मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका नयाँदिल्ली
२०७८ जेठ ८ शनिबार ०८:२३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलका बाँकी खेल युएईमा गराउने पक्षमा बिसिसिआई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
२०७८ जेठ ८ शनिबार ०८:२३:००

थोरै बजेटमा बेलायतमा भन्दा युएईमा १४औँ आइपिएलका बाँकी ३१ खेल आयोजना गर्न सकिने बिसिसिआईको भनाइ छ, बेलायतको तुलनामा युएईमा यातायातदेखि होटेलमा कम खर्च प्रतियोगिता आयोजना गर्न सकिन्छ

१४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी ३१ खेल आयोजना गर्न बेलायत, अस्ट्रेलिया, श्रीलंका तथा युएईले प्रस्ताव राखेका छन् । क्रिकेट समर्थकहरूले आइपिएल कहाँ हुन्छ भनी प्रतीक्षामा छन् । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एकपटक आइपिएलका बाँकी खेल युएईमा गराउने चासो देखाएको भारतीय समाचार संस्थाहरूले जनाएका छन् । 

बिसिसिआईका सिइओ हेमाग अमिनले २९ मेमा हुने विशेष बैठकले आइपिएलका बाँकी ३१ खेल कहाँ गरिने भन्ने निर्णय हुन सक्ने बताएका छन् । सिइओ अमिनका अनुसार बोर्ड युएईमै आइपिएल गराउने पक्षमा छ । गत महिना दिल्ली क्यापिटल्सका अमित मिश्रा, सनराइजर्स हैदरावादका रिद्धिमान साह तथा कोलकात्ता नाइट राइडर्सका सन्दीप वारियर, वरुण चक्रवर्ती, चेन्नई सुपर किंग्सका बलिङ प्रशिक्षक बालाजी तथा ब्याटिङ प्रशिक्षक माइकल हसी कोरोना संक्रमित भएपछि आइपिएल तत्कालका लागि स्थगित गरियो । 

आइपिएल स्थगित हुनुअघि २९ खेल भइसकेका थिए । बिसिसिआईले सहभागी खेलाडी, प्रशिक्षक तथा चिकित्सकहरूको स्वास्थ्य सुरक्षा मध्यनजर राखी आइपिएल तत्काल स्थगित भएको जनाएको थियो । त्यसपछि आइपिएलका बाँकी खेल कहाँ हुने चर्चा भएको हो । १३औँ संस्करणको आइपिएल पनि कोरोना महामारीकै कारण युएईमा भएको थियो । 

यसपटक बिसिसिआईले युएईलाई नै रोज्नुका धेरै कारण छन् । युएईमा आइपिएल हुँदा यसको बजेट निकै कम हुनेछ । यदि यो प्रतियोगिता बेलायतमा हुँदा त्यहाँको यातायात खर्च नै धान्न नसक्ने हुन सक्छ । बेलायतका होटेल र रंगशालाको खर्चभन्दा युएईमा निकै सस्तो पर्न सक्ने बिसिसिआईका सिइओ अमिनले बताएका छन् । 

‘युएईमा भएका सबै रंगशालामा सहजै सडकमार्गबाट टोली पुग्न सकिन्छ, इंग्ल्यान्डमा यात्रा धेरै गर्नुपर्ने भएकाले खर्च त्यति नै बढ्न सक्छ, साथै धेरै यात्रा गर्दा खेलाडी संक्रमित हुने सम्भावना पनि छ,’ सिइओ अमिनले भने । बिसिसिआईले युएईलाई रोज्नाको अर्को कारण मौसम पनि हो । आइपिएलका बाँकी खेल सेप्टेम्बर महिनामा गराउने तयारी छ । 

यदि यस महिनामा आइपिएल बेलायतमा भए, त्यहाँ धेरै समस्या आउन सक्छ । सेप्टेम्बर महिनामा बेलायतमा मौसमको केही भन्न सकिन्न । यस समयमा यहाँ अचानक भारी पानी पर्न सक्छ । सेप्टेम्बर महिनामा बेलायतमा अन्तर्राष्ट्रिय खेल हुँदा वर्षाका कारण नै कैयौँ खेल रद्द भएका उदाहरण पनि छन् । युएईमा मौसममा केही समस्या छैन । यस समयमा युएईमा सामान्य जाडो हुनेछ । 

गत संस्करण आयोजना गरेका कारण नै युएईसँग आइपिएल कसरी गर्ने भन्ने अनुभव छ । अहिलेसम्म बेलायतले आइपिएल गरेको अनुभव छैन । पछिल्लोपटक युएईले तीन सहरमा मात्र आइपिएल आयोजना गरेको थियो । त्यसवेला युएईले यस तीन सहरमा विश्व स्वास्थ्य संगठनले जारी गरेको प्रोटोकल अपनाइएको थियो ।बिसिसिआईलाई आइपिएलका बाँकी खेल सम्पन्न गर्नुपर्ने दबाब छ । यदि योपटक कोरोना महामारीका कारण आइपिएल सञ्चालन भएन भने बिसिसिआईलाई २५ सय करोड नोक्सानी बेहोर्नुपर्छ । इमरेट्स क्रिकेट बोर्ड (इसिबी)ले बिसिसिआईलाई आफूहरू अबुधावी, दुबई तथा सारजहाँमा सफलतापूर्वक आइपिएल गराउन सक्ने विश्वास दिलाएको छ ।

‘हामीले पछिल्लोपटक सबै प्रोटोकल अपनाएर १३औँ आइपिएल भव्यताका साथ गरेका थियौँ, यसपटक पनि कुनै कमजोरीविना नै आइपिएल गर्न तयार छौँ,’ इसिबीले पठाएको मेलमा भनिएको छ, ‘हामीसँग पूरै आइपिएल सम्पन्न गरेको अनुभव छ ।’ 

 एजेन्सीहरूको सहयोगमा