१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख २१ मंगलबार १२:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना संक्रमणकै वेला विद्यालयमा धमाधम परीक्षा

विद्यालय बन्द गर्न प्रशासनको निर्देशन, परीक्षा सकेर मात्रै विद्यालय बन्द गर्ने तयारीमा स्थानीय तह

Read Time : > 1 मिनेट
२०७८ बैशाख २१ मंगलबार १२:१६:००

लमजुङमा समुदायस्तरमा कोरोना फैलिसकेको छ । कोरोनाकै कारण राइनास नगरपालिका– ७ गरमबेसीकी ३८ वर्षीय एक महिलाको मृत्युसमेत भइसकेको छ । कोरोनाको महामारी बढेपछि सरकारले विद्यालयहरू बन्द गर भनेर निर्देशन गरे पनि लमजुङका सरकारी तथा निजी विद्यालयले धमाधम परिक्षा सञ्चालन गरेका छन् । 

विद्यालयले आधारभूत स्वास्थ्य मापदण्डसमेत पालना गरेका छैनन् । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीले सोमबार स्थानीय तहलाई विद्यालय बन्द गर्न निर्देशन दिएको छ । बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षा सकेर वैशाख २७ पछि विद्यालय बन्द गर्ने बताए । उनले भने, ‘प्रशासनले विद्यालय बन्द गर्नु भनेर निर्देशन गरेको छ, हामी परीक्षा सकेर मात्र विद्यालय बन्द गर्नेछौँ ।’

सदरमुकामस्थित बेसीसहरमा रहेको जनविकास माविकी ३० वर्षकी शिक्षिकालाई कोरोना पजिटिभ देखिएको छ । शिक्षिकामा कोरोना देखिए पनि विद्यालयका शिक्षक र विद्यार्थीको भने कन्ट्याक्ट ट्रेसिङ गरिएको छैन । विद्यालयमा सोमबारदेखि कक्षा १ देखि ११ सम्मको परीक्षा सञ्चालन भएको छ । जनविकास माविको कक्षा ९ मा अध्यायनरत छात्र स्वर्णिम राईले कोरोना कहरमा डराइडराई परीक्षा दिन आउनुपरेको बताए । 

उनले भने, ‘सबै ठाउँमा विद्यालय बन्द भयो भन्ने सुनेको छु, हाम्रो स्कुलमा त परीक्षा सञ्चालन भएको छ ।’ जनविकासमा कक्षा १ देखि १२ कक्षासम्म एक हजार तीन सय ५० जना विद्यार्थी अध्ययनरत छन् भने विद्यालयमा ५७ जना शिक्षक रहेका छन् । सरकारले सबै विद्यालय र क्याम्पस बन्द गर्ने र परीक्षासमेत स्थगित गर्ने निर्णयलाई बेवास्ता गदै लमजुङका पाँच स्थानीय तहले वार्षिक परीक्षा सञ्चालन गरिरहेका छन् । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले लमजुङको विद्यालय तथा परीक्षा बन्द गर्न डिसिसिएमसीको बैठकले निर्णय गरेको बताए ।

 जिल्लाको आठ स्थानीयमध्ये मध्यनेपाल नगरपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाहेक जिल्लाका पाँचवटा स्थानीय तह बेसीसहर, सुन्दरबजार, राइनास नगरपालिका, मर्स्याङ्दी गाउँपालिका र क्होंलासोथर गाउँपालिकामा परीक्षा सञ्चालन भइरहेको छ । मध्यनेपाल नगरपालिकाले हाल बढिरहेको कोभिड– १९ को जोखिमयुक्त अवस्था र नेपाल सरकारको निर्णयलाई आत्मसात् गर्दै नगरपालिकाका सम्पूर्ण विद्यालयका भौतिक पठनपाठन अर्को निर्णय नहुन्जेलसम्मका लागि स्थगन गरिएको मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डेले बताए ।