मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असार ९ बुधबार
  • Wednesday, 23 June, 2021
डा. बद्री केसी
२०७८ जेठ २७ बिहीबार १०:५१:००
Read Time : > 6 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

महामारीकाे कसीमा नेपालीत्व

Read Time : > 6 मिनेट
डा. बद्री केसी
२०७८ जेठ २७ बिहीबार १०:५१:००

नेपालीत्वले हामीलाई संसारको जुनसुकै कुनामा जन्मिए पनि नेपाली नै बनाइराखेको छ । यो नेपालीत्वको वास्तविक परीक्षण सुखभन्दा दुःखमा, अझ संकटमा हुने रहेछ । अहिले दोस्रो–तेस्रो लहर चलिरहेको र अनिश्चित भविष्यबीच कोरोना वैश्विक महामारीको अनुभवले एउटा निकै भावुक र महँगो अनुभूति स्थापित गरेको छ, संकटमा परीक्षित नेपालीत्वका सन्दर्भमा । विश्वभर छरिएका नेपाली दाजुभाइ, दिदीबहिनी तथा सरोकार राख्ने सम्पूर्ण समुदायमाझ यही अनुभूतिको आलोकमा केही न केही स्मरणशील र विचारित हुन पाउँदा म आफूलाई निकै भाग्यमानी सम्झन्छु ।

गत वर्षको प्रारम्भताका जब चीनको वुहानबाट कोरोना महामारी सुरु भयो, मोटामोटी हेक्का थियो– विश्व समुदायको अति सघन सम्पर्क सञ्जालका कारण कुनै न कुनै रूपमा ढिलोचाँडो सबै भूभाग यो भाइरसबाट अछुतो रहन सक्नेछैन । नभन्दै महामारी फैलन थाल्यो । नेपाली श्रमिकहरू ठूलो संख्यामा रहेका खाडीलगायत क्षेत्र व्यापक प्रभावित भए । गैरआवासीय नेपाली संघ (एनआरएनए) सुरुदेखि नै नेपाली श्रमिक र प्रवासी नेपालीजनहरूको अवस्थालाई निरन्तर नियालिरहेको थियो । 

महामारी फैलावटको एउटा समय संयोग, नेपालमा जब लकडाउन सुरु भयो, ठ्याक्कै त्यहीवेला प्रवासी नेपालीहरू अप्ठ्याराेमा परिसकेका थिए । हामीलाई थाहै छ, वैदेशिक श्रममा जोतिन गएका नेपालीहरू प्रायः तलब आउनेबित्तिकै घर पठाइहाल्छन् । संकट आइपर्छ भनेर जगेडामा राख्ने कमै हुन्छन् । खाडी देशहरूमा नेपाली कामदार सडकमा आउने स्थिति बन्यो । उनीहरू काम गरिरहेका कम्पनी बन्द भए । विनाडकुमेन्ट काम गरिरहेका कामदारलाई मालिकले निकालिदिए । महिला र गर्भवतीको अवस्था झन् दर्दनाक भयो, रहने–बस्ने बेठेगान भयो । एनआरएनए तत्काल सक्रिय भयो, सबैभन्दा पहिले अप्ठेरामा परेकालाई खाने–बस्ने प्रबन्ध मिलाउन ।

पचास वटा देशमा दुई हजार पाँच सय स्वयंसेवक परिचालन भई जहाँ–जहाँ नेपाली अलपत्र छन्, त्यहाँ पुगेर आवश्यक व्यवस्था मिलाउन थाले । भाडा तिर्न नसकेर कठिनाइमा परेका विद्यार्थीलाई हाम्रा सदस्य साथीहरूले आफ्नै घरमा ल्याएर पनि राखे । विश्वभर छरिएर रहेका नेपाली चिकित्सक र नर्सलाई समेटेर टेलिमेडिसिन र काउन्सिलिङका कामहरू भयो । संक्रमितका घरघरमा अत्यावश्यक सामग्री उपलब्ध गराउन हाम्रा संयन्त्र परिचालित भए । यो अपनत्व र समानुभूतिको खटाइमा हाम्रा केही स्वयंसेवक साथी नै संक्रमित भए, केहीले ज्यानसमेत गुमाए । वास्तवमा ती हाम्रा साथीले वन्धुकर्तव्य निर्वाह गर्ने क्रममा सहादत प्राप्त गरेका हुन् । त्यो कुर्बानीले हामीलाई एकअर्कासँग सदैव श्रद्धाशील, स्नेही र सहयोगी रहन प्रेरित र सचेत गराइराख्छ । 

