एक साताअघि नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणबारे छानबिन गर्न गठित समितिले पीडितहरू आवेगमा आएर घटना भएको प्रतिवेदन तयार गरेको छ ।
दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारको क्रममा १३ जेठमा मृत्यु भएपछि उनका भाइ मानबहादुरसहितका आफन्तले स्वास्थ्यकर्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए । डाक्टर र स्टाफ नर्सहरूले एक तलामाथिबाट हाम फालेर ज्यान जोगाएका थिए । मानबहादुर एमालेको दाङ निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज तथा लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् ।
घटनाको छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा भेरी अस्पताल विकास समितिका सदस्यद्वय कृष्णप्रसाद श्रेष्ठ र धनराम ओली, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण, नेपाल नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी, नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा. रोमन किदवाई, जिल्ला प्रहरी कार्यालयका डिएसपी सुभाष खड्का सदस्य रहेको समिति बनाइएको थियो ।
सडिओ शिवराम गेलाल
छानबिन प्रतिवेदन सार्वजनिक गर्दै बाँकेका सिडिओ शिवराम गेलालले भने, ‘मृतकका आफन्तलाई रिस उठ्नु स्वाभाविक हो । रिस थाम्न नसक्दा गालीगलौज र हातपात हुन सक्छ । यसमा अस्पताल प्रशासन सजग हुन जरुरी छ ।’
दोषीमाथि कारबाहीको माग गर्दै भेरी अस्पतालका चिकित्सक, स्टाफ नर्स र स्वास्थ्यकर्मी अहिले पनि आन्दोलनमा छन् । उनीहरूले हरेक दिन साँझ एक घन्टा सांकेतिक विरोधका कार्यक्रम गरिरहेका छन् । राजनीतिक शक्तिको आडमा दोषीलाई उन्मुक्ति दिन नहुने भन्दै स्वास्थ्यकर्मीको आन्दोलन जारी रहेकै वेला बुधबार छानबिन समितिले घटना आवेगमा भएको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदन सार्वजनिक गर्दै बाँकेका सिडिओ शिवराम गेलालले आफन्तको मृत्युपछि परिवारका सदस्य आवेगमा आएर घटना भएको बताए । ‘मृतकका आफन्तलाई रिस उठ्नु स्वाभाविक हो । रिस थाम्न नसक्दा गालीगलौज र हातपात हुन सक्छ । यसमा अस्पताल प्रशासन सजग हुन जरुरी छ,’ उनले भने ।
यद्यपि, प्रतिवेदनमा अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गर्नु गलत भएको पनि उल्लेख छ । ‘अस्पतालजस्तो संवेदनशील ठाउँमा तोडफोड र हातपात गर्नु गलत हो, तर अस्पताल प्रशासनले पनि सुधार गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
छानबिन समितिका सदस्यहरूले भने प्रतिवेदन पीडितको पक्षमा भएको दाबी गरेका छन् । समिति सदस्य तथा नर्सिङ संघकी जिल्ला अध्यक्ष केसीले प्रतिवेदन तयार गर्दा आफूले घटना सुनियोजित रूपमा भएको लेख्न अडान राखेको बताइन् । ‘मैले घटना सुनियोजित भएको भन्दै प्रतिवेदनमा लेख्नुपर्ने कुरा राखेकी थिएँ । तर, अन्य सदस्यले सुनियोजित नभई आवेगमा आएर भएको अडान लिए,’ उनले भनिन् । केही त्रुटि भए पनि प्रतिवेदन पीडितको पक्षमा रहेको उनले बताइन् । घटनामा संलग्नहरूलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउन प्रतिवेदनले सुझाब दिएको उनको भनाइ छ ।
समितिका अर्का सदस्य डा. कर्णले पीडित र पीडकको बयान तथा घटना प्रकृतिका आधारमा प्रतिवेदन तयार पारिएको बताए । प्रतिवेदनमा ‘आवेगमा आएर घटना भएको’ भन्ने उल्लेख भए पनि अस्पतालजस्तो संवेदनशील ठाउँमा आएर चिकित्सक र स्टाफ नर्समाथि हातपात गर्ने तथा अस्पतालको भौतिक संरचनामा तोडफोड गर्ने दोषीलाई कडा कारबाही गर्न स्थानीय प्रशासनलाई सिफारिस गरिएको बताए ।
‘हामीले पीडितको पक्षमा नै प्रतिवेदन तयार गरेका छौँ । तर, पीडितसँगै पीडकको कुरा पनि समेट्नुपर्ने भएकाले प्रतिवेदनमा आवेगमा घटना भएको उल्लेख गरेका हौँ,’ डा. कर्णले भने । दोषीलाई कानुनी दायरामा ल्याउन प्रतिवेदनले सहयोग गर्ने उनको दाबी छ । ‘हामी पीडितकै पक्षमा छौँ । प्रतिवेदनले पीडकलाई कारबाही र पीडितलाई न्यायको आवाज उठाएको छ,’ उनले भने ।
