ड जर्नलमा प्रकाशित एक लेखअनुसार भूकम्पको कारण जाने भेल–बाढीको एउटा चक्र हुन्छ, जस्तै– पानी परेर जमिनमा पानी बग्ने, पहिरो जाने वा भूक्षयीकरण हुने, पहिरो वा भूक्षयीकरणबाट जम्मा भएको सामग्री बाँधजस्तो बन्ने र माथिल्लो भागमा तालजस्तो बन्ने, बिस्तारै उक्त ताल फुटेर उच्च गतिमा पानी बगेर नदी भुइँ वा किनारालाई खोस्रँदै अझ धेरै गेग्रान बगाउने, फेरि कतै पानी रोकिएर ताल बन्ने र फेरि फुट्ने र ठूलो मात्रा गेग्रानलाई तल पुर्‍याउने हुन्छ ।

मेलम्चीको विपद् र अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषण हेर्दा मेलम्ची नदीमा माथि उल्लेखित चक्र भएको हुन सक्ने देखिन्छ । त्यही अध्ययनले भूकम्प प्रभावित क्षेत्रमा जाने गेग्रानसहितको भेल लामो समयसम्म जाने देखाएको थियो, जुन मेलम्चीको विपद्सँग मिल्दोजुल्दो छ । भूकम्पपछिको पहिरो र यसबाट आउने गेग्रान अन्य अवस्थामा आउने गेग्रानभन्दा धेरै बढी हुन्छ भन्ने पनि अध्ययन र पहिलेका घटनाहरूले देखाउँछन्, जुन मेलम्चीको सन्दर्भसँग धेरै हदसम्म मिल्छ । 

जोखिम न्यूनीकरण र व्यवस्थापन : ०७२ को भूकम्पपश्चात् सरकार, दातृराष्ट्र तथा गैरसरकारी संस्थाहरूको मुख्य ध्यान निजी घर पुनर्निर्माणमा मात्र केन्द्रित भयो । भूकम्पले गर्दा भू–बनोटमा आएको परिवर्तनले गर्दा हुन सक्ने दीर्घकालीन असरलाई नजरअन्दाज गरियो । मेलम्ची घटनालाई सामान्य र नियमित प्रकोपको रूपमा लिने गल्ती गर्नुहुन्न । यो विपद् बहुआयामिक पक्ष र तिनको मिश्रित नतिजाले सिर्जना भएको हो । यस घटनाबाट पाठ लिने हो भने जोखिम व्यवस्थापनको विषयलाई सामान्य पूर्वतयारी, प्रतिकार्य र पुनस्र्थापनाको दृष्टिकोणले मात्र हेरेर अब पुग्दैन । हाम्रो पहाडी भूगोलमा जुन संख्यामा प्रकोपका घटना र क्षति भइरहेका छन्, त्यसले अबको बहस नयाँ कोणबाट गरिनुपर्ने आवश्यकता देखिन्छ । जनधनको क्षति कम गर्न लामो समयसम्म अस्थिर र चलायमान पहिरो भएका क्षेत्रका जोखिमयुक्त बस्तीहरूको व्यवस्थित स्थानान्तरण गर्ने रणनीति लिनुपर्ने देखिन्छ । हाम्रा पहाड प्राकृतिक रूपमै अस्थिर र कमजोर छन् भन्ने बुझ्दाबुझ्दै त्यसलाई स्थिर बनाउन प्रयास गर्नुको साटो उल्टै हाम्रा क्रियाकलापहरूले अस्थिरतातर्फ धकेल्दै छन् । के हाम्रा पहाडहरू हामीले बस्न अयोग्य नै बनाइसकेका हौँ ? प्रश्न उब्जिएको छ । अहिलेको उच्च प्रविधिको युगमा भन्दा बरु ढुंगेयुगमा हाम्रा पुर्खाले भूगोलसुहाउँदो बस्ती विकास, खेतीपातीलगायतको भू–उपयोग अनुसरण गरेका थिए । पहाडलाई सहरमा परिणत गर्दाको मूल्य अहिले चुकाइरहेका छौँ । 