संसारमा जहीँ रहेर कर्म गरे पनि संकटमा सम्झने घरै हो । महामारी, लकडाउन, संक्रमण र अभावबीचको ऐंठनमा धेरै नेपाली बरु घरै जान पाए हुने भनेर अत्तालिनु स्वाभाविक थियो । उनीहरूलाई त्यो अवस्थाबाट उद्धार गरेर स्वदेश ल्याउने काम पनि नेपाली सरकारको स्वतःस्फूर्त कदम हुनुपथ्र्यो । धेरै देशले रातारात चार्टर्ड विमान पठाएर आफ्ना नागरिक उद्धार गर्न थाले । हामीले पनि नेपाल सरकारलाई आग्रह गर्न थाल्यौँ ।

उद्धार कार्य हामीले मात्र गरेर सम्भव हुने अवस्था थिएन । सरकारलाई राहत, उद्धार र पुनस्र्थापनासहितको जिम्मेवारी सम्झाउँदै कार्ययोजना नै सुझायौँ । हामीले सम्झायौँ– यी तिनै नेपाली हुन्, जसले विदेशी भूमिमा पसिना बगाएर हरेक वर्ष नौ खर्ब रुपैयाँ विप्रेषण पठाउँछन्, जसले नेपाली अर्थतन्त्रमा ‘लाइफलाइन’को काम गरेको छ । उनीहरूले पठाएको पैसालाई मात्र स्वागत गर्ने होइन, उनीहरूलाई पर्दाका बखत अभिभावकत्व पनि दिनुपर्छ भनेर हामीले जोड दिएकोदियै ग¥यौँ । 

नेपाल सरकार त्यतिवेला नेपालभित्रै महामारीसँग लड्ने तयारीको अवस्थामा थिएन । हामीले विदेशमा अलपत्र नेपालीको उद्धारका निम्ति सहकार्यको प्रस्ताव गर्‍यौँ, त्यसमा सरकारले कुनै प्रतिक्रिया दिन सकेन । विभिन्न देशका दूतावासले सम्भव भएसम्म तत्परता देखाए, तर त्यो पर्याप्त हुने कुरै भएन । त्यस्तो अवस्थामा पनि हामीले नेपालमा हाहाकार छ, जे–जे सकिन्छ पठाउनुपर्छ भनेर सहयोगको जोहो गर्न थाल्यौँ । दक्षिण कोरिया, चीन, मकाउ र हङकङबाट मेडिकल सामग्री पठायौँ । जे–जति गर्‍यौँ, आफ्नै स्रोतसाधनबाट गरियो । 

अत्यास, कर्तव्यको आभास र नेपालीत्व–अपनत्वको अकण्टक हुटहुटीबीच हिम्मत नहारी काम गर्दै जाँदा हाम्रा लागि दिनहरू अनुकूल हुँदै गए । अलपत्र नेपाली श्रमिकलाई उद्धार गरी स्वदेश फर्काउने, परिवारसँग पुनर्मिलन गराउने र नगरी नहुने अन्य सहयोगको व्यवस्था मिलाउने हाम्रो प्रस्तावमा विश्व श्रम संगठन (आइएलओ) मद्दत गर्न तयार भयो । एनआरएनएलाई उक्त कामका लागि आइएलओले दिएको १० करोड रुपैयाँबाट आज अदम्य साहस, महत्व र प्रभावका काम भएका छन् । १७ हजार नेपाली स्वदेश फर्केका छन्, जसमध्ये हजारजनाभन्दा बढीको टिकट नै काटिएको हो ।

