मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ कार्तिक ७ आइतबार
  • Sunday, 24 October, 2021
रवि सेन्चुरी
२०७८ बैशाख १५ बुधबार ०९:२५:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रवासी मजदुरमा कोरोना कहर

Read Time : > 2 मिनेट
रवि सेन्चुरी
२०७८ बैशाख १५ बुधबार ०९:२५:००

सुर्खेत जिल्लाको पूर्वी–उत्तर क्षेत्रमा सिम्ता गाउँपालिका छ, जुन पालिका सल्यान र जाजरकोट जिल्लाको सीमासँग जोडिएको छ । सिम्ता कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरदेखि गाडीमा झन्डै दुई–तीन घन्टाको दूरीमा पर्छ । सिम्ता गाउँपालिका प्रदेशको राजधानी सुर्खेत जिल्लामा भए तापनि स्वास्थ्य, शिक्षा, अवसरका हिसाबले निकै नै पछि परेको छ । अध्ययनका क्रममा केही समयअघि सो पालिकाका विभिन्न वडामा पुगेको थिएँ । वडाका विभिन्न जनप्रतिनिधि र स्थानीय नागरिकसँग कुराकानी गर्ने क्रममा त्यहाँका नागरिकको प्रमुख रोजगारीस्थल भारत रहेको पाइयो । कुराकानी गरिरहँदा अपवादबाहेक यहाँ एक घर एक नागरिक भारत गएका रहेछन् । यहाँका नागरिकजस्तै अन्य गाउँपालिका, नगरपालिकाका साथै अरू जिल्लाका अधिकांश नागरिकको जीविकोपार्जन, रोजिरोटीका लागि प्रमुख विकल्प भारत नै रहेछ । कृषि उत्पादनमा कमी, प्रतिकूल प्राकृतिक बनावट आदि कारणले, अझ भन्दा मूलतः रोजगारीको कमीका कारण सामान्य दैनिक जीवन गुजारा गर्नका लागि पनि यहाँका नागरिक भारत जान बाध्य रहेछन् ।

कोही भारतबाट नेपाल आइरहेका छन् त कोही नेपालबाट भारत गइरहेका छन् । कोरोना संक्रमणको यो दोस्रो वेभमा पनि दैनिक कति नागरिक भारतबाट ओहोरदोहोर गरिरहेका छन् भन्ने सरकारसँग यकिन तथ्यांक छैन ।

भारतमा पाइने रोजगारीमै यहाँका अधिकांश परिवारको दैनिकी चलेको छ । यो यहाँको तितो यथार्थ हो । शिक्षाको कमी, अदक्ष र आर्थिक अभाव भएकाको पहिलो रोजाइ नै भारत हुने गरेको छ । नेपालगन्जसम्मको यात्रामा मसँगै रहेका एक मित्र विगत सात वर्षदेखि भारतमै काम गर्दै आइरहेका छन् । कोरोनाको पहिलो वेभ चल्दै गर्दा उनी परिवारसहित बडो दुःखकष्टका साथ आफ्नो घर त आइपुगे, तर यहाँ जति बस्यो, त्यति नै ऋण लाग्न थालेपछि उनी फेरि भारत जानका लागि नेपालगन्जसम्म छिन्छुदेखि हिँडेका थिए । उनी भारतका साहुले पत्याए भने काम पाइन्छ कि भन्ने आसमा त्यता लाग्दै थिए । अनिश्चित भविष्य बोकेर पाइला चाल्दै गर्दा अलिकति भए पनि घर परिवारको कष्ट कम गर्न सकिन्छ कि भन्ने उनको सोच थियो । कर्णाली प्रदेशका अधिकांश नागरिक नेपालगन्जको रुपैडिया नाका हुँदै भारतका विभिन्न ठाउँ जाँदारहेछन् । उनले भनेकै आधारमा रुपैडियातर्फको अवस्था बुझ्न मेरो पनि पाइला त्यतातर्फ लम्किनु स्वाभाविक थियो । नेपाल–भारतको नाकामा अधिकांश मानिस परिवारसहित भारत जान लाम लागेका थिए । रोगको पीडाले भन्दा पनि भोकको पीडाले गाँजेको सबैको अनुहारमा स्पष्ट पढ्न सकिन्थ्यो ।

रोजगारीका लागि नेपालगन्जको रुपैडिया नाकाबाट कर्णालीका नागरिक भारत गए जस्तै सुदूरपश्चिमको महेन्द्रनगर (वनवासा), वीरगन्ज (रक्सौल), बेलैया (सुनौली) र काँकडभिट्टा (रानीगन्ज) हुँदै कैयौँ जिल्लाबाट आमनेपालीहरू दिनहुँजसो भारत जाने क्रम अझै पनि जारी छ । कोही भारतबाट नेपाल आइरहेका छन् त कोही नेपालबाट भारत गइरहेका छन् । कोरोना संक्रमणको यो दोस्रो वेभमा पनि दैनिक कति नागरिक भारतबाट ओहोरदोहोर गरिरहेका छन् भन्ने सरकारसँग यकिन तथ्यांक छैन । पछिल्लो समय कोरोनाले भारतमा भयावह स्थिति पैदा गरिदिएको छ । विभिन्न समाचारअनुसार भारतमा दिनप्रतिदिन कोरोना संक्रमण तीव्र रूपमा बढिरहेको छ । संक्रमण बढेसँगै ैत्यहाँ सघन उपचार शड्ढया, औषधि र बिरामीलाई चाहिने न्यूनतम अक्सिजनको अभाव देखिएको छ र मानिस अक्सिजनको अभावमा ज्यान गुमाउन बाध्य छन् । तर, बेरोजगार नेपाली रोजगारीको खोजीमा त्यतैतिर लाग्न बाध्य छन् । भारतमा तीव्र रूपमा कोरोना संक्रमण बढेसँगै त्यहाँ रहेका नेपालीको अवस्था कस्तो छ ? कुन–कुन प्रान्तमा कति नेपाली यसबाट प्रभावित भएका छन् र कति यसबाट जोगिएका छन् भन्ने पनि सरकारसँग तथ्यांक छैन । विडम्बनापूर्ण नै भन्नुपर्छ कि सरकारले यसमा अझै पनि ध्यान दिन सकेको छैन ।

भारतले पहिलेकै जस्तै कडा लकडाउनको घोषणा गरेमा त्यहाँ रहेका नेपालीको उद्धार कसरी गर्ने भन्ने पनि सरकारसँग कुनै ठोस योजना छैन । रोजगारीका लागि विश्वका जुनसुकै मुलुकमा भए पनि सरकारले आफ्ना नागरिकप्रति देखाउनुपर्ने न्यूनतम चासो र चिन्ता पनि देखाउन सकेको छैन । यसमा के राज्य आफ्नो दायित्वबाट भाग्न खोज्दै छ ? भन्ने प्रश्न उब्जिएको छ । नेपाल सरकारले समयमै छिटोभन्दा छिटो उचित कदम चाल्नुपर्ने होइन र ? कर्णाली प्रदेशकै मुख्य उपचार केन्द्र भनेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल हो । अस्पतालमा कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । अस्पतालमा आइसियूलगायत शड्ढयाको अभावमा बिरामी अस्पतालको पिँढीमा उपचार गराउन बाध्य छन् । कोहीको अक्सिजनको अभावमा ज्यान जोखिममा छ । यति हुँदाहुँदै पनि सरकारले आफ्नो कानमा जसरी तेल हालेर बसेको छ, त्यो झनै पीडादायी छ ।