मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ५ मंगलबार
  • Tuesday, 21 September, 2021
नवीन प्यासी काठमाडाैं
२०७८ जेठ २ आइतबार ०९:०५:००
Read Time : > 3 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

भुलिसकेको साइनो सम्झाउने ‘मितज्यू’

नाटक समिक्षा

Read Time : > 3 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७८ जेठ २ आइतबार ०९:०५:००

‘००७ सालभन्दा अघि मधेसको धेरै क्षेत्र जंगल नै थियो । औलोको बिगबिगीले पहाडे मूलका मानिस मधेस झर्न डराउँथे । सकेसम्म मधेसमा जाडोयाममा मात्रै आवतजावत गर्थे । तैपनि, पहाडका मानिस विभिन्न सिलसिलामा मधेस जानुपथ्र्यो । त्यसवेला पहाडका लिम्बु सुब्बाहरूले धिमाल, माझी, मुखियासँग मित लगाउँथे । त्यसपछि धिमाल मितसँगै भारतको नाकाहरूमा किनमेल गर्न पुग्थे ।’ (डा. जनक राई, हराउँदै मितेरी साइनो, नयाँ पत्रिका–०७६, माघ ) 

राईले यही आलेखमा थपेका छन्, ‘जातीय र सांस्कृतिक बहुलता भएको नेपाली समाज र विभिन्न समुदायबीच सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक आवश्यकताका कारण मितेरी प्रथाले व्यापकता पाएको हुनुपर्छ ।’ अहिले भने मित लगाउने प्रचलन हराउँदै गएको छ । पछिल्लो पुस्तामा त शून्य नै देखिन्छ । नयाँ पुस्तासँग यो शब्दसँग उस्तो अपनत्व र चासो पनि भेटिँदैन । 

मितेरी साइनोले बोकेर ल्याउने सामाजिक, सांस्कृतिक, ऐतिहासिक महत्वबारे छिटफुटबाहेक विमर्श भएको देखिँदैन । लगभग हराइसकेको यही मितेरी साइनोलाई मण्डला थिएटरका कलाकारहरूले भने खोज्ने प्रयत्न गरेका छन् । सोमनाथ खनालको लेखन, दयाहाङ राईको निर्देशन रहेको नाटक ‘मितज्यू’ले नेपालको पूर्वी भेगका दुई मितको कथालाई डिजिटल प्लेटफर्म युट्युबमार्फत प्रस्तुत गरेको छ ।    

‘मितज्यू’ दुई मितको कथा हो । विजय बराल (बुधवीर माझी) र बुद्धि तामाङ (फौदारी कान्छा लिम्बु)को मितेरी साइनोको लामो कथा वाचन गर्छ, नाटकले । यससँगै यी दुईको रूखसँगको सम्बन्धलाई पनि केलाइएको छ । लिम्बु, माझी र रूख तीनैजना बूढो भएका छन् । माझीको नदीछेउको घर भएर आउने सडकले रूखलाई ढाल्छ । रूख ढलेपछि लिम्बु च्याब्रुङ र माझी डुंगा बनाउनेबारे गफ गरिरहेका छन् । गफकै क्रममा उनीहरू स्मृतिमा पुग्छन् । युवावयका दिनमा पुग्छन् । 

प्रकृतिलाई पूजा गर्नु आदिवासीहरूको जीवन दर्शन हो । रूख ढल्नुअघि उनीहरू पनि रूखलाई पूजा गर्छन् । यो पूजा आदिवासीको जीवनदर्शनसँग मात्रै सम्बन्धित छैन प्रकृतिसँगको विश्वास र प्रेमसँग पनि सम्बन्धित छ । पछिल्लो समय पर्यावरणको विषय उठिरहेको छ । हामीले ल्याइरहेको विकासले गरेको विनाशमाथि प्रश्न उठिरहेको छ । डोजरले भत्काएको जमिनसँगै संस्कृति, पहिचान, विश्वास पद्धति, सभ्यता, इतिहास भत्किइरहेको अवस्था छ । हाम्रा सामाजिक सम्बन्ध, रहनसहन, खानपान, मानवीयता पनि संकटापन्न छ । अग्रजको अनुभव, सीप, ज्ञानहरू पुस्तान्तरण हुन सकेका छैनन् । र त नाटककी पात्र मनमाया लिम्बु दुई मितले डुंगा र च्याब्रुङ बनाउन लागेको देखेर भन्छिन्, ‘मित–मित मिलेर चिनो छोड्नु लाग्नुभएछ, राम्रै त हो नि । संस्कार सिक्छन्, पछिकाहरूले ।’ 

लगत्तै बुधवीर माझी भन्छन्, ‘आजकलको जमानामा कसले डुंगा चलाउने, कसले चाल्ने । सम्झना त होला नि ।’ मनमाया थप्छिन्, ‘अब हामी पनि त सम्झनामै जाने त हो नि ! बजाए सीप, सजाए सम्झना ।’ उनीहरूलाई शंका छ, नयाँ पुस्ताले आफ्ना सीप र ज्ञानलाई निरन्तरता देलान् कि नदेलान् । र पनि ८३ र ८१ वर्ष पुगिसकेका मितहरू ज्ञान र सीपलाई छाडेर जान चाहन्छन् । 

