मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७८ जेठ २६ बुधबार ०८:२१:००
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

उत्तर कोरियाको नयाँ कानुन : विदेशी कपडा लगाए वा सिनेमा हेरे मृत्युदण्ड

Read Time : > 1 मिनेट
एजेन्सी
२०७८ जेठ २६ बुधबार ०८:२१:००

उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले नयाँ कानुन जारी गर्ने तयारीमा छन् । नयाँ कानुन पारित भए कुनै पनि नागरिकले विदेशी लुगा वा सिनेमा हेर्न पाउने छैनन् । यदि कसैले कानुनविपरीत व्यवहार देखाए मुत्युदण्ड पाउनेछ ।

नयाँ कानुनमा नागरिकका घरमा अमेरिका, जापान तथा दक्षिण कोरियाका भिडियो वा पत्रिका पाए, उनीहरूलाई मृत्युदण्ड दिने व्यवस्था रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । किमले हालै सरकारी सञ्चारमाध्यमहरूलाई एक पत्र पठाएका थिए । सो पत्र विशेष गरी युवालक्षित थियो । किमको पत्रमा युवालाई ‘अप्रिय, व्यक्तिवादी, समाजविरोधी’को पछि लाग्दा समय बर्बाद हुने उल्लेख छ । नयाँ कानुन बनेपछि अब युवाहरूलाई यस्तो कार्यमा संलग्न नहुन भनिएको छ ।

किमले विदेशी भाषण नसुन्ने र विदेशी हेयर स्टाइल नराख्न पनि निर्देशन दिएका छन् । विशेष गरी किमले छिमेकी दक्षिण कोरियालक्षित गरी प्रतिक्रिया दिएका हुन् । किमले भनेका छन्, ‘छिमेकी दक्षिण कोरिया विदेशी भाषण, हेयर स्टायल र लुगा लगाएर समय बर्बाद गरिरहेको छ, यो युवाहरूका लागि खतराजनक हो, उत्तर कोरियालाई यस्तो नराम्रो तत्वबाट रक्षा गर्न प्रतिबन्ध गरिएको हो ।’

विश्लेषकहरूले उत्तर कोरियाका युवाहरूलाई बाहिरी सूचना तथा सम्बन्धबाट टाढा राख्न कठोर नियम लागू गरेको बताउँछन् । ‘किम चाहँदैन कि उत्तर कोरिया छिमेकी दक्षिण कोरियाकै जस्तै नक्कल गरोस्,’ सञ्चारमाध्यम डेली एनकेले भनेको छ, ‘युवाहरूलाई मनमा डर कायम राख्न विदेशी सिनेमा र लुगामाथि प्रतिबन्ध गरेको हो ।’ किम सधैँ विदेशी संस्कृति र भाषाविरुद्ध रहेको डेली एनकेले दाबी गरेको छ । 

नयाँ कानुन लागू भएपछि विदेशी सिनेमा हेरिरहेका सबै कारबाहीमा पर्न सक्ने डेली एनकेले उल्लेख गरेको छ । नयाँ नियमअनुसार बालबालिकाहरूले विदेशी सिनेमा, लुगा तथा हेयर स्टायल बनाए, उनीहरूका बुबाआमालाई कारबाही हुनेछ । यता उत्तर कोरियाका नागरिक भने बाहिरी संसार हेर्ने चाहना राखेको डेली एनको भनाइ छ । 

‘वास्तवमै उत्तर कोरियाका नागरिकले बाहिरको संसार हेरेकै छैनन्, उनीहरूलाई छिमेकी राष्ट्रको विकास तथा उनीहरूको दैनिक ‘लाइफ स्टाइल’ कस्तो छ भन्ने हेर्न मन लाग्छ,’ डेली एनले विश्लेषण गर्दै भनेको छ, ‘पश्चिमी तथा दक्षिण कोरियाको जीवनशैलीबाट उत्तर कोरियाका जनता निकै प्रभावित छन् ।’ 

उत्तर कोरियाका जोइ जोङ गत वर्ष चीन पुगेका थिए । चीन पुगेपछि बाहिरी संसार थाहा पाएको जोइले बताएका छन् । ‘गत वर्ष म चीनमा पुगेको थिएँ, त्यहाँ पुग्दा मात्र इन्टरनेटबारे थाहा भयोे,’ जोङले भने, ‘उत्तर कोरियामा इन्टरनेट छैन, हामी सूचनाको प्रविधिभन्दा बाहिर छौँ ।’