१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ असार ७ सोमबार १८:२५:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोरोना संक्रमण घटेपछि सेती प्रादेशिक अस्पतालमा ओपिडी सेवा सुरु

Read Time : > 1 मिनेट
२०७८ असार ७ सोमबार १८:२५:००

सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने कोरोना संक्रमितको चाप बढेपछि बन्द गरिएको ओपिडी सेवा सुरु भएको छ । कोरोना संक्रमणदर न्यून भएपछि अस्पतालले ओपिडी सेवा सुरु गरेको हो । ओपिडी सुरु भएसँगै सेवाग्राहीको संख्या बढ्न थालेको अस्पतालले जनाएको छ ।
    
कोरोना संक्रमितले अस्पताल भरिभराउ भएपछि गत १६ वैशाखबाट सेतीले आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले ओपिडीका सबै कक्षबाट उपचार सेवा पुनः सुरु गरिएको जानकारी दिए । संक्रमितको संख्या घट्न थालेपछि विभिन्न वार्डमा संक्रमितका लागि बनाइएका आइसोलेसन कक्षहरू हटाउने तयारी अस्पतालले गरेको छ ।
    
आइसोलेन कक्षहरू हटाएर ती ठाउँमा पूर्ववत् सेवाहरू सञ्चालन गरिने श्रेष्ठले बताए । कोरोना संक्रमितको चाप बढेपछि सेतीले अन्य बिरामी राख्दै आएको विभिन्न वार्डहरूमा संक्रमितलाई राख्न ६१ शøयाको आइसोलेसन बनाएको थियो । अस्पतालको आकस्मिक कक्ष, बरन्डा, सिँढीमुनि र भुइँमा समेत संक्रमितलाई राखेर सेवा दिइएको थियो ।

संक्रमितको चाप बढेपछि केही दिन अस्पतालको बाहिर आँगनमा र पछि आँगनमा टेन्ट राखेरसमेत संक्रमितलाई राखिएको थियो । सेतीमातहत ५९ शøयाको छुट्टै कोरोना अस्थायी अस्पताल छ । आइसोलेसन वार्डहरू हटाएर अस्थायी अस्पतालबाट संक्रमितलाई सेवा दिइने श्रेष्ठले बताए । प्रदेश सरकारले सेतीलाई कोरोना विशेष अस्पताल तोकेको छ । 
    
अहिले सेतीको कोरोना अस्पतालमा १६ जना संक्रमित भर्ना भएका छन् । तीमध्ये दुईजनालाई भेन्टिलेटर र नौ जनालाई आइसियूमा राखेर उपचार भइरहेको छ । संक्रमणदर घटेपछि सेतीमा भर्ना हुने संक्रमितको संख्या पनि कम हुन थालेको छ । सेतीको प्रयोगशालामा सोमबार एक सय पाँचजनाको स्वाब परीक्षण गरिएकोमा आठजनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । 
    
संक्रमण न्यून भएपछि अहिले परीक्षणदर पनि घटेको छ । महाकाली अस्पताललगायत यहाँका अन्य अस्पतालमा पनि ओपिडी सेवा सुचारु गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
    
सुदूरपश्चिममा गत वैशाखबाट तीव्र बनेको संक्रमण घट्दै गएको छ । संक्रमण घटेपछि निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । कैलालीमा प्रशासनले जोर–बिजोरका आधारमा यातायातका साधन चलाउन दिने निर्णय गरेको छ । बिहान ११ बजेसम्म पसलहरू खोल्ने अनुमति दिइएको छ ।