बाँकीलाई उपचार, खाना, आवास, पुनस्र्थापनासम्मका कुनै न कुनै मद्दत भएको छ । यसरी स्वदेश फर्किने हरेक नेपालीसँग आ–आफ्ना कथा–व्यथा छन्, उनीहरूमध्ये सायदै कोही होलान्, जो आफ्नो देशमा सुख मात्रै काटेर रहरैले मरुभूमिमा पाखुरी बजार्न गएका हुन् । संकटमा देश फर्केर आफ्ना परिवारजनको साथ पाउनु उनीहरूका लागि जीवनपर्यन्तकै विशेष अनुभव हो ।

यो उद्धार–पुनस्र्थापना अभियानलाई एनआरएनका तर्फबाट नेतृत्व दिन पाउँदा म गहिरो विनयभावसहित कृत्यकृत्य छु र सम्पूर्ण सहयोद्धा साथीलाई साधुवाद भन्न चाहन्छु । साथै यो अभियानमा हाम्रो मिहिनेत र सफलताका कारण अन्य केही प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरू पनि सहकार्यको प्रस्तावसहित अगाडि आएका छन् । नेपाली प्रवासी श्रमिकको हितका लागि अन्तर्राष्ट्रिय समुदायसँग खुला मन र पूर्ण पारदर्शिताका साथ सहकार्य गर्ने हाम्रो घोषित नीति हो । वास्तवमा हाम्रो उपलब्धि र कमाइ नै स्वतन्त्र क्षेत्रबाट हुने यस्तै मूल्यांकन हो । 

हामी नेपालीहरूको संसारमै विशेष छवि छ । इमानदार भएका कारण यस्तो अप्ठेरो परिस्थितिमा पनि रोजगारदाताले अन्तिम समयसम्म नेपाली कर्मचारीलाई नै टिकाउन चाहन्छन् । नेपालीहरूको ठूलो गुनासो केही छैन । आफ्नै देशसँग पनि छैन । परदेशमा हातमुख जोड्न, ज्यान जोगाउन गाह्रो परेपछि बरु आफ्नै गाउँ जान पाए रुखो मसिनो खाएर बाँचौँला, बाँझो बारी जोतौँला भन्ने भावना आउनु अति सामान्य हो ।

धेरै नेपालीलाई यति पनि थाहा छैन कि उनीहरूले विदेश जाँदाजाँदै सरकारलाई बुझाएको शुल्क जम्मा भएर ६ अर्ब रुपैयाँभन्दा बढी भइसकेको छ । त्यो पैसा खासमा उनीहरू नै विदेशमा कथंकदाचित ठूलो अप्ठेरोमा पर्दा सहयोगका लागि खर्चन भनेर राखिएको हो, त्यसका स्पष्ट कानुनी व्यवस्था छन् । महामारीमा विदेशबाट उद्धार गर्ने भन्ने प्रावधान उक्त कोषको कार्यविधिमा प्रस्ट उल्लेख छ ।

त्यसो हुँदाहुँदै जिम्मेवारी लिएर काम गर्न चाहिँ सरकारी–प्रशासनिक तप्कामा सायदै कोही अगाडि सर्छ । यो चाहिँ विडम्बना हो । त्यो कोषबाट बढीमा ७० लाख रुपैयाँ खर्च भएको छ । जबकि उद्धार–पुनस्र्थापना प्रयोजनकै लागि भनेर ७३ करोड रुपैयाँ विनियोजन गरिएको थियो । त्यो कोषको सदुपयोग गर्दा विदेशमा फसेका नेपालीले आफ्नो सरकारलाई धन्यवाद देलान् भन्ने मात्र होइन, ऐनमौकाको यस्तो बुद्धिमत्तापूर्ण काम सुशासनकै दृष्टान्त बन्न सक्छ । मुलुककै इज्जत रहन्छ । दातालाई गुहारेर काम गर्दा सजिलो मात्र देख्ने हामीमाझकै कतिपय धारणा खारेजयोग्य छन् । हामीले संकटमा पनि सकेसम्म आत्मनिर्भरताकै पहल गर्नुपर्छ । 

