काठमाडौंको फर्पिङमा सन् १९७१ मा जन्मिएका डा. बद्री केसी अहिले रसियामा बसोवास गर्छन् । उनी सन् १९९० मा नेपाल सरकारको छात्रवृत्तिबाट रसिया अध्ययनका लागि गएका थिए । उनले सन् २००१ मा बायोटेक्नोलोजीबाट पिएचडी र २००९ एक्ज्युकेटिभ एमबिए गरेका छन् । रसियामा व्यवसाय गर्ने डा. केसीसँग महाधिवेशनको विषयलाई लिएर गरिएको कुराकानी :
एनआरएनएको अध्यक्ष पदमा नै किन उम्मेदवारीको घोषणा गर्नुभयो ?
वास्तवमा म एनआरएनएको स्थापनाकालदेखि नै यस संस्थामा आबद्ध छु । एनआरएनएको अभियान रसियाबाटै सुरु भएको हो, म रसियामा बसोवास गर्छु । सुरुको २००३ देखि २००७ सम्म एनआरएनको साधारण सदस्य भएर क्रियाशील भएर काम गर्ने अवसर पाएँ । २००७ देखि २००९ सम्म मैले रसियाको महासचिव भएर काम गर्ने अवसर पाएँ । २००९ देखि ११ र ११ देखि १३ सम्म दुई कार्यकाल केन्द्रीय सदस्य भएँ ।
२०१३–१५ को एक कार्यकाल केन्द्रीय कोषध्यक्ष भएँ । २०१५–२०१७ र २०१७–२०१९ को दुई कार्यकाल महासचिव र अहिले २०१९–२१ को उपाध्यक्ष छु । त्यसकारण मेरो लामो समयको एनआरएनएको यात्रामा संस्थालाई कसरी ‘ड्राइभ’ गर्ने भन्ने विषयमा पूर्ण क्षमता राख्छु भन्नेमा विश्वास भएर मैले उम्मेदवारी दिएको हो । एनआरएनएको हकहितमा काम गर्ने प्रतिबद्धतासहित अध्यक्षमा उम्मेदवारी दिएको हुँ ।
एनआरएनएको निर्वाचनमा राजनीतिक दलहरूले पनि सहयोगी भूमिका खेलेका छन् नि ?
एनआरएनए जाति, धर्म र राजनीतिभन्दा बाहिर बसेर नेपालभन्दा बाहिर बसेका नेपालीहरूलाई एकसूत्रमा बाँध्ने संस्था हो । त्यसकारणले राजनीतिक दलहरूले विदेशमा बस्ने नेपालीहरूलाई प्रभाव पार्न खोज्नु राजनीतिक दृष्टिले ठीक होला । तर, एनआरएनएको दृष्टिले ठीक छैन । चुनावको मुखमा आएर कतिपय चुनावका उम्मेदवार साथीहरू राजनीतिक दलहरूलाई चुनाव प्रभाव पारिदिनका लागि लम्पसार पर्न खोजेको अवस्था छ । त्यो ठीक होइन । यदि कुनै चुनावमा उठ्ने उम्मेदवारले आफ्नो पक्षमा नतिजा ल्याउन डेलिगेट्ससमक्ष जानुपर्छ, पार्टीका दलहरूसँग जानुहुँदैन ।
यदि परराष्ट्र मन्त्रालयले तत्काल निर्वाचन नगर्नु भन्ने खालको निर्देशन आयो भने तपाईंहरू के गर्नुहुन्छ ?
एनआरएनए एउटा स्वायत्त संस्था हो । यो संस्थालाई सरकारले निर्वाचनका विषयमा निर्णय लिन मिल्दै–मिल्दैन । हामी स्वायत्त संस्था भएका कारण कसैको पनि निर्णय मान्न बाध्य हुँदैनाैँ । हाम्रो विधानले दिएको र कमिटीले गरेको निर्णय मान्न हामी बाध्य हुन्छौँ । कमिटी र विधानभन्दा बाहिरबाट आएको विषयमा हामी मान्दैनौँ ।
अध्यक्ष बन्नुभएको खण्डमा एनआरएनएका लागि तपाईं के गर्नुहुन्छ ?
एनआरएनएका मार्गचित्रहरू बनिसकेका छन् । स्पष्ट छ, वैदेशिक रोजगारमा धेरै समस्या छन् । नेपालमा १० खर्बभन्दा बढी रेमिट्यान्स वैदेशिक रोजगारबाट आउँछ । यो क्षेत्रको सुधारका लागि विशेष पहल रहन्छ । पहिलो कुरा, विदेशमा बसेर श्रम बेच्ने नेपालीहरूका लागि उनीहरूले नेपालको पेन्सन फर्ममा आबद्ध हुन पाउने गरी पहल गर्ने प्राथमिकता रहन्छ । त्यसपछि जीवन बिमाका कुराहरू, विदेशमा रहँदाका औषधि उपचारका कुराहरू, श्रम स्वीकृतिका कुराहरू सम्बोधन गर्नेछु । श्रम सम्झौताको नवीकरणलगायतमा भएका समस्याहरू नेपाल सरकारसँग सहकार्य गरेर हामीले सुल्झाउने कुरा गर्छौँ । वैदेशिक रोजगार कल्याण कोषमा ठूलो पैसा प्रयोगविहीन रहेको छ ।
त्यो पैसा मर्दापर्दा राहत दिनुपर्दा, बिरामी हुँदा अथवा त्यहाँबाट डिपोर्टेसन भएर यहाँ आउँदा सञ्चालनमा आएको छैन । त्यो पैसालाई हामीले प्रयोगमा ल्याउनका लागि प्रयत्न गर्छौँ । सधैँ अदक्ष कामदार बिदेसिने गरेका छन् । अब हामी वैदेशिक रोजगारमा जानुभन्दा अगाडि हामी कार्यदक्षताका लागि तालिमहरू दिएर पठाउने प्रयास गर्छौँ । ६ महिनाको तालिम मात्र दिएर पठायौँ भने पारिश्रमिक डबल बनाउन सक्ने क्षमता हुन सक्छ । तालिम दिएर पठायौँ भने अहिले कमाएको भन्दा दुई–तीन गुणा बढी कमाउन सक्छन् । विदेशमा अड्किएका शवहरूको कुरा भयो, विदेशमा जागिर जाँदाका कुरा, साहुले ठगेर तलब नदिँदाका कुरा, महिला–बालबच्चाका कुरामा हामीले सहजीकरण गर्ने प्रयास रहन्छ ।