मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ३ सोमबार ०९:५०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चार्टर उडानमार्फत धमाधम  स्वास्थ्य सामग्री आउँदै

२ सय ८७ उडानमार्फत ७ लाख ६८ हजार केजी सामान ओसारपसार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ३ सोमबार ०९:५०:००

स्वास्थ्य संकट गहिरिँदै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम चार्टर उडानमार्फत धमाधम निजी र सरकारी निकायले स्वास्थ्य सामग्री ल्याएका छन् । सरकारले जारी गरेको निषेधाज्ञा र हवाई यातायात बन्दका कारण चार्टर उडानमार्फत विदेशबाट स्वास्थ्य सामग्री ल्याइएको हो । वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा जेठको १५ गतेसम्म जारी रहने निर्णय भइसकेको छ । पछिल्लो १४ दिनमा २ सय ८७ वटा उडान भएका छन् । 

आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भए पनि सामान ढुवानीका लागि कार्गो उडान भने भइरहेका छन् । विमानस्थल कार्यालयका अनुसार मे १ देखि १४ सम्म गरी १४ दिनमा विश्वका विभिन्न देशबाट ३ लाख ६७ हजार ४ सय ८९ केजी सामान नेपाल भित्रिएको छ । यसैगरी, नेपालबाट विश्वका विभिन्न देशमा ४ लाख ८ सय ८४ केजी सामान निर्यात भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले अहिले आएका कार्गोमा अधिकांश स्वास्थ्य सामग्री भएको जानकारी दिए । ‘कसले के ल्याए भन्ने जानकारी विमानस्थललाई नहुने, तर अधिकांश स्वास्थ्य सामग्री नै भएको अनुमान छ,’ क्षत्रीले भने । 

नेपाल वायुसेवा निगमले चीनबाट आइतबार पनि अक्सिजनका सिलिन्डरसहित स्वास्थ्य सामग्री लिएर आएको छ । निगमका अनुसार मंगलबारसम्म लगातार कार्गो उडान गरेर स्वास्थ्य सामग्री ल्याउने जानकारी दिएको छ । अन्तर्राष्ट्रिय उडान तथा चार्टर उडानमार्फत कुल ७ लाख ६८ हजार ३ सय ७३ केजी सामान ओसारपसार भएकोमा आयात गरिएको सामानमध्ये धेरैजसो मेडिकल सामग्री तथा अक्सिजन सिलिन्डर रहेको छ । कार्यालयका अनुसार मे १४ मा ५० हजार २ सय ९०, मे १३ मा १ हजार ९ सय ४, मे १२ मा ६४ हजार ४ सय ७४, मे ११ मा ४३ हजार ९ सय ८८ र मे १० मा १२ हजार २ सय केजी सामान विश्वका विभिन्न ठाउँबाट हवाई मार्गमार्फत नेपाल भित्रिएको छ । 

यसैगरी, मे ८ मा ३६ हजार ३ सय ८८, मे ७ मा २२ हजार ९ सय ४९, मे ६ मा ३० हजार ८ सय ३४, मे ५ मा ३६ हजार ५ सय ८, मे ४ मा २५ हजार ६ सय १५, मे ३ मा २७ हजार ८२, मे २ मा ४३ हजार २ सय २८ र मे १ मा २४ हजार २ सय २२ केजी सामान अन्तर्राष्ट्रिय चार्टर उडानबाट नेपाल भित्रिएको थियो ।