
छत्रपाटी निःशुल्क चिकित्सालयमा बुधबारदेखि ‘विशेष कोभिड अस्पताल’ सञ्चालनमा आएको छ । अस्पतालको पूर्वाधार सुधारका लागि काठमाडौं महानगरले एकमुष्ट ३० लाख ३४ हजार र मासिक सञ्चालन खर्चबापत करिब ४८ लाख १६ हजार रुपैयाँ व्यहोर्नेछ । महानगरले गत ३१ वैशाखमा अस्पताल सञ्चालनका लागि सम्झौता गरेको थियो ।
महानगर प्रमुख विद्यासुन्दर शाक्यले अहिले जनताको जीवन रक्षाका आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकतामा राखेको बताए । ‘अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकाले सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन,’ शाक्यले भने ।
महानगरलाई भगिनी सहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये दुईवटा छत्रपाटी चिकित्सालयलाई दिइएको छ । अस्पतालले खरिद गर्ने थप तीनवटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गरिदिनेछ ।