भू–उपयोग, भवन निर्माण मापदण्ड, नदी किनारको उपयोग आदि विषयमा कडा नीति नलिए भोलिका दिनमा हामीसँग केवल बगर बाँकी रहने दिन नआउला भन्न सकिन्न । पहाडको टुप्पोमा भएको जोखिमलाई तल फेदमा उपचार गरेर समाधान हुँदैन । हामी क्षति न्यूनीकरण गर्नतिर मात्र लाग्छौँ, क्षतिको कारकचाहिँ न्यूनीकरण गर्न ध्यान दिँदैनौँ । यस्ता घटनाले हाम्रो जलस्रोत विकासमा समेत चुनौती थपेको छ । वर्षौंको लगानी र परिश्रम खर्च गरेर निर्माण गरिने जलस्रोत विकास आयोजनाहरूलाई एउटा प्रकोपले तहसनहस पार्दा राज्यलाई ठूलो असर पर्न जान्छ । पहिरोलाई केन्द्रमा राखेर अध्ययन, अनुसन्धान तथा न्यूनीकरणको काम गर्ने निकाय स्थापना गर्न जरुरी छ । नदीजन्य प्रकोप र यसको व्यवस्थापनका लागि नदी अध्ययन केन्द्रसमेत स्थापना हुन आवश्यक छ । जबकि, जल उत्पन्न प्रकोप व्यवस्थापनमा काम गर्ने जल उत्पन्न प्रकोप व्यवस्थापन विभागसमेत खारेज गरिसकेका छौँ । प्रदेशस्तरमा त अझ पहिरो तथा नदी प्रकोप व्यवस्थापन प्राथमिकतामै पर्दैन । जुन क्षेत्रमा राज्यको उचित पहल नै छैन, त्यसमा प्रतिफलको आशा गरेर हुन्छ ? वर्षभरिचाहिँ प्रयास नगर्ने अनि बर्खामा क्षति भएपछि टाउकामा हात लगाउनेबाहेक हामीले के गर्न सकेका छौँ र ? नेपालको परिवेशमा पहिरो र भूक्षयका कारण पहाडबाट बगेको गेग्रानको असर बहुआयामिक छ ।

उच्च गेग्रानले नजिकैको बस्ती, खेतीयोग्य जमिन पुर्ने सम्भावना त छँदैछ, साथै भेलले गेग्रान बगाई भूकम्पको कुनै असर नपरेका फाँटदेखि तराईसम्मकै धेरै खेतीयोग्य जमिन बगरमा परिणत बन्न सक्छन् । हाम्रो जस्तो देशमा पहिरो तथा भूक्षयको रोकथाम गर्न सहज र सजिलो अवश्य पनि छैन । त्यसकारण जोखिमको स्तर र पार्ने प्रभावका आधारमा जोखिमलाई वर्गीकरण गरी बढी प्रभाव पार्ने ठाउँमा तत्काल जोखिम घटाउन के गर्न सकिन्छ भन्नेतर्फ लाग्नु उपयुक्त हुन्छ । वर्षामा पर्न सक्ने पानीको मात्रा, भिरालोपन, धाँजाहरूको गहिराइ, लम्बाइ तथा क्षेत्रफल, त्यहाँको माटो तथा चट्टानको प्रकार, रूख तथा साना वनस्पतिहरूको घनत्व, आसपास रहेका बस्ती तथा विकासका संरचनालगायतलाई ध्यानमा राखी जोखिमलाई वर्गीकरण गर्न सकिन्छ । धेरै स्थानमा वर्षाको पानी बढ्दै जाँदा जोखिम बढ्ने हुन्छ त्यसकारण त्यस्ता स्थानमा वर्षे पानीलाई कटाएर, चर्केका जमिनमा अग्लो स्थानबाट बगेर आउने भेललाई माथि नै कुलो खनेर तर्काउन सकिन्छ । भिरालो ठाउँमा बग्ने भेलको गतिलाई कम गर्न स्थानीय सामग्रीहरू जस्तै– बाँस, स्याउला प्रयोग गरेर चेक ड्याम (गति अवरोधक) बनाउन सकिन्छ ।

अहिलेका ड्रोनजस्ता प्रविधिको उपयोग मेलम्चीजस्ता नदीका जलाधार क्षेत्रहरूको पहिरोको नक्सांकनमा गर्न सकिन्छ । सम्भावित जोखिम क्षेत्रका विभिन्न स्याटलाइट तस्बिरहरूको अध्ययन गरेर पनि पहिरोको सम्भावित क्षेत्रको पहिचान गर्न सकिन्छ । सम्भावित क्षेत्रको पहिचान गरेपछि विभिन्न अनुभवजन्य सूत्र वा तथ्यांकको प्रयोग गरेर उक्त स्थानमा पहिरो गयो भने तल्लो क्षेत्रमा कतिसम्म असर गर्छ भन्ने अनुमान गर्न सकिन्छ । अहिले संसारमा भूविज्ञान र भूगर्भ इन्जिनियरिङमा जमिनको चलायमान नाप्न थुप्रै सेन्सरहरू प्रयोग हुन्छन्, ती सस्तो पनि बन्दै गइरहेका छन् । त्यस्ता सेन्सरहरू दुर्गम स्थानमा जडान गरेर सुगम स्थानमै बसेर त्यसलाई नियमन गर्न र त्यसबाट आएका तथ्यांकलाई अध्ययन गर्न सकिन्छ । यस्ता सेन्सरबाट आएका तथ्यांकको आधारमा पूर्वसूचना जारी गर्न सकिन्छ ।

अन्त्यमा, भूकम्पले गर्दा हुने दीर्घकालीन असरलाई नजरअन्दाज गर्दा भोलिका दिनमा पुनर्निर्माण र विकासका योजनाहरू पूर्ण रूपले असफल हुने खतरा छ । त्यसकारण विज्ञहरूको टोली खटाई सूक्ष्म अध्ययन गरी क्षति न्यूनीकरण गर्न के गर्न सकिन्छ, ती उपायहरू तुरुन्त अवलम्बन गर्न सके ठूलो जोखिमबाट बच्न सकिन्छ ।