कर्णाली प्रदेश अस्पतालले भन्यो– कोरोनाका जटिल बिरामी मात्र रिफर गर्नू

शनिबार, १ जेठ, २०७८
डिजिटल संस्करण

कर्णाली प्रदेश अस्पताल सुर्खेतले कारोनाका जटिल खालका बिरामीलाई मात्र अस्पताल पठाउन अनुरोध गरेको छ । शुक्रबार बेलुका नयाँ कोरोना बिरामी उपचार गर्न नसक्ने भन्दै सूचना जारी गरेको प्रदेश अस्पतालले शनिबार विज्ञप्ति जारी गर्दै कोरोनाका जटिल प्रकारका बिरामी भए मात्र अस्पतालमा रिफर गर्न स्थानीय तहसँग आग्रह गरेको हो ।

अस्पतालका प्रमुख डा. डम्बर खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा अस्पतालको सीमित स्रोत–साधनले उपचार गर्नुपर्ने अवस्था रहेकाले कोरोनाका जटिल बिरामीलाई मात्र उपचार गर्ने जनाएको हो । 

‘सबैतिर कोभिड–१९ महामारीका रूपमा फैलिएको र यसको उपचारमा अत्यावश्यक पर्ने अक्सिजनको आपूर्ति नहुँदा बिरामीको उपचारमा थप जटिलता हुँदै गएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस अस्पतालमा संकटको घडीमा स्वास्थ्य संस्थाहरू र त्यहाँ कार्यरत सबै तहका स्वास्थ्यकर्मीहरू अत्यन्त जिम्मेवार र संवेदनशील भई अझ मिहिनेतका साथ काम गर्नुपर्ने अवस्था रहनुका साथै अस्पतालमा रहेका सीमित स्रोत–साधनबाट अधिकतम तवरले स्वास्थ्य उपचारको काम भइरहेको वास्तविकतालाई मध्यनजर गरी स्थानीय स्वास्थ्य संस्थाहरूबाट सम्भव हुनेसम्मको उपचार त्यहीँबाट गर्न र सम्भव नहुने अवस्थामा मात्र यस अस्पतालमा रिफर गर्न अनुरोध गर्दछौँ ।’ 

सुझावित समाचार