एनआरएनएले हरेक नेपाली नागरिकले कोरोना खोप लगाउन पाऊन् भनेर एउटा विशिष्ट अभियान सुरु गर्दै छ । अब प्रवासमा बसेका हामी हरेकले कम्तीमा एकजना नेपाली नागरिकका लागि खोप सौजन्य गर्नेछौँ । अहिले संसारभर खोप उत्पादन बढ्ने अवस्था देखिँदै छ । हामी अब खोप कहाँ–कसरी किन्न पाइन्छ भनेर लाग्नुपर्नेछ । 

हरेक वैश्विक महामारीमा दोस्रो–तेस्रो लहर आउनु, त्यसले निरन्तर अर्थतन्त्रदेखि सामाजिक सन्तुलनसम्म असर गर्नु स्वाभाविक हो । रोजगार आधारित अर्थतन्त्र, सहरमुखी जीवनपद्धतिलाई अनिश्चित ढंगले लम्बिरहने यस्तो महामारी बहुतै महँगा साबित हुन्छन् । वैदेशिक रोजगारी झन् बढी अचानोमा पर्छ । भन्न सकिन्न, कुनै पनि वेला हजारौँ नेपाली कामदार फेरि स्वदेश फर्किने अवस्था नआउला भनेर । यो कटु यथार्थ हो । अहिले करिब ३० लाख नेपाली कामदार विदेशमा छन् । तीमध्ये १० प्रतिशत नै स्वदेश फर्किनुपर्ने भयो भने कसरी ‘सेटल’ गराउने ? यो प्रश्नमा गम्भीर भएर तत्काल कुनै न कुनै कार्ययोजनामा लागिहाल्नुपर्ने अवस्था छ । 

लाखौँ नेपाली बिदेसिँदा नेपालकै श्रम बजारमा चाहिँ वार्षिक आठ लाख विदेशी श्रमिक (भारतीय, बंगलादेशी) आएर काम गर्छन् । उनीहरूले बर्सेनि करबि चार खर्ब रुपैयाँ नेपालबाट लैजान्छन् । त्यो बजार त नेपालीलाई दिलाउन नसकिने भन्ने होइन । आखिर नेपालीले विदेशमा गर्ने र विदेशीले नेपालमा आएर गर्ने कामको सीपस्तर त मोटामोटी समान हो । नेपालीहरूलाई आफ्नै देशमा आएर श्रम गर्न प्रेरित गर्ने उपयुक्त मौका यही हो । यो काम गर्न सकिए, पैसा स्वदेशमै अड्नेबाहेक अनेकन् सामाजिक–सांस्कृतिक लाभ पनि जोडिएर आउने भए ।

वास्तवमै एउटा वयस्क नागरिक आकर्षक ज्यालासहितको रोजगारीमा स्वदेशै अडिनु भनेको उसको सिंगो घरबार जम्नु पनि हो । यही महसुससहित हामी श्रम मन्त्रालय, कृषि मन्त्रालयलगायत रोजगारसम्बद्ध निकायलाई एकसाथ राखेर ‘रोजगार कन्फेरेन्स’ गर्ने तयारीमा छौँ । कोरोना महामारी मत्थर भई सुरक्षा मापदण्डका साथ भौतिक रूपमै भेला हुने अनुकूल अवस्था बन्नेबित्तिकै हामी यो सम्मेलन गर्नेछौँ । यसलाई हामी नियमित रूपमा आयोजना हुने आवधिक कार्यक्रमकै रूपमा अगाडि बढाउन चाहन्छौँ । 