ज्ञान र सीप जोडिएको च्याब्रुङ र डुंगासँगै स्मृतिका गल्छेडाहरूमा पुग्छन्, दुई मित । लाहुरको कथा, फौदारी कान्छाको फौदारी, मनमाया र फौदारी कान्छाको अधुरो प्रेममा पुग्छन् । विगत उनीहरूको आँखैअघि आइपुग्छ । विगत सम्झेर कहिले रोमाञ्चित हुन्छन् त कहिले दु:खी । दुई मितको उमेरका यस्तै कथाको मियो समाउँदै नाटक अगाडि बढ्छ ।

लिम्बु समुदायको संस्कृति र जनजीवन खोतल्ने प्रयत्न

नाटकले पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति र जनजीवनलाई पनि खोतल्ने प्रयत्न गर्छ । तर, बोक्रा मात्रै उप्काएर भागिहिँड्छ, नाटक । उनीहरूको स्मृतिमा तोङ्बा, छ्याङ, फौदारी कान्छाको फौदारी, लाहुर प्र्रचलनले लिम्बु समुदायमा पारेको प्रभाव मात्रै छुस्स–छुस्स आउँछन् । अनि नाटक ‘स्किप’ भइजान्छ । बेनुका राईको पाश्र्व संगीतमा सुनिने नदीको कलकल आवाजजसरी नाटक बग्दैन, बरु उफ्रँदै–उफ्रँदै कहाँ–कहाँ पुग्छ । 

८० वर्ष नाघिसकेका वृद्धहरूको जीवनमा कति कहानी होलान् ? भन्न र सुनाउनका लागि कति कथा होलान् ? तोङ्बा खाने, फौदारी गर्ने र धाननाच नाच्ने काम मात्रै गरेनन् होला ! उनीहरूसँगै त्यस समयको राजनीतिक, आर्थिक, सामाजिक पाटाहरू पनि उप्किँदै जानुपर्ने हो । सुरुआती चरणमा नाटकले उप्काउने संकेत गर्दै जान्छ । तर, नाटक अगाडि बढ्दै जाँदा बिस्तारै सतहमा मात्रै दौडँदै जान्छ । नाटकले दर्शकलाई मनोरञ्जन त दिन्छ, तर गहिराइमा लिएर जान असमर्थ बन्छ । 

दुई मितको गहिरो सम्बन्ध र कथालाई भने नाटकले छाड्दैन, नाटकको नामै छ ‘मितज्यू’ । फौदारी कान्छाले बुद्धवीर माझीलाई पिट्न निरन्तर झम्टिएपछि गाउँलेले लगाइदिएको मितको साइनो अटुट छ, उनीहरूको । दुवैले चाहेका थिएनन्, मित लाउन । झगडा गरेपछि गाउँलेले लगाइदिए । फौदारी कान्छाले चाहेको त मनमायालाई थियो । भगाउन पनि लागेका थिए । मित बुद्धवीरले नदी तार्न डुंगो तयार गरिसकेको थियो । तर, माइती आइपुगेर मनमायालाई खोसिदिन्छन् । फौदारी कान्छा आजीवन अविवाहित रहन्छ । नाटकको अन्तिमतिर फौदारी कान्छाले मितलाई भन्छ, ‘चाहेको सम्बन्धचाहिँ बनेन, नचाहेको सम्बन्धचाहिँ कहिल्यै टुटेन है ?’ नाटकले दुई मितको प्रेम, अनुराग, विश्वासलाई भने सरल ढंगले भनिदिन्छ । दुई मितले दर्शकको एकाग्रतालाई कायम राखिरहन्छन् ।    

दर्शकलाई फौदारी कान्छा र बुद्धवीर माझीको साइनो केलाउने अवसर मण्डला थिएटरमा आफ्नो युट्युब च्यानलमार्फत दियो । तर, नियमित थिएटरमा गएर नाटक हेर्ने दर्शकलाई डिजिटल प्लेटफर्ममा हेर्दा उस्तो मजा नहुन सक्छ । एक ठाउँमा स्थिर रहेर स्टेजमा कलाकारको अभिनयको परख गर्ने दर्शकका लागि घरिघरि जुम इन, जुम आउट भइरहने नाटकले दिक्क बनाउन पनि सक्छ । 

चलिरहने क्यामेराको भाषा नाटकको होइन, सिनेमाको हो । नाटक त एक ठाउँमा बसेर आनन्दले ‘लाइभ’ हेर्दा आनन्द मान्छन्, दर्शकहरू । तर, कोभिडले थिलथिलो बनाएको समयमा युट्युबबाटै पनि दर्शकलाई नाटक हेर्ने मौका दिएको छ, मण्डला थिएटरले । लकडाउनको समयमा घरमै बसेर नाटकको आनन्द लिने साइत जुराइदिएको छ । ‘लाइभ’ अभिनय एक वर्षभन्दा बढी समयदेखि हेर्न नपाएका दर्शकलाई पुनः नाटकमा फर्काइदिएको छ । हराइसकेको मित लाउने चलनलाई पुनः सम्झाइदिएको छ । मित हुनुको मूल्य मान्यता, जिम्मेवारी, नैतिकतालाई खोतल्ने कोसिस गरेको छ । पुर्खाको ज्ञान, सीप, अनुभवलाई जोगाउन नयाँ पुस्तालाई अनुरोध गरेको छ । आफ्नो पहिचानप्रति अझै सचेत गराएको छ ।