१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ विद्युत् आयोजनाको इन्टेकमा दोर्दीखोलामा आएको बाढीले पुर्‍याएको क्षति । तस्बिर : शान्ता कमली/नयाँ पत्रिका
जीवन बस्नेत काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o९:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बाढी र पहिरोले पाँच सय  मेगावाट विद्युत् उत्पादन बन्द

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:४o:oo

देशभरका २१ ठाउँमा राष्ट्रिय राजमार्ग अवरुद्ध

पछिल्लो २४ घन्टामा देशभर पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको स्वामित्वका विद्युत् गृहबाट उत्पादित २ सय मेगावाट विद्युत् बन्द भएको छ । त्यस्तै, निजी क्षेत्रको स्वामित्वका आयोजनाको ३ सय मेगावाट विद्युत् उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का उपाध्यक्ष आशिष गर्गले जानकारी दिए ।

दोर्दी, मादी र सुनकोसी नदी बेसिनमा रहेका आयोजनाहरू सबैभन्दा धेरै प्रभावित भएका छन् । ‘पछिल्लो जानकारीअनुसार साना ठूला गरी १३ वटा आयोजनामा असर परेको छ र विद्युत् उत्पादन अवरुद्ध भएको छ’ उनले भने । सबैभन्दा धेरै नोक्सानी कास्कीमा निर्माणाधीन ४२ मेगावाटको सुपर मार्दी आयोजनाको निर्माण सामग्रीसमेत बगाएको छ । 

त्यस्तै, सिन्धुपाल्चोकको साढे ७ मेगावाटको इन्द्रावती आयोजनाको बाँधको संरचना गेटमा क्षति पुगेको छ । दोर्दीमा पनि पावरहाउसमा पानी पसेर समस्या भएको छ । यसबाहेक राधी, थापाखोला, झिमरुकलगायतका आयोजनाको उत्पादन पनि अवरुद्ध भएको छ । केही दिन अझै पानी पर्ने पूर्वानुमान भएकाले क्षति अझ बढ्न सक्ने अनुमान छ । 

पछिल्लो २४ घन्टा निरन्तर भएको वर्षाले देशभरका राष्ट्रिय राजमार्ग र पुलमा असर परेको छ । बाढी तथा पहिरोले राजमार्ग र पुल गरी देशभरका २१ ठाँउमा अवरुद्ध बनाएको छ । अवरुद्ध भएका स्थानहरूमध्ये बुधबार साँझ ७ बजेसम्ममा दश ठाउँमा एकतर्फी सडक सञ्चालनमा आएको छ । त्यस्तै, तीन ठाँउमा दुवैतर्फ सुचारु भएको छ भने आठ ठाउँमा दुइतर्फी नै अवरुद्ध रहेको छ । 

सडक विभागका अनुसार साँफेबगर मार्तडी कोल्टी सडकका धेरै ठाउँ अवरुद्ध भएका छन् । यस सडकको बार्जुगाड, बल्दे अम्कोटमा सडक अवरुद्ध छ । यही सडकको हडडे खोला, रिला, वलेना पनि अवरुद्ध रहेको छ । त्यस्तै, डुम्रे–बेँसीसहर चामे–मनाङ सडक योजनाको डुम्रे–बेँसीसहर चामे अवरुद्ध छ । ३१ जेठमा नै अवरुद्ध भएको बेलहिया, भैरहवा, बुटवल, बर्तुङ, राम्दी स्याङज पोखरा (सिद्धार्थ राजमार्ग) एकतर्फी सञ्चालनमा आएको छ भने गौडेपुल कालीमाटी सिसुवा खण्ड अझै अवरुद्ध रहेको छ । 
पाँचखाल मेलम्ची–टिम्बु सडक आयोजनाअन्तर्गतको पाँचखाल–मेलम्ची–टिम्बु सडक पनि अवरुद्ध भएको छ । मेलम्ची बजार पुग्ने इन्द्रावतीमा बाढी आउँदा यो सडक अवरुद्ध भएको हो । मध्यपहाडी राजमार्गको बाग्लुङ खण्डमा पनि सवारी सञ्चालन अवरुद्ध भएको छ । 

अवरुद्ध भएका ठाउँमा लोडर, एक्साभेटर, टिपरजस्ता हेभी इक्विपमेन्ट परिचालन गरिएको सडक विभाग यान्त्रिक महाशाखाका उपमहानिर्देशक भुवन अधिकारीले जानकारी दिए । यसअघि मनसुन सक्रिय भएसँगै सरकारले अत्यावश्यक सेवालाई सुचारु राख्नका लागि पहिरो जाने तथा सडक अवरुद्ध हुन सक्ने राजमार्गमा निरन्तर सवारी सञ्चालन गर्ने गरी पूर्वतयारी थालेको थियो । 

देशभर २०७ हेभी इक्विपमेन्ट परिचालन

राष्ट्रिय राजमार्र्ग तथा सहायक राजमार्गलाई अवरोधरहित बनाउन देशभर २०७ हेभी इक्विपमेन्ट परिचालन गरिएको छ । महाशाखाका अनुसार ८७ वटा हेभी इक्विपमेन्ट विभिन्न राजमार्गछेउमै राख्ने काम भइरहेको छ । बाँकी रहेका ११८ वटालाई भने हेभी इक्विपमेन्ट डिभिजन र यान्त्रिक कार्यालयमा राखिएको उपमहानिर्देशक भुवन अधिकारीले जानकारी दिए ।

अघिल्लो वर्ष सडक विभागले देशभर १९८ वटा हेभी इक्विपमेन्ट परिचालन गरेको थियो । यो वर्ष भने दुईवटा लोडर खरिद गरी थपेको छ भने अन्य पाँचवटालाई मर्मत गरी तयार गरिएको छ । विभागले गरेको अध्ययन, अघिल्ला वर्षहरूमा भएका सडक अवरोध तथा पहिरोका घटना र सम्भाव्य ठाउँहरूको पहिचान गरेर लोडर, ब्याक हो लोडर, एक्साभेटर, डोजर, ट्रान्सपोर्ट ट्रक, क्रेनलगायतका साधनलाई ठाँउ–ठाँउमा पुर्‍याएको उनले जानकारी दिए । 

ad
ad