मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ श्रावण १५ शुक्रबार
  • Friday, 30 July, 2021
यम बम काठमाडाैं
२०७८ असार ३ बिहीबार ०६:२४:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पूर्वानुमानसमेत नगरिएको मेलम्चीमा कसरी आयो भयावह बाढी ? 

Read Time : > 2 मिनेट
यम बम, काठमाडाैं
२०७८ असार ३ बिहीबार ०६:२४:००

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले मंगलबार साँझ नारायणी नदीमा पानीको बहावले खतरास्तर पार गरेको घोषणा गर्दै ‘अलर्ट’ जारी गरेको थियो । तर, सिन्धुपाल्चोकलाई भने धेरै जोखिमयुक्त मानेको थिएन ।

किनभने सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा मंगलबार २४ घन्टामा जम्मा २९.२ मिलिमिटर वर्षा मात्र मापन भएको थियो । जब कि त्यही समयमा पोखरामा १८०.२, पाल्पाको तानसेनमा २०३ र चितवनमा २५२.८ मिलिमिटर वर्षा मापन गरिएको थियो । तर, मेलम्ची र इन्द्रावती नदीमा पूर्वानुमानविपरीत आएको बाढीले करिब १० मिनेटमै हेलम्बु र मेलम्ची बजार क्षतविक्षत बनाइदियो ।

‘यी नदीमा राखिएका बाढीको पूर्वानुमान सूचकले साइरन बजाउन नपाउँदै सबै गुजल्ट्याएर लग्यो, उपकरण नै लगेपछि सूचना नपाउने अवस्था भयो,’ बाढी पूर्वानुमान शाखाका प्रमुख जलस्रोत इन्जिनियर विक्रम श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘बाढी आएको भन्न नपाउँदै १० मिनेटको आसपासमै स्वाहा बनाइदियो ।’

बाढी पूर्वानुमान शाखाका अनुसार मेलम्चीमा पानीको बहाव पाँच मिटर रहेकामा मंगलबार साँझ ५:४० बजेदेखि एक घन्टा एकाएक दुई–तीन मिटर झरेको थियो । किनभने खोला ५:४० देखि ६:४० बजेसम्म पहिरोले थुनियो । योबीचमा खोला पूरै थुनिने फेरि बढ्ने, फेरि थुनिने भइरह्यो । 

तर, साँझ ७:१० बजे मेलम्चीमा पानीको सतह एकाएक बढेर ५.९८ मिटर पुग्योे । त्यसपछि खोलामा बाढी कति ठूलो आयो, कति पानी पर्‍यो भनेर महाशाखाले विवरण नै प्राप्त गर्न सकेन । किनभने बाढीको सूचक मात्र होइन, वर्षा मापन केन्द्र पनि बाढीले बगाएर लग्यो ।

आइतबारदेखिको अविरल वर्षाले मेलम्ची खोलाको मुहान क्षेत्र नाम्साङ्साङमै पानीको सतह झन्डै दोब्बर हुन लागेको थियो । मंगलबार दिउँसोपछि मेलम्ची खानेपानी आयोजनाभन्दा करिब तीन किलोमिटर माथिको मेलम्चीघ्याङ डाँडाबाट खसेको पहिरोले केहीबेर खोला थुनियो । त्योभन्दा तलको तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयले त्यसको मेसो पाएनन् । जब खोलाले पहिरोसमेत सोहोर्दै भयावह बाढीको रूप लिएर आयो तब मात्रै स्थानीयले चाल पाए । 

नाकोतेमा बनेको नवनिर्मित मोटरेबल पुल भत्काउँदै बाढी थप भयावह बन्दै गयो । मेलम्ची आयोजनाको मुहान क्षेत्र अम्बाथाङको ड्यामसहितका भौतिक संरचना पनि बगायो । त्याे बाहेक हेलम्बु गाउँपालिकामा पर्ने अरू तीनवटा मोटरेबल पुल पनि बाढीले सोहोरेर लग्यो । लेदोसहितको बाढी यसरी उर्लियो कि हेलम्बुदेखि मेलम्चीसम्मका तीन झोलुंगेपुल पनि बगायो । मेलम्चीको मुहान क्षेत्र पुग्ने सडक पूरै कटान गरेकाले बाढी आएको १२ घन्टासम्म सो क्षेत्रमा कोही जान सकेनन् ।

