मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ५ बुधबार ०८:३७:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

१० हजार एन्टिजेन परीक्षण गर्दै काठमाडौं महानगर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ५ बुधबार ०८:३७:००

तरकारी बजारसहित धेरै मानिस भेला हुने ठाउँलाई पहिलो प्राथमिकतामा राखेर बृहत् परीक्षण

कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंको विभिन्न ठाउँमा एन्टिजेन्ट परीक्षण सुरु भएको छ । १० हजार मानिसमा एन्टिजेन परीक्षण गर्ने लक्ष्यअनुसार मंगलबारबाट काठमाडौं महानगरपालिका र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रूपमा परीक्षण थालेका हुन् । 

परीक्षण सुरुवात कालीमाटी तरकारी तथा फलफूल बजारबाट भएको छ । ‘स्वास्थ्य मन्त्रालय र सिसिएमसीले अहिलेसम्म संक्रमणको दर उच्च रहेका ठाउँहरू पहिचान गरेको छ । यसरी पहिचान भएका ठाउँहरूमा गएर बृहत् परीक्षण हुनेछ,’ महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले भने, ‘संक्रमणको सक्रिय अवस्था थाहा पाउन यो उपयुक्त विधि हो । परीक्षण गरिएका सबै व्यक्तिलाई रिपोर्ट नआउन्जेल आइसोलेसनमा बस्न भनेको उनले जानकारी दिए । 

परीक्षणका लागि कालीमाटी पुगेका महाशाखाका ल्याब टेक्निसियन निरीक्षक भोला अधिकारीले भने, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।’ 

महानगरका अनुसार बुधबार वडा नम्बर ३२ को तरकारी बजारमा एन्टिजेन परीक्षण हुनेछ । तरकारी बजारसहित अहिले पनि धेरै मानिस भेला हुने ठाउँलाई पहिलो प्राथमिकतामा राखिएको महानगरले जनाएको छ । महानगरका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार तरकारी बजारपछि धेरै संक्रमण देखिएका वडामा परीक्षण गराउने योजना छ । परीक्षणका लागि १५ जना स्वास्थ्यकर्मीको टोली परिचालन भएको छ । उनीहरूका अनुसार कसैको शरीरमा कोरोना भाइरसको प्रवेश भइसकेपछि लक्षण देखिन पाँच दिनसम्म लाग्न सक्छ । यसअघि (लक्षण देखिनुअघि) कसैमा कोरोना छ कि छैन भनेर थाहा पाउन यो परीक्षण प्रभावकारी मानिएको छ । महानगरका अनुसार पहिलो चरणमा करिब १० हजारजनाको एन्टिजेन परीक्षण गरिने भएको छ । 

दोस्रो चरणको खोप लगाउन ललितपुरले तोक्यो खोपकेन्द्र 
ललितपुर महानरपालिकाले दोस्रो चरणको चिनियाँ भेरोसेल खोप लगाउन खोप केन्द्र तोकेको छ । कोरोनाविरुद्धको दोस्रो चरणको खोप लगाउन २९ वटै वडाका सबैभन्दा धेरै पायक पर्ने ठाउँलाई खोपकेन्द्र बनाइएको महानगरले जनाएको छ । महानगरका अनुसार गत २५ देखि २८ चैतसम्म खोप लगाएकाले ६ जेठमा खोप लगाउन सक्नेछन् । महानगरले खोप लगाउन पहिलो चरणमा खोप लगाएको कार्ड र आफ्नो परिचय खुल्ने परिचयपत्र बोक्न आग्रह गरेको छ । २९ देखि ३१ चैतसम्म खोप लगाएकाले दोस्रो चरणको खोप ७ जेठमा लगाउन सक्नेछन् । १ देखि ४ वैशाखसम्म खोप लगाएकाले ९ जेठ, ५ देखि ९ वैशाखसम्म लगाएकाले १० जेठ, १० देखि १३ वैशाखसम्म लगाएकाले ११ जेठ, १४ वैशाखमा लगाएकाले १२ जेठ र १५ वैशाखमा लगाएकाले १३ जेठमा खोप लगाउन सक्नेछन् ।

महानगरपालिकाका अनुसार वडा नम्बर १ मा बस्नेका लागि वडा कार्यालय कुपण्डोल किरण भवन, वडा २ का लागि टीका विद्याश्रम मावि सानेपा, वडा ३ आइडिएल मोडल स्कुल ठाडोढुंगा, वडा ४ जाउलाखेल पुरानो वडा कार्यालय, वडा ५ महालक्ष्मी पार्टी भेन्यु थसिखेल, वडा ६ यशोधरा बौद्ध मावि प्रयागपोखरी, वडा ७ नेपाल भाषा मंका खल त्यागल, वडा ८ ललित निमावि. कुटीसौगल खोप केन्द्र तोकिएको छ । वडा नम्बर ९ का लागि ललित कल्याण आधारभूत विद्यालय भोलढोका, वडा १० आधारभूत स्वास्थ्य केन्द्र कृष्ण मन्दिर, वडा ११ हार्ट क्लिनिक मनिडो, वडा नम्बर १२ का लागि दरबार स्क्वायर हखाः कोट पाटी मंगलबजार, वडा १३ ल्यान्डमार्क स्कुल वडा कार्यालयसँर्ग कुसुन्ती, वडा १४ उमामहेश्वर सामुदायिक स्वास्थ्य केन्द्र वडा कार्यालयसँगै, वडा १५ महेन्द्र मावि, सातदोबाटो, वडा १६ नागबहाल स्वास्थ्य क्लिनिकमा गएर खोप लगाउन सक्नेछन् । 

यस्तै, वडा नम्बर १७ मा बस्नेका लागि प्रभात मावि त्यागल ग्वार्को, वडा १८ बालकुमारी आधारभूत विद्यालय भन्झाङ, वडा १९ मछिन्द्रबहाल टंगाल, वडा २० ख्वायवहिल वडा कार्यालय, वडा २१ युवा प्रतिभा मन्दिर मावि खोकना बसपार्कमाथि, वडा २२ बुङ्मती स्वास्थ्य चौकी, वडा २३ वडा कार्यालय भवन धापाखेल, वडा २४ तीनकुने वडा भवन धापाखेल, वडा २५ स्वास्थ्य चौकी वडा कार्यालयसँगै, वडा २६ सुनाकोठी मोतीविनायक स्कुल, वडा २७ सुनाकोठी स्वास्थ्य चौकी, सुनाकोठी, वडा २८ हरिसिद्धि स्कुल र वडा नम्बर २९ मातृशिशु स्वास्थ्य क्लिनिक हरिसिद्धि खोपकेन्द्र तोकिएको छ ।