मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २४ शुक्रबार
  • Friday, 11 July, 2025
२o७८ बैशाख २४ शुक्रबार १५:२९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कृत बालिकाले बच्चा जन्माएको तीन महिनापछि आरोपित पक्राउ

पुर्वपक्षका लागि कारागार चलान गर्न अदालतको आदेश 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख २४ शुक्रबार १५:२९:oo

गोरखामा १४ वर्षीया बालिकालाई बलात्कार गरेर फरार रहेका ६५ वर्षीय वृद्धलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत गोरखाले आदेश दिएको छ ।  शुक्रबार अदालतले गोरखा नगरपालिका– ८ का तुलबहादुर थापालाई कारागार चलान गर्न आदेश दिएको हो । 

‘बिहीबार पक्राउ गरेर थापालाई शुक्रबार अदालतमा पेस गरेका थियौँ । अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । तर, उनी भारत हुँदै आएकाले कोरोना परीक्षणका लागि बिहीबार नै स्वाब संकलन गरेर पठाएका छौँ । कोरोना रिपोर्ट आएपछि मात्रै कारागार चलान गर्नेछौँ,’ गोरखाका  प्रहरी प्रमुख एसपी शेखर खनालले भने । 

उनलाई हाल बुंकाेट अस्थायी प्रहरी चौकीको हिरासतमा राखिएको एसपी खनालले बताए । थापाले ०७७ वैशाख ११ गते जंगलमा निउरो खोज्न गएकी बालिकालाई विभिन्न प्रलोभन देखाएर बलात्कार गरेका थिए । बालिकालाई ललाइफकाई, प्रलोभन देखाएर बलात्कार गरेको घटना ०७७ मंसिरमा मात्रै परिवारले थाहा पाएका थिए । बालिकाको पेटमा बच्चा रहेको थाहा पाएपछि बालिकाको बाबुले मंसिर २३ गते जिल्ला प्रहरी कार्यालयमा थापाविरुद्ध जाहेरी दिएका हुन् ।

प्रहरीमा जाहेरी दिएको थाहा पाएपछि फरार रहेका प्रतिवादी थापालाई गोरखा प्रहरीले बिहीबार गोरखा नगरपालिका– १३ मझुवा देउरालीबाट पक्राउ गरेको डिएसपी प्रकाश दाहालले बताए ।  बालिकाको पेटमा ३० हप्ताको गर्भ रहेको र गर्भपतन गराउन नमिल्ने अवस्था भएको चिकित्सकले बताएपछि बालिकाले फागुन ३० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छोरा जन्माएकी थिइन् । बालिकालाई उपचारका लागि मातृ एन्जल्स नेपाल पोखराले सहयोग गरेको थियो । अहिले भने उनी आफ्नै परिवारको संरक्षणमा छिन् ।

लामो समयदेखि गोरखा प्रहरीले पीडक थापाको खोजी गरे पनि पक्राउ गर्न सकेको थिएन । ‘उनी भारत गएर बसेको र कोरोना संक्रमण तथा निषेधाज्ञाका समयमा उनी फर्कन सक्ने भएकाले नाकामा निगरानी गरेका थियौँ । उनलाई गोरखा भित्रिने नाका मझुवा देउरालीबाट पक्राउ गरेका हौँ,’ एसपी खनालले भने ।