उता इन्द्रावती नदीको मुहान क्षेत्र याङ्ग्री र लार्केबाटै पानीको सतह बढेर आयो । जसले तिपेनीमा रहेको इन्द्रावती जलविद्युत् आयोजनाको भौतिक संरचना बगायो । इन्द्रावतीको बाढी र मेलम्ची खोलाको बाढी मेलम्चीको माथिल्लो बजारमा जोडिएपछि बाढीले थप भयावह रूप लियो । दोभानमा दुवैतिरको बाढी जुधेर वरपरका खेत र घर कटान मात्रै गरेन, मेलम्ची बजारलाई बगरमै परिणत गरिदियो । 

मेलम्ची खोलामा पहिरो खस्दा विनाशकारी बाढी आएको प्रारम्भिक निष्कर्ष बाढी पूर्वानुमान शाखाले निकालेको छ । ‘थप अध्ययन हुन बाँकी छ, अहिले फिल्डमा जाने अवस्था पनि छैन,’ शाखा प्रमुख श्रेष्ठले भने, ‘तर, पहिरोले मेलम्ची थुनिँदा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेका छौं । त्यहाँ बाढी आउने खालको पानी नै परेको थिएन ।’
बुधबार गृहजिल्ला सिन्धुपाल्चोक पुगेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले पनि हेलम्बु गाउँपालिकाको चोक्पुभन्दा पाँच सय मिटरमाथि पहिरोले खोला थुनिँदा मेलम्चीमा बाढी आएको बताए । उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहानभन्दा करिब तीन किलोमिटरमाथि पहिरो गएको छ ।

नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् प्रा.डा. नरेन्द्रराज खनालले मेलम्चीको मुहानभन्दा माथि नोकोटेको उत्तरतिर चार–पाँचवटा पहिरो रहेको र अहिले तीमध्येकै कुनै पहिरो खसेर मेलम्ची थुनिएको हुन सक्ने बताए । ‘त्यहाँ ०७० भन्दा अगाडि पहिरो थिएन । ०७२ को भूकम्पपछि मात्र जमिनमा धाँजा फाटेर चार–पाँचवटा पहिरो बनेका थिए । पछिल्लो समय ती पहिरो ठूलो हुँदै गएकोमा यसपटक विपत् निम्त्याएको हुनुपर्छ,’ उनले भने, ‘पहिरो खस्दा खोला थुनियो । पानीको बहाव बढ्दै गएपछि ड्याम फुट्यो र ठूलो बाढी भयो । बस्ती बगायोे ।’

इन्द्रावती नदीको माथिल्लो क्षेत्रमा स–साना हिमताल फुटेको वा ठूलो पानी परेको हुन सक्ने बाढी पूर्वानुमान शाखाको आकलन छ । यी क्षेत्रमा वर्षा मापन केन्द्र पनि छैन । ‘माथिल्लो भूभागमा स–साना हिमताल छन्, तर ती पनि फुटेका हुन् वा होइनन् यकिन भइसकेको छैन । स्याटेलाइटबाट तस्बिर प्राप्त भएपछि भिडाएर हेरेर कन्फर्म गर्नेछौँ,’ शाखा प्रमुख श्रेष्ठले भने ।

हिमताल फुटेर आएको बाढीमा बालुवाको मात्रा हुने, तर मंगलबारको बाढीमा माटो, गेग्रान रहेकाले पहिरो नै गएको हुन सक्ने भूगोलविद् खनालको भनाइ छ । ०७२ को भूकम्पले अति प्रभावितमध्येको सिन्धुपाल्चोकमा हरेक वर्ष ठुल्ठूला बाढीपहिरो जाने गर्छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)बाट खटिएका खनालसहितका विशेषज्ञले सिन्धुपाल्चोकको भोटेकोसी र सुनकोसी जलाधार क्षेत्रलाई पहिरोका हिसाबले जोखिमयुक्त पहिचान गरेको थियो ।

मेलम्चीमा बाढी आउँदा तटमा रहेको बजार क्षतविक्षत बनेको छ । ‘खोलाको बगर, खोलाको संगमस्थलका बस्ती जोखिमयुक्त नै हुन्छन्, बस्ती बसाल्दा सरकारले सोच्नुपर्ने हुन्छ,’ खनालले भने, ‘बाढीपहिरोले क्षति गरेको मात्र खोजिन्छ । किन बाढी पहिरो आयो भनेर कारण खोजेर न्यूनीकरण गर्नेतिर ध्यान दिनुपर्‍यो ।’