अर्का सदस्य श्रेष्ठले पनि प्रतिवेदन न्यायोचित भएको जिकिर गरे । ‘प्रतिवेदन पीडित चिकित्सक र स्टाफ नर्सको भावनाविपरीत छैन । हामीले दोषीलाई दोषका आधारमा कानुनी कारबाही गर्न सुझाब दिएका छौँ । यो प्रतिवेदन पक्ष–विपक्षको आधारमा तयार पारिएको होइन,’ उनले भने ।
पीडकले गल्ती स्वीकार गरी आत्मालोचना गरेको र घटनाको प्रकृतिअनुसार कारबाही भोग्न तयार भएको बयान छानबिन समितिलाई दिएको श्रेष्ठले बताए । ‘हामी पीडकलाई उन्मुक्ति दिने पक्षमा छैनौँ । के कारणले घटना भयो र घटना हुन नदिन अस्पतालले के–के गर्नुपर्दथ्यो भन्ने सुझाब मात्र दिएका हौँ,’ उनले भने ।
हातपात गर्ने तीनजनामाथि ज्यान मार्ने उद्योगको मुद्दा
स्वास्थ्यकर्मीमाथिको कुटपिटमा संलग्न रहेको भन्दै नियन्त्रणमा लिइएका तीनजनालाई कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको सिडिओ गेलालले बताए । मृतकका भाइहरू मानबहादुर रावत र भरत रावत तथा छोरा लोकराज रावतविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको उनले बताए ।
मानबहादुर एमालेको दाङ निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज र लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलसँग उनको नजिकको सम्बन्ध छ । दाजुलाई भर्ना गरेदेखि नै उनले मुख्यमन्त्री पोखरेलको आडमा कोभिड वार्डमा कार्यरत चिकित्सक र स्टाफ नर्समाथि दबाब दिँदै आएको अस्पताल स्रोतको भनाइ छ ।
मानबहादुरले तत्कालीन तुल्सीपुर नगरपालिकाका मेयर घनश्याम पाण्डेका स्वकीय सचिवका रूपमा पनि काम गरेका थिए । सरकारी जागिर छोडेर राजनीतिमा होमिएका उनीमाथि बलात्कार मुद्दासमेत लागेको थियो । त्यसमा उनले अदालतबाट सफाइ पाएका थिए ।
अस्पतालका २० कमी–कमजोरी औँल्याउँदै २५ सुझाब
छानबिन समितिले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अस्पतालका २० कमी–कमजोरी औँल्याउँदै २५बुँदे सुझाब दिएको छ । ‘हालै घटित केही प्रतिनिधिमूलक घटनाबाट पाठ सिक्दै भविष्यमा त्यस प्रकारका अप्रिय घटना दोहोरिन नदिन निम्नानुसारका अल्पकालीन र दीर्घकालीन सुधारका पक्षमा ध्यान दिन जरुरी देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।
घटना हुँदा सुरक्षाकर्मीहरूबीच पनि समन्वय नभएको छानबिन प्रतिवेदनमा औँल्याइएको छ । ‘अस्पताल परिसरमा सुरक्षार्थ खटिएका नेपाल प्रहरी र अन्य सुरक्षाकर्मीबीच समन्वय अभाव भएको छानबिन समितिले औँल्याएको छ । आइसियू कक्षभित्र चिकित्सक र स्वास्थ्यकर्मीहरू पिपिईलगायत स्वास्थ्य सामग्रीबाट सुसज्जित हुनुपर्ने, उपचारमा व्यस्त हुने र अकस्मात् कुनै समस्या आए तत्काल खबर गर्ने संयन्त्र अस्पतालमा भएको देखिएन,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनमा थप भनिएको छ, ‘अपेक्षित परिणाम हासिल गर्नका लागि काम गर्ने उपयुक्त वातावरण, साधन–स्रोतको उचित व्यवस्थापन, सुविधाको न्यायोचित वितरण, कानुन, कार्यविधि र मापदण्डको निष्पक्ष कार्यान्वयनजस्ता कुरा आवश्यक हुन्छन् । अन्यथा कानुन मिच्ने प्रवृत्तिको विकास हुने र राज्यको लगानीबाट प्रतिफल प्राप्त गर्ने अधिकारबाट नागरिक वञ्चित भई संस्थाप्रति नै वितृष्णा जाग्ने हुन्छ ।’
अस्पतालमा आउने बिरामीलाई तत्काल रेस्पोन्स गरी रोगको प्रकृतिअनुसार उपचार गरी सन्तुष्टि दिनुपर्ने, अस्पतालमा कार्यरत सबैले आफूलाई सेवकका रूपमा लिई सेवाग्राहीलाई गर्ने व्यवहारमा नम्रता र शिष्टता ल्याउने, कोरोना संक्रमितको उपचार गर्ने वार्डमा हुने अनधिकृत प्रवेशमा रोक लगाई बिरामी र कुरुवाका लागि पासको व्यवस्था गर्नुपर्ने सुझाब समितिले दिएको छ । ‘अस्पतालको मूल गेट बन्द गरी सानो गेटबाट मात्र सर्वसाधारणलाई आवतजावत गर्न दिने व्यवस्था मिलाउने तथा एम्बुलेन्स, अक्सिजन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य स्वास्थ्य सामग्री बोकेका सवारीसाधनलाई बाहेक अन्यलाई प्रवेशमा रोक लगाउन आवश्यक छ,’ प्रतिवेदनमा अस्पताललाई सुझाब दिइएको छ ।