अर्थ–सामाजिक सन्तुलनका हिसाबले नगरी नहुने चुनौतीपूर्ण काम हो– नेपालीहरूलाई स्वदेशी श्रमबजारमा पुनस्र्थापित गर्नु । फर्किएर आउने मानिसहरू को–कति, उनीहरूको सीप के–कस्तो र अपेक्षा के हुन सक्छ भनेर बुझ्न खास कठिन होइन । तर, लक्ष्यप्राप्तिकै हिसाबले काम गर्न चाहिँ एउटा मात्र संस्था लागेर सम्भव हुन्न । एनआरएनएले रणनीतिक स्तरमा विशिष्ट योगदान पुर्‍याउन सक्छ । विदेशमा नेपालीहरूको संख्या बढाएर मात्र होइन, नेपाल देशैलाई उन्नत र आत्मनिर्भर बनाउन सहयोग पुर्‍याएर मात्र हाम्रो सुखानुभूति सम्भव छ । भलै यसमा अहिल्यै नेपाल सरकार तातिसकेको छैन, तर हामी अगाडि बढिसकेका छौँ । यो नगरी हुन्न ।

एनआरएनए सानो संस्था पक्कै रहेन । विश्वका एक सय १० वटाभन्दा बढी देशमा नेपालीहरू पुगेको वर्तमान सन्दर्भमा एनआरएनएको औपचारिक उपस्थिति नै ८३ देशमा छ । तर, महामारीका वेला हामीले यो सञ्जालको तागत चरितार्थ गर्न नसकेको भए संगठित हुनुको अर्थ किञ्चित रहन्थेन । हामीले संसारमा कोही नेपालीलाई सडकमा सुत्नुपर्ने अवस्थामा रहन दिएनौँ, थाहा भएसम्म । कोही भोकभोकै मर्नुपर्ने क्षण आउन दिएनौँ, जानकारी पाउँदासम्म । यो नेपालीत्व, नेपाली बन्धुत्व बलियो हुने अवसर थियो र यसलाई अझै मलजल गर्दै लानुपर्छ, अन्य सकारात्मक र सुखद अवसरमा पनि ।

हामीले महामारीकै बीच १० अर्ब रुपैयाँको एनआरएनए कोष श्रीगणेश गर्‍यौँ, एनआरएनए फाउन्डेसन सूत्रपात गर्‍यौँ । यसले महामारीमा हामीबीच जुटेको शक्तिलाई धेरै गुणा बढाउनेछ । दोस्रो लहर चलिरहँदा नै हेरौँ, एनआरएनए समुदायले नेपालको वस्तुस्थिति र आवश्यकताअनुरूपका सहयोग निरन्तर जुटाएर पठाउने अभियान चलाइरहेको छ । मध्यपूर्वका साथीहरूले पाँच सय ६० थान सिलिन्डर पठाए, केही दिनमै पाँच सय अक्सिजन कन्सन्ट्रेटर जाँदै छ र नेपालका सातै प्रदेशमा एउटा–एउटा अक्सिजन प्लान्ट स्थापना गर्ने योजनामा काम अघि बढिसकेको छ । 

यसैबीच, एनआरएनएले हरेक नेपाली नागरिकले कोरोना खोप लगाउन पाऊन् भनेर एउटा विशिष्ट अभियान सुरु गर्दै छ । अब प्रवासमा बसेका हामी हरेकले कम्तीमा एक नेपाली नागरिकका लागि खोप सौजन्य गर्नेछौँ । अहिले संसारभर खोप उत्पादन बढ्ने अवस्था देखिँदै छ । हामी अबका दिनमा लाग्नुपर्नेछ, खोप कहाँ कसरी किन्न पाइन्छ भनेर । हामीलाई लाग्छ, हामी यसमा अवश्य सफल हुनेछौँ । निश्चिन्त रहौँ, स्वदेशका नेपालीजनलाई राहत दिने यो कर्मलाई हामीबीच सुदृढ बन्दै गइरहेको एकीकृत शक्तिले निरन्तर बल प्रदान गरिरहनेछ । 

(केसी एनआरएनएका उपाध्यक्ष हुन्)