१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७८ बैशाख १८ शनिबार ०८:३५:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

क्रिकेटका सबै गतिविधि अनिश्चितकालीन स्थगित

Read Time : > 2 मिनेट
२०७८ बैशाख १८ शनिबार ०८:३५:००

नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं उपत्यकालगायत देशको विभिन्न क्षेत्रमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १८) का कारण सबैखाले क्रिकेट प्रतियोगिता अनिश्चितकालीन स्थगित गरेको छ । क्यानका सचिव अशोकनाथ प्याकुरेलले शुक्रबार जारी गरेको विज्ञिप्तअनुसार कोरोना भाइरसलाई मध्यनजर गर्दै कोभिड– १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म देशभर सञ्चालन हुने सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हो । 

‘अहिले जुन किसिमले कोरोनाको दोस्रो लहर बढिरहेको छ, यो अवस्थामा कुनै पनि प्रतियोगिता सञ्चालन गर्न सक्ने अवस्थामा हामी छैनौँ,’ क्यानका सचिव प्याकुरेलले नयाँ पत्रिकासँग भने, ‘वर्तमान अवस्थाअनुसारै क्रिकेटका सबै गतिविधि बन्द गरेका हौँ ।’ प्याकुरेलका अनुसार जेठसम्म अवस्था सुधार भए प्रतियोगिता आयोजना गर्न सकिन्छ । जेठसम्म कोरोना अवस्थामा सुधार नआए गत वर्षझैँ यसपटक पनि क्रिकेट खेल प्रभावित हुने उनले बताए । 

क्यानका सचिव अशोकनाथ प्याकुरेल भन्छन् 

कोरोना भाइरसलाई मध्यनजर गर्दै कोभिड– १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म देशभर सञ्चालन हुने सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय भएको हो

‘हामीसँग जेठ महिनासम्म समय छ, त्यसपछि वर्षा मौसम सुरु हुन्छ, त्यो समयमा प्रतियोगिता सञ्चालन गर्न सकिँदैन,’ समस्या देखाउँदै उनले भने, ‘आशा गरौँ जेठसम्म कोरोनाको अवस्थामा सुधार आउने छ, त्यसपछि हामी क्रिकेट गतिविधि सुचारु गर्न सक्छौँ ।’ यो समय क्यानको मुख्य उद्देश्य नै पुरुषतर्फका यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हो । क्यानले महिलातर्फका सबैजसो क्रिकेट प्रतियोगिता आयोजना गरिसक्यो । देशमा लकडाउन खुकुलो भएसँगै क्यानले महिला मेयर कप, तीनवटा राष्ट्रिय महिला राष्ट्रिय क्रिकेट र पुरुषतर्फको राष्ट्रिय प्रतियोगिता आयोजना गरेको सचिव प्याकुरेलले बताए । 

यहीबीच क्यानले नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको त्रिकोणात्मक टी–२० सिरिज पनि सफलतापूर्वक गरेको थियो । त्रिकोणात्मकबाट कुशल भुर्तेल स्टार खेलाडीका रूपमा उदाएका थिए । उनले लगातार तीन खेलमा अर्धशतकीय इनिङ्स खेल्दै विश्वकीर्तिमान स्थापित गर्न सफल भए । उनले समग्रमा त्रिकोणात्मक सिरिजमा चार अर्धशतकको दुर्लभ कीर्तिमान बनाउन सफल भए । नेपालले घरेलु मैदानमा सन् २०१० पछि अन्तर्राष्ट्रिय क्रिकेट उपाधि जित्यो । त्यसवेला नेपालले आइसिसी डिभिजन ५ को उपाधि जितेको थियो । तर, टी–२० सिरिज भने नेपालले पहिलोपटक घरमै उचालेको हो । 

त्रिकोणात्मक सिरिससँगै क्यान पुरुषतर्फको यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजनाको तयारीमा थियो । क्यानलाई यू–१९ पुरुषतर्फको प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता पनि थियो । लकडाउन खुकुलो हुँदा देखि निषेधाज्ञा जारी भएको अवधिबीचमा यू–१९ पुरुषबाहेक अन्य सबै प्रतियोतिगा क्यानले सञ्चालन गरेको प्याकुरेलको भनाइ छ । यू–१९ पुरुषतर्फ जिल्ला, क्षेत्रीय तथा प्रादेशिक छनोट प्रतियोगिता क्यानले गर्न सकिरहेको थिएन । ‘हामीले त्रिकोणात्मक सिरिजपछि नै यू–१९ पुरुष राष्ट्रिय प्रतियोगिता गर्ने योजना बनाएका थियौँ,’ क्यानका सचिव प्याकुरेलले भने, ‘महामारी जुन रूपले अगाडि बढेको छ, यो थेग्न सक्ने अवस्था छैन ।’

उनका अनुसार तराईका २५ जिल्ला कोरोनाले अति नै प्रभावित छन् । क्यानले यू–१९ पुरुष राष्ट्रिय प्रतियोगिता गर्नुअघि जिल्ला, क्षेत्रीय तथा सातै प्रदेशमा छनोट प्रतियोगिता गर्नुपर्छ । तराईका जिल्ला अति नै जोखिम भएकाले तत्काल प्रतियोगिता आयोजना गर्न नसकिने उनको भनाइ छ । यसकारण नै तत्काल अर्को सूचना जारी नभएसम्म सबै गतिविधि स्थगित गरिएको उनले बताए । उनका अनुसार नामिबियासँगको एकदिवसीय सिरिज पनि स्थगित भएको छ । सचिव प्याकुरेलका अनुसार क्यानले आयोजना गर्ने मात्र नभएर जिल्ला तथा प्रादेशिक संघहरूले क्रिकेट खेलका सम्पूर्ण गतिविधि अर्को सूचना जारी नभएसम्म स्थगित
भएको छ । 

‘अर्को सूचना जारी नभएसम्म संघबाट प्रस्तावित राष्ट्रिय प्रतियोगितालगायत जिल्ला छनोट एवं प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रहरूसँग हुने भनिएको द्विपक्षीय तथा त्रिपक्षीय सिरिज तत्कालका लागि स्थगित गरिएको हो,’ उनले भने, ‘सोहीअनुसार जिल्ला एवं प्रादेशिश संघहरूले क्रिकेट खेलका सम्पूर्ण गतिविधिहरू संघबाट अर्को सूचना नआएसम्मका लागि स्थगित गरिसकेको छ ।’ 

यसैबीच क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको प्रावधानअनुसार क्यानलगायत विभिन्न क्लब, एकेडेमी, संघ तथा संस्थाहरूले आयोजना गरिने क्रिकेट प्रतियोगिताको कार्यविधि निर्माण गर्न लागेको बताए । ‘सोसम्बन्धी कार्यविधि निर्माण भई लागू नभएसम्म अन्य क्लब, एकेडेमी एवं संघसंस्थाहरूले आयोजना गर्ने प्रतियोगिताहरूमा जिल्ला एवं प्रादेशिक क्रिकेट संघहरूले स्वामित्व एवं आबद्धता नजनाउनसमेत क्यानले सूचित गरेको छ ।