मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मुना कुँवर काठमाडौं
२०७८ असार १ मंगलबार ०९:३५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुनर्बिमा एजेन्ट खोल्न बाटो खुल्यो

Read Time : > 1 मिनेट
मुना कुँवर, काठमाडौं
२०७८ असार १ मंगलबार ०९:३५:००

नेपालमा पुनर्बिमा एजेन्ट कम्पनी सञ्चालन गर्न पाइने भएको छ । बिमा समितिले पुनर्बिमा दलालसम्बन्धी निर्देशिका २०७८ जारी गरेपछि एजेन्ट कम्पनी सञ्चालन गर्ने बाटो खुलेको हो । 

बिमा ऐन २०४९ को दफा ३० मा नै पुनर्बिमा दलालको व्यवस्था गरिएको छ । तर, नेपालमा पुनर्बिमा कम्पनी नै नभएपछि समितिले एजेन्ट कम्पनीका बारेमा खासै चासो देखाएको थिएन । यद्यपि, नेपाली बिमकहरूले भने विदेशी पुनर्बिमा एजेन्टमार्फत पुनर्बिमा गर्दै आएका थिए । तर, पछिल्लोपटक समितिले थप एउटा पुनर्बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएसँगै एजेन्ट कम्पनीका लागि पनि बाटो खोलेको हो । यसअघि नेपाल सरकार र निर्जीवन बिमा कम्पनीको लगानीमा नेपाल पुनर्बिमा कम्पनी नामक पुनर्बिमा कम्पनी स्थापना भइसकेको छ । 

चुक्ता पुँजी ५ करोड रुपैयाँ कायम हुनुपर्ने
पुनर्बिमा एजेन्ट कम्पनीले ५ करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ । समितिले जारी गरेको निर्देशिकाअनुसार एजेन्ट कम्पनीको अधिकृत पुँजी १० करोड तथा चुक्ता पुँजी ५० प्रतिशत अर्थात् ५ करोड हुनुपर्ने व्यवस्था गरेको हो । त्यस्तै, अधिकृत पुँजीको २५ प्रतिशत रकम समितिबाट एयर मार्क गराई वाणिज्य बैंकको मुद्दती खातामा राख्नुपर्नेछ । कुनै विदेशी एजेन्ट कम्पनीले नेपाली कम्पनीसँग साझेदारी गर्न चाहेमा ५५ प्रतिशतसम्म हिस्सा लिन सक्नेछन् । 

तर, नेपालमा सञ्चालित कुनै पनि बिमक र पुनर्बिमक कम्पनीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिले एजेन्ट कम्पनीमा लगानी गर्न नपाइने भएको छ । निर्देशिकाअनुसार बिमक वा पुनर्बिमकको सञ्चालक, आधारभूत सेयरधनी, कर्मचारी वा पदाधिकारी, परामर्शदाता, सल्लाहकार, लेखापरीक्षक, अभिकर्ता, सर्भेयर, तेस्रो पक्ष सहजकर्तालगायत अन्य कुनै बिमा मध्यस्थकर्ताको इजाजतपत्र लिएको व्यक्ति एजेन्ट कम्पनीमा सहभागी हुन पाउनेछैन ।

समितिले जारी गरेको निर्देशिकाअनुसार विदेशी पुनर्बिमा एजेन्ट कम्पनीले पनि नेपालमा सम्पर्क शाखा खोल्न सक्नेछन् । समितिबाट सञ्चालनको आशयपत्र प्राप्त भएपछि विदेशी एजेन्ट शाखा कार्यालयले कारोबार गर्नुपूर्व करिब ५८ लाख रुपैयाँ धरौटी जम्मा गर्नुपर्नेछ । सम्पर्क शाखा कार्यालयमा कम्पनीको मुख्य व्यक्ति र सूचना प्रविधिविज्ञसहित दुईजना विदेशी नागरिक कर्मचारीका रूपमा नियुक्त गर्न सकिनेछ । अन्य कर्मचारी भने नेपाली हुनुपर्नेछ ।   एजेन्ट कम्पनीले बिमक तथा पुनर्बिमा कम्पनीबीच मध्यस्थताको काम गर्न सक्नेछ । पुनर्बिमासम्बन्धी बिमकलाई आवश्यक विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिन सक्नेछ ।  

नेपालमा दर्ता भएर पुनर्बिमा एजेन्टका रूपमा काम गर्न यसअघि नै धेरै कम्पनीहरूले चासो देखाएका थिए ।  करिब सात वर्षअगाडि भारतीय पुनर्बिमा कम्पनी जेबी बोडाले पुनर्बिमा एजेन्टका लागि समितिमा आवेदनसमेत दिएको थियो । तर, तत्काल नेपालमा पुनर्बिमा कम्पनी नै नभएकाले समिति निष्क्रिय रहेको बिमाविज्ञ भोजराज शर्माले बताए । हाल नेपालमा पुनर्बिमा कम्पनी स्थापना भइसकेकाले समितिले पुनर्बिमा एजेन्टसम्बन्धी निर्देशिका नै जारी गरेको हो ।