मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
एजेन्सी सिंगापुर
२०७८ बैशाख २१ मंगलबार ११:००:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

कोरोना नियन्त्रणमा  न्युजिल्यान्डभन्दा पनि सिंगापुर अघि

Read Time : > 2 मिनेट
एजेन्सी सिंगापुर
२०७८ बैशाख २१ मंगलबार ११:००:००

सिंगापुरमा नियमित रूपमा कार्यालय तथा व्यापार व्यवसाय सुरु भएका छन् । यहाँका स्कुल र कलेजहरू पनि पूर्ण रूपले खुला भएका छन् ।

केही एसियाली देश कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरविरुद्ध लडिरहेका छन् । भारतमा त यसले भयावह रूप लिएको छ । अन्य दक्षिण एसियाली देशहरूको अवस्था पनि दयनीय छ । तर, एसियाकै देश सिंगापुर भने यतिवेला चैनको सास फेरिरहेको छ । सिंगापुरमा कोरोना संक्रमित र मृत्युदर अत्यन्तै थोरै छ । यहाँ सोमबार १७ जना मात्रै संक्रमित फेला परे भने हालसम्म जम्मा ८१ हजार दुई सय ३५ जना मात्रै संक्रमित भएका छन् । अहिलेसम्म यहाँ ३१ जनाको मात्रै संक्रमणबाट ज्यान गएको छ । 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को तथ्यांकअनुसार संक्रमितको तालिकामा सिंगापुर एसियाको ३४औँ र विश्वको एक सय चार स्थानमा छ । ब्लुमबर्गको रिपोर्टअनुसार सिंगापुरले कोरोना नियन्त्रणमा न्युजिल्यान्डलाई समेत पछि पारेको छ । यसअघि कोरोना नियन्त्रण गर्ने देशमा न्युजिल्यान्ड शीर्ष स्थानमा थियो । सिंगापुरमा कोरोना नियन्त्रण हुनुको प्रमुख कारण नागरिकमा खोपप्रतिको विश्वास नै हो । न्युजिल्यान्डमा पछिल्लो समय खोप अभियान सुस्त गतिमा भइरहेको छ । जसका कारणले पनि सिंगापुरले न्युजिल्यान्डलाई उछिनेको ब्लुमबर्गले जनाएको छ । 

खोप अभियानसँगै सिंगापुरले एक वर्षअघि अपनाएको स्वास्थ्य मापदण्डले पनि कोरोना महामारी नियन्त्रणमा सफलता दिएको हो । गत वर्ष यहाँ कार्यरत ४७ प्रतिशत स्वदेशी तथा विदेशी कामदार संक्रमित भएका थिए । यसलगत्तै सिंगापुरले कडा लकडाउन जारी गरेको थियो । 

खोप अभियानसँगै सिंगापुरले एक वर्षअघि अपनाएको स्वास्थ्य मापदण्डले पनि कोरोना महामारी नियन्त्रणमा सफलता दिएको हो । 

गत वर्ष १२ मार्चमा डब्लुएचओले कोभिड–१९ लाई महामारी घोषणा गर्‍यो । यो वेलासम्म विश्वका एक सय १४ देशमा कोरोना फैलिसकेको थियो । एक लाख २० हजारजना संक्रमित हुँदा ४३ सयले ज्यान गुमाएका थिए । यतिवेला सिंगापुरमा एक सय ७८ जना मात्रै संक्रमित भएका थिए । तथ्यांकअनुसार सिंगापुरमा तीन लाख २० हजार आप्रवासी श्रमिक छन् । धेरैजसो आप्रवासी श्रमिक उद्योग क्षेत्रमा काम गर्छन् । यसमध्ये ४७ प्रतिशत आप्रवासी श्रमिक संक्रमित भएपछि सिंगापुरले तत्कालै लकडाउन घोषणा गरेको थियो । सरकारले श्रमिकलाई एउटा घेराभित्र राखी हेरचाह र निरीक्षण गरेको थियो । यसै कारण नै अहिले श्रमिकहरूमा संक्रमण दर शून्यझैँ छ । सरकारले धेरै संक्रमित भएको स्थलमा नियमित सेनिटाइज, सरसफाइदेखि कोभिडविरुद्ध अन्य प्रोटोकल अपनाएको छ । 

संक्रमित घटेपछि सिंगापुर सरकारले लकडाउन हटाएको छ । अहिले यहाँ स्वदेशी तथा विदेशीहरूले डब्लुएचओको प्रोटोकल अपनाएर सहजै घुम्न सक्छन् । साथै स्वास्थ्य मापदण्ड अपनाएर बाहिर निस्कने तथा अफिस जान पनि थालेका छन् । अफिसमा सामाजिक दूरीको नियम यथावत् छ । सिनेमा तथा सपिङ मलमा जाँदा अनिवार्य मास्क लगाउनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्छ । हुलमुल हुने स्थानमा सरकारले कन्ट्याक्ट ट्रेसिङ एप्स राखेको छ । मास्क तथा भौतिक दूरी कायम गरी कलेज तथा स्कुल पूर्ण रूपमा खुला भएका छन् । सामूहिक रूपमा बाहिर घुम्नुपर्दा आठजना मात्र रहने नियम छ । 

गत वर्ष सिंगापुरको आर्थिक वृद्धिदर ५.८ प्रतिशत मात्र थियो । यसपटक ४ देखि ६ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने अनुमान गरेको छ । अमेरिका, भारत, ब्राजिल, युरोप, दक्षिण अमेरिका, अफ्रिका तथा केही एसियाली देशको तुलनामा यस वर्ष सिंगापुरको आर्थिक अवस्था राम्रो हुने विज्ञहरूले बताएका छन् ।

सिंगापुरका प्रधानमन्त्री ली सिएनले विश्व नै कोरोनाविरुद्ध लडिरहँदा सिंगापुरले मल्टी मिनिस्ट्री टास्क फोर्स रणनीतिअनुसार योजना बनाएको जानकारी दिएका छन् । यो नीति सफल बनाउन प्रधानमन्त्री ली सिएनले मन्त्रीहरूको क्षमताअनुरूप फेरबदल गरेका थिए ।

त्यसवेला सरकारसमक्ष कडा नीति लिनुपर्ने बाध्यता थियो । चीनबाट आएका व्यक्ति संक्रमित भएको सार्वजनिक भएपछि समग्र सिंगापुर नागरिक नै आत्तिएका थिए । धेरैजसोले छिटै लकडाउन हुने र बजारमा अतिआवश्यक खाद्यान्न सामग्री नपाउने अनुमान लगाएका थिए । ड्राई फुड, चामल तथा पास्ताजस्तो खाद्यान्न अचानक कमी हुन थाल्यो । सिंगापुरमा ९० प्रतिशत खाद्यान्न विदेशबाट आयात हुने गर्छ । संकटबाट मुक्ति पाउन सरकारले मलेसिया, इन्डोनेसिया, थाइल्यान्ड तथा अस्ट्रेलियाका विभिन्न कम्पनीसँग सम्झौता गर्‍यो । 

सामान्य जीवनमा फर्किएको सिंगापुरले अन्तर्राष्ट्रिय सिमाना अति नै कडा बनाइएको छ । विदेशबाट आउने सबैजसो सामग्रीलाई कडा निरीक्षणपछि मात्र प्रवेश दिइन्छ । यदि विदेशबाट आएका ती सामग्रीमा शंका लागे तत्कालै सुरक्षाकर्मीहरूले ल्याबमा पठाउनेछन् ।