१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७८ जेठ २७ बिहीबार ०७:४४:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

भारतमा ब्ल्याक फंगसका बिरामी  किन बढ्दै छन् ?

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ जेठ २७ बिहीबार ०७:४४:००

भारतमा हालसम्म करिब १२ हजार जनामा ब्ल्याक फंगस (ब्ल्याक फंगस) संक्रमणका बिरामी फेला परिसकेका छन् । यो संख्या बढ्दो अवस्थामा छ । ब्ल्याक फंगसको समस्या विशेषगरी कोरोना भाइरस (कोभिड–१९) संक्रमण निको भएकाहरूमा देखिएको छ ।

सामान्यतया यो समस्यालाई दुर्लभ मानिन्छ । तर, यसको मृत्युदर भने झन्डै ५० प्रतिशत छ । भारतमा पछिल्लो समय ब्ल्याक फंगसका बिरामी किन बढिरहेको छ ? केही स्वास्थ्य विज्ञहरू यसको पछाडि डायबिटिजको बिरामी बढी हुनुलाई कारण मान्छन् । यद्यपि, यसको यकिन कारण निश्चित भएको छैन ।

महामारीअघि अरू कुन देशमा थियो ब्ल्याक फंगस  ?

कोरोना महामारी सुरु हुनुभन्दा पहिले विश्वका ३८ देशहरूले ब्ल्याक फंगससँग मिल्दोजुल्दो म्युकोर्मिकोसिसको संक्रमण देखिएको जनाएका थिए । भारत र पाकिस्तानमा यसको सबैभन्दा बढी संक्रमण देखिएको थियो ।

म्यान्चेस्टर विश्वविद्यालयमा कार्यरत फंगस संक्रमणविज्ञ डा. डेभिड डेनिङकाअनुसार कोरोना संक्रमण सुरु हुनुभन्दा पहिले विश्वका अन्य देशभन्दा बढी भारतमै ब्ल्याक फंगसको बिरामी थिए । उनी भन्छन्, ‘म्युकोर्मिकोसिस मुख्य रूपमा डाइबिटिजसँग सम्बन्धित छ । यदि डायबिटिजको राम्रोसँग उपचार गर्न सकिएन भने यो समस्या हुन्छ । भारतमा डाइबिटिजको समस्या धेरै भएकाले पनि यो बढेको हो ।’

पछिल्लो समय कोरोना संक्रमणमुक्त भएका बिरामीहरूमा गरिएको अनुसन्धानले फंगस संक्रमण देखिएको ९४ प्रतिशतमा डाइबिटिजको पनि समस्या देखिएको छ । त्यसमध्ये ७१ प्रतिशत ब्ल्याक फंगसका बिरामी भारतमा देखिएको छ ।

ब्ल्याक फंगस र डायबिटिजको सम्बन्ध 

भारतको छिमेकी देशहरू पाकिस्तान र बंगलादेशमा पनि डायबिटिजका बिरामीको संख्या धेरै छ । यस्तै, म्युकोर्मिकोसिसको संक्रमण पनि छ, यद्यपि भारतको जत्तिको छैन ।बंगलादेशमा म्युकोर्मिकोसिसको एकजना बिरामीको उपचार भइरहेको छ । म्युकोर्मिकोसिसकै जस्तो लक्षण मिल्दोजुल्दो अर्काे एकजना बिरामीको परीक्षणको नतिजा आउन बाँकी छ । यी दुवै बिरामीलाई डायबिटिजको समस्या छ ।

पाकिस्तानमा पनि यसै साता म्युकोर्मिकोसिसको पाँचजना बिरामी पत्ता लागेको छ । १२ मेसम्म चारजनाको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा पनि अहिलेसम्म २९ जनामा यो संक्रमण पुष्टि भएको छ । यद्यपि, त्यसमध्ये कतिलाई कोरोना संक्रमण भएको छ वा डायबिटिज छ भन्ने निश्चित छैन । रुसले पनि कोरोनाका बिरामीहरूमा म्युकोर्मिकोसिसको लक्षण देखिएको जनाएको छ । यद्यपि, त्यसको संख्या भने निश्चित छैन । 

अमेरिकामा धेरै मानिसमा डायबिटिजको समस्या छ । अमेरिकाको कुल जनसंख्याको ९.३ प्रतिशतमा डायबिटिज समस्या छ । अमेरिकामा कोरोना संक्रमणको संख्या पनि अन्य देशको तुलनामा अत्यधिक छ । यद्यपि, म्युकोर्मिकोसिसको संक्रमण निकै कम देखिएको छ । स्वास्थ्यविज्ञहरूले त्यसको मुख्य कारण डायबिटिजको उपचारलाई मानेका छन् । 

अमेरिकामा धेरै मानिसमा डायबिटिजको समस्या भए पनि उनीहरूले त्यसको उपचार गरेका हुन्छन् । मात्रै तीन प्रतिशतले यो समस्यालाई उपचार गर्दैनन् । यसले डायबिटिजको राम्रो उपचार गरेका बिरामीमा ब्ल्याक फंगसको संक्रमण नहुने देखिएको छ ।