मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
जोर्डनका मोहम्मद अल्दमेरीसँग बलका लागि प्रतिस्पर्धा गर्दै मनीष डाँगी ।
२०७८ जेठ २५ मंगलबार ०५:०९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कतार विश्वकप खेल्ने नेपालको सपना समाप्त

जोर्डनसँग नेपाल ३-० गोलले पराजित

Read Time : > 2 मिनेट
२०७८ जेठ २५ मंगलबार ०५:०९:००

जोर्डनविरुद्ध सोमबार राति भएको खेलमा पराजित भएपछि अर्काे वर्ष कतारमा आयोजना हुने विश्वकप खेल्ने नेपालको सपना दोस्रो चरणको छनोटमै टुंगियो, एसियनकपको सम्भावना भने अझै जीवित

अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप खेल्ने नेपालको सपना पूर्ण रूपमा समाप्त भएको छ । सोमबार भएको खेलमा जोर्डनसँग ३–० गोलले पराजित भएसँगै नेपालको कतार विश्वकप सपना दोस्रो चरणको छनोटमै टुंगिएको हो । 

नेपाललाई तेस्रो चरणको छनोटमा स्थान सुरक्षित गर्दै कतार विश्वकप खेल्न जोर्डनविरुद्धको खेलमा जित अत्यावश्यक थियो । यद्यपि, खेलको सुरुवातबाटै रक्षात्मक देखिएको नेपालले आफूलाई आवश्यक नतिजा निकाल्न सकेन । दोस्रो चरणको छनोटका आठ समूहको विजेता एक–एक र दोस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट चार गरी १२ टोली कतार विश्वकपको तेस्रो चरणको छनोट प्रतियोगितामा पुग्ने व्यवस्था छ । छनोटका सुरुवाती प्रायः खेलमा पराजय व्यहोरेको नेपालको तेस्रो चरण प्रवेश गर्ने सम्भावना गणितीय रूपमा मात्रै बाँकी थियो । जोर्डनसँगको पराजयपछि त्यही गणितीय सम्भावना पनि समाप्त भएको हो । 

यससँगै नेपाल विश्वकप छनोट इतिहासमा फेरि पनि दोस्रो चरण पार गर्न असफल देखिएको छ । नेपालले यसअघि ७ वटा विश्वकपको छनोट प्रतियोगितामा सहभागी हुँदा ६ पटक पहिलो चरणबाटै बाहिरिएको थियो । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोटमा भने पहिलो चरण पार गरेको नेपाल दोस्रो चरणभन्दा अघि बढ्न सकेन । नेपालले यसपटक वरीयताका आधारमा सीधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्ने अवसर पाएको थियो । 

विश्वकप छनोटबाट बाहिरिए पनि सन् २०२३ मा चीनले आयोजना गर्ने एसियनकपको तेस्रो चरणको छनोटमा पुग्ने नेपालको सम्भावना भने अझै बाँकी छ । कुवेतको जाबर अल अहमाद इन्टरनेसनल स्टेडियम भएको खेलमा नेपाल सुरुवातबाटै दबाबमा देखियो । फलस्वरूप नेपाल खेलको २२औँ मिनेटबाट गोल व्यहोर्न पुग्यो । 

रक्षक रोहित चन्दले मौसा मोहम्मद सुलेइमानलाई आफ्नो बक्सभित्र लडाएपछि मलेसियन रेफ्री मोहम्मद अमिरुल इजवानले जोर्डनलाई पेनाल्टी अवसर दिए । जसलाई सदुपयोग गर्दै बाहा फैजल सेइफले जोर्डनलाई १–० ले अघि बढाए । बाहा फैजलको प्रहारलाई नेपाली गोलरक्षक किरणले सही ठम्याएका थिए । यद्यपि, बाहा फैजलको सशक्त प्रहार किरणको हातभन्दा माथिबाट जाली चुम्न पुग्यो ।

नेपालले खेलको ४९औँ मिनेटमा अर्काे गोल व्यहोर्‍यो । यसपटक पनि बाहा फैजलले नै गोल गरे । झन्डै २५ यार्ड दूरीबाट उनले प्रहार गरेको फ्रिकिक सीधै गोलमा परिणत भएको थियो । यसपटक पनि उनको प्रहार नेपाली गोलरक्षक किरणको टाउको माथिबाट जाली चुम्न पुगेको थियो ।

खेलको ६७औँ मिनेटमा नेपालले तेस्रो गोल बेहोर्‍यो । इसान हाड्डाडको क्रसमा यजान अलअरबले हेडिङ गरेको बल भुइँमा ड्रप भएर गोलरक्षक किरण चेम्जोङलाई समेत नाघेर गोलमा परिणत भएको थियो । शारीरिक र प्राविधिक रूपमा पनि बलियो देखिएको जोर्डनले नेपालको पोस्टमा अरू धेरै आक्रमण गरेको थियो । उसका धैरै उत्कृष्ट प्रहारमा नेपाली गोलरक्षक किरण बाधक बने । खेलको १५औँ मिनेटमा जोर्डनका मौसा मोहम्मदले झन्डै २० यार्ड दूरीबाट गरेको सशक्त प्रहारलाई गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरेका थिए । 

यस्तै, खेलको ४२औँ मिनेटमा जोर्डनले अर्काे सशक्त आक्रमण गरेको थियो । अलियाद ओल्वानले क्रस गरेको बललाई मौसा मोहम्मदले सिक्स यार्ड बक्सभित्रबाट फ्री हेडिङको अवसर पाएका थिए । उनको प्रहारलाई पनि गोलरक्षक किरणले उत्कृष्ट बचाउ गरे । 

खेलको ५८औँ मिनेटमा नेपालले एउटा राम्रो अवसर खेर फाल्यो । डी बक्सभित्र जोर्डनका रक्षकहरूसमेत बिट भइसकेको अवस्थामा प्राप्त बललाई नवयुग श्रेष्ठले लिन सकेनन् । जोर्डनका गोलरक्षक मुताज यासिनसँग वान भर्सेस वानको अवस्थामा पुग्नुअघि नै नवयुगले बल आफ्नो नियन्त्रणबाट फुत्काए । नेपालले खेलमा पाएको त्यही एउटा राम्रो अवसर थियो ।

जोर्डनविरुद्ध प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अघिल्लो खेलबाट तीन खेलाडीलाई परिवर्तन गरेका थिए । चाइनिज ताइपेईविरुद्ध पहिलो रोजाइमै मैदानमा उत्रिएका रक्षक गौतम श्रेष्ठ, मिडफिल्डर सुनील बल र स्ट्राइकर आशिश लामाको स्थानमा प्रशिक्षक अब्दुल्लाहले रक्षकद्वय दिनेश राजवंशी, विकास खवास र स्ट्राइकर अभिषेक रिजाललाई अवसर दिएका थिए । प्रशिक्षक अलमुताइरीले मिडफिल्डमा रक्षक सुमन अर्याललाई खेलाएका थिए ।