नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि पनि सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्छ भन्ने विश्वास रहेको बताएका छन् । नयाँबानेश्वरस्थित संसद् भवनमा विपक्षी गठबन्धनको बैठकपछि बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै फेरि पनि सर्वोच्च अदालतले पुनर्स्थापना गर्छ भन्ने विश्वास व्यक्त गरे ।
‘राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवेधानिक र अलोकतान्त्रिक मात्रै होइन, निरंकुश स्वेच्छाचारी र प्रतिगमनकारी छ, र हामी यसको सशक्त प्रतिवाद गर्छौँ । त्यो प्रतिवाद राजनीतिक र कानुनी दुवै ढंगले हुन्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले हिजो १४९ जनाले हस्ताक्षर गरेर प्रधानमन्त्रीका लागि दाबी गरेका थियौँ, अब यो प्रतिगमनकारी कदमका विरुद्ध हुने सबै सांसदहरू हस्ताक्षरसहित हामी सर्वोच्च अदालत जान्छौँ । विश्वास छ, प्रतिनिधिसभा पुनर्स्थापना हुनेछ ।’
अध्यक्ष प्रचण्डले अघिल्लोपटक पनि प्रतिनिधिसभा विघटनका विरुद्ध सडक र अदालत दुवै ठाउँमा राम्रै प्रतिवाद भएको, र अन्ततः प्रतिनिधिसभाको पुनर्स्थापना भएको स्मरण गराए । ‘हामी फेरि पनि त्यस्तै प्रतिवाद गर्छौँ । अदालतमा हामी संसद्भित्रै अर्को सरकार गठन हुने विकल्प बाँकी भएको प्रमाणित गर्छौँ । र, अन्ततः अदालतले फेरि एकपटक लोकतन्त्रको पक्षमा अदालतले फैसला गर्नेछ,’ उनले भने ।
अध्यक्ष प्रचण्डले यो महामारीका वेला सबै शक्ति मिलेर महामारीविरुद्ध प्रतिवादमा उत्रिनुपर्ने वेला मा प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रपूर्वक देशलाई दुर्घटनातिर लगेको भन्दै त्यसका विरुद्ध स्थानीय तहदेखि नै यसको प्रतिवाद हुने बताए । ‘प्रतिगमनका विरुद्ध कति मान्छेहरू सडकमा आउँछन् र हिजो पनि आएका थिए, अब पनि त्यस्तै प्रतिवाद हुन्छ,’ उनले भने ।
घोषणा गरिएको चुनाव मान्नुहुन्छ कि हुन्नँ भन्ने प्रश्नमा अध्यक्ष प्रचण्डले अहिले त्यसबारे छलफल भइरहेको बताए । ‘हामीलाई निर्वाचन गर्नका लागि घोषणा गरिएको भन्ने विश्वास छैन, त्यसमाथि यो संविधानसम्मत नै छैन,’ उनले भने ।