१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १९ आइतबार ०९:२३:००
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

स्वर्ग र नर्कको भिन्नता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १९ आइतबार ०९:२३:००

भगवान् एक सन्तको ठूलो तपस्याबाट खुसी भएर साक्षात् उनका अघि प्रकट भएछन् । प्रसन्न भगवान्ले सन्तलाई वर माग्न अनुरोध गरे । सन्तले भगवान्सँग प्रश्न राखे, ‘भगवान्, यो स्वर्ग र नर्कमा यति धेरै भिन्नता किन छ ? किन दुवैलाई उस्तै बनाउन नसकिएको । यसबारे जान्न चाहन्छु ।’

सन्तको यस्तो प्रश्न सुनेपछि भगवान्ले सन्तलाई भने, ‘लौ हिडँ, म तिमीलाई प्रत्यक्ष स्वर्ग र नर्क देखाउँछु ।’ सुरुमा भगवान्ले सन्तलाई नर्क लगे । नर्कमा उनीहरू पहिले एक विशाल भोजनकक्षमा पुगे । त्यहाँका बासिन्दा खानाले भरिएको एउटा विशाल खड्कुँलो वरिपरि बसिरहेका थिए ।

सबै एकदम दुब्ला, कुपोषण लागेकाजस्ता देखिन्थे । प्रत्येकको हातमा कसिलो गरी भीमकाय डाडु बाँधिएको थियो । त्यसमा खाना त उठाउन सकिन्थ्यो, तर मुखसम्म पुर्‍याउन सकिँदैनथ्यो ।

यसले गर्दा सबै भोकै थिए । सबैको अवस्था भयावह थियो । यो देखेर सन्तले भगवान्सँग त्यहाँका बासिन्दाका हातमा त्यत्रो डाडु बाँधेर अन्याय भएको गुनासो गर्न थाले । जवाफमा भगवान्ले भने, ‘यसको जवाफ दिनुअघि म तिमीलाई स्वर्ग पनि देखाउँछु ।’ 

दुईजना स्वर्ग पुग्दा त्यहाँ पनि खाने समय भएको थियो । नर्कमा जस्तै यहाँ पनि उस्तै भोजन कक्ष, उस्तै टेबल थियो । यहाँसम्म कि खानाको वरपर बसेका मानिसको हातमा उस्तैगरी भीमकाय डाडु बाँधिएका थिए ।

तर, यहाँ भने सबै खुसी र हृष्टपुष्ट देखिन्थे । स्वर्गवासीले हातमा बाँधिएको डाडुको सहयोगले एक अर्कालाई खुवाइरहेका थिए । यो देखेर सन्तको मनमा केही बत्ती बलेजस्तो भयो । खासमा स्वार्थीपनले कुनै पनि स्थान नर्क बनाइदिनेरहेछ भने सहयोगीपनले स्वर्ग ।