
क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्पेनमा नेपालले खेल्ने गरी तय भएको शृंखला स्थगित भएको छ । शृंखलामा सहभागी हुनेमध्येको एक टोली नामिबियामा कोरोना (कोभिड– १९) महामारीको बढ्दो संक्रमणाका कारण शृंखला स्थगित गर्नुपरेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले जनाएको छ ।
नेपाल, नामिबिया र स्कटल्यान्डले प्रतिस्पर्धा गर्ने उक्त शृंखला अर्काे महिना आयोजना हुने तय भएको थियो । नामिबियाले आयोजना गर्ने तय भएको उक्त शृंखला कोरोना भाइरसकै कारण संक्रमण नियन्त्रणमा देखिएको र न्युट्रल भेन्युको रूपमा स्पेनमा सारिएको थियो ।
यद्यपि, संक्रमण बढ्न थालेपछि नामिबियाले प्रतियोगिताको तयारी नै गर्न नपाएको भन्दै आइसिसीले शृंखला एक वर्षपछि सारेको हो । आइसिसीले उक्त शृंखला आगामी २०२२ को जुलाईसम्मका लागि स्थगित भएको आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।
आइसिसीका इभेन्ट प्रमुख क्रिस टेटले भनेका छन्, ‘हामीले शृंखला आयोजना गराउनका लागि धेरै प्रयास गरेका थियौँ । तर, नामिबियामा बढ्दो भाइरस संक्रमणका कारण धेरै कडाइ गरिएकोले हामीसँग प्रतियोगिता स्थगित गर्नुको विकल्प भएन ।’
आइसिसीको निर्णयपछि नेपाल क्रिकेट संघ (क्यान)ले पनि विज्ञप्तिमार्फत शृंखला स्थगित भएको जनाएको छ । नेपालले सो शृंखलाका लागि २० खेलाडीलाई सहभागी गराएर बन्द प्रशिक्षण सुरु गरिसकेको थियो । शृंखला नै स्थगित भएपछि नेपाली टोलीको बन्द प्रशिक्षण पनि स्थगित हुने क्यान स्रोतले जनाएको छ ।