
लामो समयदेखि शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको उज्यालो नेपालले दोलखा र रामेछापका चारवटा स्थानीय तहमा कोभिड महामारी नियन्त्रणका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । बढ्दो महामारीका कारण ग्रामीण तहका नागरिकहरूको जनजीवन कष्टकर बनेको भन्दै उज्यालो नेपालले गाउँकै स्वास्थ्य संस्थामा उपचार होस् भन्ने उद्देश्यले दोलखा र रामेछापका चारवटा स्थानीय तहहरूमा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ ।
संस्थाका कोषाध्यक्ष एवं दोलखाको शैलुङनिवासी समाजसेवी शोनम शेर्पाले तत्काललाई दोलखाको शैलुङ गाउँपालिक, मेलुङ गाउँपालिकासहित रामेछापको उमाकुण्ड र दोरम्बा गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको बताए । अक्सिजन कन्सन्ट्रेटर आठ थान, स्यानिटाइजर दुई सय दश लिटर, अक्सिमिटर ४० थान, कोभिड १९ एन्टिजेन्ट किट ६ सय थान, मास्कलगायतका सामग्री सहयोग गरिएको उनले बताए ।
उज्यालो नेपालका अध्यक्ष प्रभाकर महर्जनसहितको टोली आइतबार दोलखा र रामेछापका ४ वटै गाउँपालिकामा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । उज्यालो नेपालले यसअघि पनि शैलुङ गाउँपालिकामा न्यानो कपडालगायतका राहत सामग्री वितरण गरेको संस्थाका सचिव दोर्जे शेर्पाले जानकारी दिए ।