Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ ३० आइतबार १५:२८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली या अरू कसैले भन्दैमा निष्ठा त्याग्ने मान्छे म होइन : पृथ्वी सुब्बा गुरुङ (भिडियोसहित)

Read Time : > 1 मिनेट
२०७८ जेठ ३० आइतबार १५:२८:००

गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केपी शर्मा ओली वा अरू कसैले भन्दैमा आफू निष्ठा र आदर्श त्याग्ने व्यक्ति नभएको बताएका छन् । प्रधानमन्त्री ओलीनिकट गुरुङले मुख्यमन्त्रीबाट बहिर्गमन भएको भोलिपल्ट पत्रकार भेटघाट कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् । 

उनले कोही व्यक्तिको अगाडि घुँडा टेक्ने प्रवृत्ति आफूमा नरहेको बताए । ‘प्रधानमन्त्री ओलीले बहुमत गुमे पनि मुख्यमन्त्री नछाड्न दबाब दिँदा पनि तपाईंले मान्नुभएन भनिएको छ नि ?’ भन्ने प्रश्नमा आक्रोश प्रकट गर्दै उनले भने, ‘गलत हर्कतहरू गरेर मुख्यमन्त्रीमा टिकिरहने मन मेरो हिजो पनि थिएन, अहिले पनि छैन र भोलि पनि रहन्न । केपी ओली या अरू कसैले भन्दैमा पृथ्वी सुब्बा निष्ठा र आदर्श त्याग्ने व्यक्ति होइन । कोही व्यक्तिको अगाडि घुँडा टेक्ने व्यक्ति पनि होइन । कोही सांसद या विपक्षीको दबाब झेल्न नसकेर भन्ने पनि होइन ।’ 

शनिबार प्रदेश प्रमुखले निर्धारित समय सकिँदासमेत मुख्यमन्त्रीमा विपक्षी नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गर्न ढिलाइ गरेपछि अनेक अड्कलबाजी भएका थिए । केपी ओली पथमै गुरुङ अगाडि बढ्न खोजेको आशंका गर्दै विपक्षी बहुमत सांसद प्रदेश प्रमुख कार्यालयअगाडि धर्ना बसेका थिए । 

अस्थिरता निम्त्याउनेमध्येका एक पात्र ओली
एमाले गण्डकी प्रदेश इन्चार्जसमेत रहेका गुरुङले देश महामारीसँग जुधिरहँदा जनतालाई कसरी बचाउनेभन्दा पनि नेताहरू कुर्सीका लागि लडिरहेको आरोप लगाए । ‘राजनीति भनेको एउटा निष्ठा हो, आदर्श हो, तर प्रदेशमा मात्र होइन केन्द्रमा पनि राजनीतिक निष्ठा, आदर्शबाट टाढा भागेको देख्छु,’ उनले भने, ‘यस्तो महामारीमा जनताको उपचार कसरी गर्नेभन्दा पनि सबलाई प्रधानमन्त्री कसरी बन्ने, मन्त्री कसरी बन्ने भन्ने मात्र छ ।’ 

प्रधानमन्त्री ओलीलाई उनले ‘राजनीतिक अस्थिरता निम्त्याउनेमध्येको एक पात्र’ भनेका छन् । ‘प्रधानमन्त्री भएका नाताले, सबैभन्दा ठूलो दलको नेतृत्व गरेका नाताले उहाँ पनि राजनीतिक अस्थिरता निम्त्याउनेमध्येको एक पात्र हो,’ उनले भने, ‘के यसमा उहाँ मात्र सम्पूर्ण रूपमा दोषी हो त ? त्यो होइन । अरू पनि मुख्य दलका नेताहरू उत्तिकै जिम्मेवार छन् ।’
गुरुङले आफू प्रदेश सभा र प्रदेश सरकारले पाँच वर्ष कार्यकाल पूरा गर्न पाउनुपर्ने पक्षमा रहेको बताए । त्यसले मात्र स्थिरताको प्रत्याभूति दिने उनको भनाइ छ । ‘म मुख्यमन्त्री हुन्छु कि हुन्न । सांसद रहन्छु कि रहन्न । यसो गरियो भने मात्र संघीयताको पुष्टि हुन्छ । प्रदेश सरकारको महत्व रहन्छ,’ उनले भने । उनले नयाँ प्रदेश सरकारले संघीयताको मर्मअनुसार संघीयताको स्वायत्तता कायम रहने गरी काम गरोस् भन्ने चाहेको बताए । त्यसका लागि आफूले सघाउने उनले प्रतिबद्धता जनाए । 

विगतमा पनि नेपालमा बहुमत प्राप्त दलहरूमा यस्ताखालका प्रवृत्ति देखिएका भन्दै यस्तो किन भइरहेको छ भन्ने विषयमा गम्भीर हुनुपर्ने आवश्यकता औँल्याएका छन् । गुरुङले अब आफूले राष्ट्रिय राजनीतिमा भूमिका खेल्ने बताए । अहिलेसम्म सरकारकै काममा व्यस्त हुँदा पार्टीको काममा समय दिन नपाएको भन्दै उनले अब पार्टीलाई मजबुत र सुदृढ बनाउन पहल गर्ने बताए ।