
पाँच विद्यार्थी संगठनले ओली सरकारविरुद्ध संयुक्त प्रदर्शन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैटौँका अध्यक्ष विमल पोखरेलले प्रेस विज्ञप्ति जारी गरी उपत्यकाको प्रदर्शनीमार्गमा बिहीबार संयुक्त विरोध प्रदर्शन गर्ने जनाएका छन् ।
सामाजिक दूरी र स्वास्थ्य मापदण्डभित्र रही प्रदर्शन हुने उनीहरूले बताएका छन् । उपत्यकाबाहिरसमेत पाँच विद्यार्थी संगठनका तर्फबाट देशभर संयुक्त विरोध प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ ।
सरकारले कोरोना कहरले आक्रान्त भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को गर्दै राष्ट्रघात, कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेको विद्यार्थी संगठनहरूको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको अत्यन्तै ठूलो त्याग, बलिदान र समर्पणको जगमा प्राप्त लोकतान्त्रिक गणतन्त्र, विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री केपी ओली निरन्तर उद्यत रहेको सर्वविदितै छ । प्रधानमन्त्री ओलीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यवाट च्यूत भएर संवैधानिक राष्ट्रपतिसमेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण बनेको छ । संविधानको चीरहरण गरेर दोस्रोपटक प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रान्त भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को गर्दै राष्ट्रघात, कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेको छ ।’